धोकासँगै पद आइरहने भाग्यमानी प्रचण्ड

धोकासँगै पद आइरहने भाग्यमानी प्रचण्ड

काठमाडौँ : सहमतिमा धोका भएको भन्दै एकाएक काँग्रेससँगको गठबन्धन छाडेर एमालेसहितको सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्।

बालुवाटारको बैठकमा प्रचण्डलाई पहिलो कार्यकालमै प्रधानमन्त्री दिन काँग्रेस नेताहरू तयार नभएपछि प्रचण्डले एमालेसँग सहमति गरेको हो।

एमालेसहितका पाँच दल साढे २ वर्ष प्रचण्ड अनि त्यसपछि एमालेको नेतृत्वमा सरकार बनाउन सहमत भएपछि सरकार गठनको सहमति भएको हो।

एमाले महासचिव शङ्कर पोखरेलले एक सय ६६ सांसदको समर्थनसहित राष्ट्रपतिले तोकेको अवधिमै सरकार गठनको दाबी पेस हुनेछ।

एमाले-माओवादी गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदै छन्।

धोकासँगै पद आइरहने भाग्यमानी प्रचण्ड

प्रचण्ड २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाली सेनाका तत्कालिन प्रधानसेनापती रुक्माङगत कटुवाललाई हटाउने विषयमा तत्कालिन राष्ट्रपति डा रामवरण यादवसँग विवाद भएपछि उनले राजिनामा दिए।

दोस्रो पटक कांग्रेसको समर्थनमा २०७३ मा प्रधानमन्त्री भएका थिए। दोस्रो पटक प्रधानमन्त्री बन्दा प्रचण्ड ओलीले सहमति अनुसार आफूलाई प्रधानमन्त्री पद नछाडेको भन्दै काङ्ग्रेससँग मिलेर सरकार बनाएका थिए।

पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बनेर दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेर २०७४ को निर्वाचन गराएका थिए। २०७४ को निर्वाचनअघि एमालेसँग तालमेल र निर्वाचनपछि पार्टी नै एकीकरण गराएका प्रचण्ड पुन ‌ओलीले धोका दिए भन्दै कांग्रेसमा आए।

माधवकुमार नेपाल समूहले नयाँ पार्टी गठन गरे। त्यही बेलामा निर्वाचनपछि २-२-१ वर्ष गरेर माओवादी, काँग्रेस र एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने मौखिक सहमति भएको प्रचण्डले दाबी गर्ने गरेका छन्।

सो अनुसार काँग्रेस पहिलो चरणमा प्रधानमन्त्री दिन राजी नभएर धोका दिएको भन्दै उनी पुन एमाले अध्यक्ष केपी ओलीसँग नयाँ गठबन्धन बनाएर तेस्रो पटक प्रधानमन्त्री बन्न राजी भएका छन्।

नेताहरूको दाबी अनुसार साढे २ वर्ष माओवादीले सरकारको नेतृत्व गर्नेछ। त्यसपछिको अवधिमा एमालेले सरकारको नेतृत्व गर्नेछ।

यो समीकरणसँगै प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने प्रचण्डको रहर पुरा हुने देखिन्छ। उता केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको एमाले केन्द्रदेखि प्रदेशसम्मै सरकारमा सहभागी हुने भएको छ।

सरकारमा रहने तयारीमा रहेको नेपाली काँग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी भने प्रतिपक्षी दल बन्ने भएका छन्।

१० पुस, २०७९, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।