उकेरा टप फाइभ : राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको प्रतिस्पर्धादेखि नेपाललाई सात खेल जित्नैपर्ने दबावसम्म

उकेरा टप फाइभ : राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको प्रतिस्पर्धादेखि नेपाललाई सात खेल जित्नैपर्ने दबावसम्म

काठमाडौं : शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको घटनाक्रमले देशको राजनीति तात्यो। विहानैदेखि दलहरु आन्तरिक तयारीमा बसेर आ–आफ्नो तर्फका राष्ट्रपतिको उम्मेदवार तय गरे र मनोनयनपत्र दर्ता गराए।

पुस १० गते बनेको माओवादी–एमाले गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग कुम जोडे र पुरानै पाँच दलीय गठबन्धन ब्यूँत्याए। त्यसमा नागरिक उन्मुक्ति, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी थपिएसँगै आठदलीय सत्तारुढ गठबन्धन बन्यो।

प्रधानमन्त्री दाहालले कांग्रेसबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै गएर उम्मेदवारी दर्ता गराउँदा एमाले एक्लो बन्यो। उनको साथमा रहेको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न सकेको छैन भने अर्को राष्ट्रिय स्वतन्त्र पार्टी पनि पर्ख र हेरको रणनीतिमा छ।

विहान बसेको एमाले सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो। सोहीबमोजिमा उम्मेदवारी दर्ता पनि गरायो। नेम्वाङको प्रस्तावक र समर्थकमा एमालेकै सांसद्बाहेक अन्य भएनन्।

यसैबीच आजै आईसीसी यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई २४३ रनको भारती अन्तरले पराजित गर्यो। नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत १ सय रनमै अलआउट हुँदा नेपालले लगातार दोस्रो खेल जित्यो। यसअघि नेपालले शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।

अब लागौं टप फाइभतर्फ
उकेराले शनिबार विहान भेरी–बबई डाइभर्सनमा ४९ प्रतिशत प्रगति भएको समाचार प्रकाशित गर्यो। आर्थिक वर्ष २०७१/०७२ बाट निर्माण कार्य सुरु भएको आयोजनामा नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको थियो।

पूरा समाचार: भेरी–बबई डाइभर्सनमा ५९ प्रतिशत भौतिक प्रगति, दुई वर्षमा काम सम्पन्न हुने

उकेराले दिउँसाे पहिलाे राष्ट्रपतिकाे निर्वाचनमा जस्तै एमालेले नतिजा उल्याउन सक्ला भनेर टिप्पणी प्रकाशित गर्यो। पहिलो राष्ट्रपतिको निर्वाचनताका कांग्रेसलाई समर्थन नगरेकाहरूले समेत डा. यादवलाई मतदान गर्दाको परिणाम नै उनको जित भएको थियो। मतदान गोप्य रहने र कसले कसलाई भोट दियो नखुल्ने भएकाले आठ दलभित्रका केही मत नेम्वाङको पक्षमा खस्नसक्छ। तर, झिनो संख्यामा झर्नसक्ने क्रसभोटकै बलमा निर्वाचित हुन चाहिने ७ हजार बराबरको मतभार पाउन त्यति सहज देखिँदैन।

पूरा समाचार: गिरिजाप्रसादले जस्तै नतिजा उल्टाउन सक्लान् ओलीले !

साँझपख उकेराले शनिबारको नियमित स्तम्भ अन्तरगत डाक्टर सन्जिब तिवारीको उपचार अनुभव प्रकाशित गर्यो। उनले उपचार गर्दा भोग्नुपरेका समस्या र अनुभवलाई हामीले समेट्याैं।

पूरा समाचार : डा. सन्जिबको अनुभव : परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको प्रमाण भेट्यौं, पुनः परीक्षाको माग गर्दा शरीरभर नीलडाम बस्यो

शनिबार नै उकेराले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे स्टाटसबारेको समाचार छाप्यो। उनले  'मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’ भनेर स्टाटस लेखेपछि सामाजिक सञ्जाल त्यसले तात्यो। उनकाे स्टाटसमा निर्वाचित मेयरलाई कसले अनि किन राजीनामा दिन दबाब दियो भन्ने प्रश्न उठाएका छन् भने केहीले अटेन्सनका लागि लेखेको भन्दै आलोचना समेत गरेका छन्।

पूरा समाचार: बालेनलाई राजीनामा दिन कसले दियो दबाब ! आफ्नै मनले कि अमुर्त शक्ति केन्द्रले ?

बेलुकी उकेराले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको समाचार छाप्यो। अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समिकरण बनेको हो।

पूरा समाचार : सोझै विश्वकप छनोट खेल्न नेपालले सात खेल जित्नैपर्ने

१३ फागुन, २०७९, २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।