ट्रमा सेन्टरको ३० करोडको एमआरआई मेसिन खरिद सेटिङको विषयमा स्वास्थ्यमन्त्री गिरीको कर्मकाण्डी जवाफ

ट्रमा सेन्टरको ३० करोडको एमआरआई मेसिन खरिद सेटिङको विषयमा स्वास्थ्यमन्त्री गिरीको कर्मकाण्डी जवाफ

काठमाडौं: एउटा निश्चित कम्पनीलाई मात्रै टेण्डर पर्नेगरी एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढेको विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी मौन देखिएका छन्।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालले लक्ड स्पेसिफिकेशन बनाएर एउटा निश्चित कम्पनीलाई मात्रै टेण्डर पर्नेगरी खरिद प्रक्रिया अगाडि बढाएको विषयमा जिज्ञासा राख्दा मन्त्री गिरीले कर्मकाण्डी जवाफ दिई मुख्य विषयमा मौन भए।

ट्रमा सेन्टरले करिब ३० करोडमा एमआरआई खरिद गर्न लागेको छ भने भरतपुर अस्पतालले करिब ३२ करोडमा खरिद गर्न लागेको छ।
तर, मन्त्री गिरीले मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतमा भएका नीतिगत भ्रष्टचार जस्ता विषयमा उठेका प्रश्नको जवाफमा आफ्नो कार्यकालमा खरिदमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता मात्र व्यक्त गरे।

‘सेटिङ गरेर नीतिगत भ्रष्टचार गरेर प्रक्युरमेन्टमा कहीँ भ्रष्टचार गर्ने त्यो गुञ्जायस हुन दिइने छैन’, उनले भने, ‘त्यो कुरामा जिरो टोलिरेन्स। त्यो निश्चित रहनुहोला।’

त्यसैगरी वीर अस्पतालले २०७४ मा खरिद गरेको करिब ३९ करोडको टोमोथेरापी (टोमोग्राफी) मेसिन प्रयोग नै नगरी बिग्रिएर सशस्त्र प्रहरी बलको चौरीमा रहेको विषयमा जिज्ञासा लिँदा पनि मन्त्री गिरीले जवाफ नदिई मौनता देखाए।

अर्कातर्फ कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) र त्यहाँका निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेतको वैधानिकताको जिज्ञासामा समेत उनले कुनै जवाफ दिएनन्। अध्यादेश निस्क्रिय भइसकेको अवस्थामा उनी आदेशको भरमा काम गरिरहेका छन्।

प्रत्येक कुरामा पारदर्शी हुनुपर्ने मन्त्री गिरीले तर्क गरे। ‘जनताको रगत पसिनाको थोपाथोपा मिसाएर प्राप्त भएको राजश्वलाई कहीँ कतैबाट पनि भ्रष्टचार हुने, दुरुपयोग हुने, त्यो हुन दिनु हुँदैन’, उनले भने।

स्वास्थ्य क्षेत्रमा भएका समस्याका बारेमा गहिरोसँग अध्ययनकै क्रममा रहेको मन्त्री गिरीको भनाइ छ। गुणस्तरीय स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने सबैको साझा चिन्ता हुनुपर्ने मन्त्री गिरीले बताएका छन्।

मन्त्री गिरीले पैसा नपाएर व्यक्ति अकालमा मर्नुपर्ने अवस्था रहेको र शहरमा गएर विशेषज्ञ सेवा लिन सक्ने स्थिति समेत नभएको बताए। जसले गर्दा रोग लुकाउनुपर्ने अवस्था रहेको समेत उनले तर्क गरे।

अस्पतालमा जनशक्ति भएको ठाउँमा समेत आवश्यक मेसिन, औजार नहुँदा जनशक्तिले समेत काम नपाएको अवस्था रहेको उनले तर्क गरे। त्यसैले वैज्ञानिक विधिबाट अध्ययन गरेपछि पूर्वाधारको विस्तार गर्ने उनले बताए।

त्यसैगरी एकातर्फ दुर्गममा चिकित्सक तथा स्वास्थ्यकर्मी जान नमान्ने अवस्था रहेको र जनशक्तिको उचित व्यवस्थापन हुन नसकेको तर्क गरे। जनशक्तिको विषयमा ध्यान दिने उनले बताए।

त्यसैगरी बीमा कार्यक्रममा कहाँ समस्या भएको छ त्यो समस्याको समस्या पहिचान गरेर बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनले बताए।

१० माघ, २०७९, ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।