लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुखले नै शपथ गराउने, बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यले गर्ने

लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुखले नै शपथ गराउने, बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यले गर्ने

बुटवल: लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूलाई प्रदेश प्रमुखले नै शपथ ग्रहण गराउने भएका छन्। अन्य प्रदेशमा जेष्ठ सदस्यहरूले सम्बन्धित प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेपछि अरू सदस्यलाई शपथ गराउने गरे पनि लुम्बिनीमा भने सबै सांसदहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने भएका हुन्।

प्रदेश सभा नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले नै सबै प्रदेश सभाका सांसदहरूलाई शपथ ग्रहण गराउन लागेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। प्रदेश सभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचाअनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्।

अघिल्लो प्रदेश सभाको कार्यकालमा तत्कालीन प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाइको नियमावलीमा प्रदेश सभा र प्रदेश प्रमुखको समन्वयनमा सबै प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले नै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ। त्यहि नियमावलीअनुसार शपथ ग्रहण हुने पुनले बताए।

यता प्रदेश सभाका सदस्यहरूलाई कहाँ शपथ ग्रहण गराउने भन्ने चाहिँ अझै पनि टुंगो लागेको छैन। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पहिलो बैठक डाक्नका लागि प्रदेश प्रमुख शेरचनसमक्ष आग्रह नै नगरेकाले शपथ ग्रहणको टुंगो नलागेको हो।

सरकार पहिलो बैठक स्थायी राजधानी देउखुरीमै गर्न चाहेको छ। यद्यपि त्यहाँ प्रदेश सभाको भवन अझै पूर्ण रुपमा नबनेकाले ढिलाई भएको बताइएको छ।

सरकारले प्रदेश प्रमुखसमक्ष पहिलो बैठक डाक्नका लागि आग्रह गरेपछि मात्रै प्रदेश प्रमुखले बैठक आह्वान गर्ने छन्। बैठक आह्वानपछि प्रदेश प्रमुखले पहिलो बैठक बस्नुअघि प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने छन्। त्यसपछि मात्रै बैठक बस्नेछ।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सभा छ।

बैठकको अध्यक्षता भुसालले गर्ने
प्रदेश सभाका सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएपछि सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले डिल्लीराज भुसालले गर्नेछन्। गुल्मी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भुसाल प्रदेश सभामा सबैभन्दा जेठा सदस्य हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार भुसालको जन्ममिति २०१० साल जेठ ७ गते उल्लेख छ।

८ पुस, २०७९, ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।