उकेरा फिचर

अनुसन्धाता लोकमणि जो अयोध्या भारतको फैजावाद हैन नेपालको माडी हो भन्नेमै अडिग छन्


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ असार २९ भानु जयन्तीका दिन रामको जन्मभूमि अयोध्या नेपालको माडी हो भनेपछि यसले नेपालमा मात्रै हैन भारतमा समेत चर्चा चल्यो। भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीको आलोचनै गरे।

ओलीभन्दा अगाडि नै अनुसन्धाता लोकमणि पौडेलले अयोध्या भारतमा हैन नेपालमा पर्ने दाबी गर्दै आएका थिए। अयोध्या माडीमा पर्ने ओलीको दाबीलाई धेरैले उनको उडन्ते दाबीको निरन्तरताको रूपमा लिए। गम्भीर बहस भएन उनको दाबीमा।

लघु कथाकार, विज्ञान कथाकार अनि उपन्यासकारका रूपमा परिचित अनि अध्येता समेत रहेका पौडेल भने अयोध्या भारतमा हैन नेपालको माडीमा नै पर्ने दाबी गरिरहन्छन्।

उनले अयोध्या नेपालको माडीमा भएको दाबी गर्दै हिमवत्खण्डमा विक्रम संवत् २०७४ मा लेख नै प्रकाशित गरेका थिए। त्यो भन्दा अगाडिदेखि नै सामाजिक सञ्जालहरूमा आफूले माडी नै सक्कली अयोध्या हो भनेर प्रमाणहरू राखेको उनको दाबी छ।

पौडेल भारतको अयोध्याको इतिहास डेढ सय वर्ष मात्रै पुरानो भएको दाबी गर्छन्। उनी त्यो भन्दा अगाडि अहिले अयोध्या भनिने ठाउँको नामै अर्को रहेको दाबी गर्छन्।

उनका अनुसार सन् १८५७ देखि मात्रै भारत उत्तर प्रदेशमा रहेको फैजावादलाई अयोध्या भन्न थालिएको हो। त्यसलाई अयोध्या भन्न अग्रेजहरुले सिकाएको उनको दाबी छ।

शास्त्रमा गरिएको अयोध्याको वर्णनलाई हेर्दै नहेरी अंग्रेजले आफ्नो स्वार्थ पूरा गर्न भनिदिएको भरमा फैजावादलाई अयोध्या र बाबरी मस्जिद भएको स्थानलाई रामको जन्मभूमिका रूपमा हिन्दुहरूले व्याख्या गर्न थालेको उनको दाबी छ। 

उनी वाल्मीकि रामायणमा वर्णन गरिएको अयोध्याको भूगोलसँग फैजावादी अयोध्याको भूगोल मेल नखाने तर्क गरे।

'वाल्मीकि रामायणमा अयोध्याका वरिपरि ठुल्ठूला पर्वतहरू रहेको वर्णन छ। तर फैजावादी अयोध्याका वरिपरि त्यस्ता पर्वत देख्नै पाइँदैन। रामायणका अनुसार अयोध्याका उत्तरमा पश्चिमाभिमुख भएर सरयू बगेको छ। फैजावादी अयोध्यासँगै बगेको नदीको वास्तविक नाम घाघरा हो। घाघरालाई नै नाम परिवर्तन गरेर सरयू भन्न थालिएको हो' उनको तर्क छ।

उनी रामायणमा भनिएको भन्दा ठ्याक्कै उल्टो दिशामा घाघरा बगिरहेको र यसरी वाल्मीकि रामायणसँगै बाझिएको पाएपछि २०६७ देखि आफू यसको अनुसन्धानमा जुटेको उनले बताए।

'खोज्दै जाँदा रामायण तथा अयोध्या माहात्म्यसँग मेल खाने भूगोल माडीमा फेला पारेँ। माडीका उत्तरमा बग्ने रियू खोला नै रामायणकालीन सरयू हो। सरयू अपभ्रंश हुँदै गएर रियू बनेको हुनुपर्छ,' उनले दाबी गरे' वाल्मीकि रामायणमा भने झैँ नै रियू पश्चिमाभिमुख भएर बगेको छ।'

अनुसन्धानका क्रममा नेपाल र भारतका ऐतिहासिक महत्त्व भएका धेरै क्षेत्रहरू घुमेको अनि प्राचीनकालका वेददेखि लिएर आधुनिक कालका इतिहास संस्कृतिका पाँच सय भन्दा बढी पुस्तकहरूको अध्ययन गरेको उनको दाबी छ।

उनी अहिले अयोध्या कसरी माडी नै हो भन्ने दाबी गर्दै यसैबारे पुस्तक प्रकाशित गर्ने तयारीमा छन्।

बालापन गाई चराउँदैमा बित्यो

पोखरादेखि ७ किमी पश्चिममा रहेको हेमजामा जन्मिएका लोकमणि अहिले ५६ वर्षका भए।

उनी बाल्यकाल सम्झँदै भन्छन्- 'मैले एसएलसी दिने बेलासम्म गाउँमा बिजुली पुगेको थिएन। चेलपार्क मसीको भाँडोलाई बत्ती बनाएर पढिन्थ्यो। बिर्कोमा प्वाल पारेर झुम्रो छिराइन्थ्यो र भाँडोमा मट्टितेल हालेर टुकी बनाइन्थ्यो।'

उनी एसएलसी दिने बेलासम्म हेमजामै बसे। त्यो बेला उनको मुख्य काम भनेको गाई चराउनु हुन्थ्यो। गाई चराउनैका लागि समय समयमा स्कुलमा गयल पनि हुनुपर्थ्यो। काम पहिलो नम्बरमा आउँथ्यो र पढाई दोस्रो नम्बरमा।

उनले गाउँकै गौरीशङ्कर माविबाट एसएलसी दिए। विद्यालय स्थापना भएको १५ वर्ष बितिसक्दा पनि एसएलसीमा एउटै विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिएनन्। उनी प्रथम श्रेणीमा पास भए। त्यसको खुसीयालीमा स्कुलले उनको अबीर जात्रा गरेर गाउँ घुमाएको थियो।

पुरस्कार र सम्मान पाउँदाका ती दिनहरू

मात्रै १३ वर्षको उमेरमा कास्की जिल्लास्तरीय श्रुतिलेखन प्रतियोगितामा भाग लिएर प्रथम भए। १७ वर्षको हुँदा राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा भाग लिएर दोस्रो भए।

'त्यति बेला सुधा त्रिपाठी प्रथम हुनुभएको थियो र म दोस्रो भएको थिएँ। तत्कालीन बडामहारानी ऐश्वर्याबाट नगद पुरस्कार सहित तक्मा प्राप्त गर्दाको त्यो क्षण मेरा लागि कम्ता आश्चर्यको थिएन' उनले भने।

त्यो बेला उनी पृथ्वीनारायण क्याम्पसमा आईएस्सी पढ्थे।

उनी २० वर्षको हुँदा फेरि पनि राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा भाग लिएर तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दबाट पुरस्कृत भए।

उनी विज्ञान कथाकारका रूपमा पनि चिनिन्छन्। 'अग्नि दहन' नामक उनको उपन्यासलाई एक मनोवैज्ञानिक उपन्यासका रूपमा लिइन्छ। सोही उपन्यासमा आधारित रहेर बनेको ठुलो पर्दाको 'अग्नि दहन' चलचित्रले वि.सं.२०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्र पुरस्कार पाएको थियो।

रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनी नेपाली भाषाका विद्वान् मानिन्छन्। उनले भाषा विज्ञानमा आधारित रहेर पुस्तकहरू लेखेका छन्। उनी अहिले मानक नेपाली शब्दकोशको तयारीमा पनि जुटेका छन्।

हुनेवाली दुलहीसँग बोल्न सकेनन्

विवाह गर्ने बेला उनी २३ वर्षका थिए र उनकी श्रीमती १६ वर्षकी। बिहे गर्ने केटी हेर्न भनेर उनी पोखराबाट चितवन आए। केटीसँग उनको भेट गैँडाकोटमा भयो। तर उनी केटीसँग एक शब्दै बोलेनन्। खाली दुईबिच हेराहेर मात्रै भयो।

'सायद हामी दुवै उमेरले आलोकाँचा थियौँ र चाहिने भन्दा धेरै लजाउँथ्यौँ' त्यो बेलाको घटना सम्झँदै उनी भन्छन्'चितवनबाट दुलही लिएर जन्ती फर्कँदै गर्दा दमौली पुगेपछि दुलहीसँग पहिलो पटक बोलेको थिएँ। त्यो पनि दुईचार शब्द मात्रै। हामीलाई आपसमा राम्रोसँग बोल्न दुई दिन लाग्यो।'

उनको मुटु अरूको जस्तै ढुकढुक गर्दैन

२३ वर्षको उमेरमा विवाह गरेका उनी २६ वर्षकै उमेरदेखि गम्भीर स्वास्थ्य समस्यामा परे। उनको मुटुले राम्रोसँग काम गर्न सकेन। वीर अस्पतालमा केही महिना उपचार भयो तर निको भएन।

उपचारका लागि उनलाई दिल्ली लगियो। उनका मुटुका दुइटा भल्भले राम्रोसँग काम गरेका थिएनन्। उनी २७ वर्षको हुँदा उनको ओपन हर्ट सर्जरी भयो। एओर्टिक भल्भ झिकेर प्लास्टिकको राखियो। माइट्रल भल्भ रिपेयर गरियो। अहिले पनि उनको मुटुमा प्लास्टिकको भल्भ चलिरहन्छ। उनी रगत पातलो पार्ने दबाई खाइरहन्छन्। उनी भन्छन्- 'यो औषधि मर्ने बेलासम्म पनि खाइरहनु पर्छ।'

उनको मुटु अरूको जस्तै ढुकढुक गर्दैन। भित्ते घडी कराए झैँ टिक टिक गर्छ। अपरेसन पछिका दिन सम्झँदै उनी भन्छन्- 'सुरुसुरुमा त यसको आवाज यति चर्को थियो कि यत्तिकै सुनिन्थ्यो। म नजिकै भएकाले पनि परैबाट सुन्थे। मलाई निदाउन समेत बाधा दिन्थ्यो त्यसले। जति रात छिप्पिँदै जान्थ्यो उति टिक टिक आवाज चर्किँदै जान्थ्यो। चारै तिर सन्नाटा छाएकाले चर्को सुनिएको होला।तर अचेल भने त्यो आवाजमा कमी आएको छ।'

पत्रकारितामा प्रयोग

पौडेल कथाकार हुन्। उपन्यासकार हुन्। भाषाविद् हुन्। कवि हुन्। लेखक हुन्। अनुसन्धाता हुन्। सँगसँगै उनी पुराना पत्रकार पनि हुन्।

उनले अनेक साप्ताहिक पत्रिकाको प्रधान सम्पादक भएर काम गरे। उनी केही वर्ष लोकतन्त्र साप्ताहिकको प्रधान सम्पादक भए। उनले 'टाइम्स अफ काठमान्डु' को सम्पादक भएर केही महिना काम गरे।

एसएटी नामक म्यागेजिनका अतिथि सम्पादक बने। उनकै पहलमा नेपालमा पहिलो पटक विज्ञापनै विज्ञापनको 'क्लासिफाइड' नामक साप्ताहिक पत्रिका प्रकाशित भएको थियो। कुमारी बैङ्कका तत्कालीन अध्यक्ष नूर प्रताप राणा प्रकाशक रहेको सो पत्रिका केही वर्ष चलेपछि बन्द भयो। उनी त्यसका प्रधान सम्पादकसँगै प्रबन्ध निर्देशक पनि थिए।

'पत्रकारितामा गरिएको त्यो प्रयोग सफल हुन सकेन। तर त्यसले एउटा इतिहास भने कायम गर्‍यो' उनले भने।

उनी अहिले स्वास्थ्यसँग सम्बन्धित अनलाइन पत्रिकाका प्रधान सम्पादक छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन उद्यमी दिदीबहिनीको कथा: जसले भवन निर्माणको क्षेत्रमा नेपालमै नयाँ प्रविधि भित्र्याए

तीन छोरीले कम्पनी हाँक्न थाले। र, भवन निर्माणमा नयाँ प्रविधि भित्र्याउँदै 'आईटी स्टिल स्ट्रक्चर सोल्युसन्स प्राली' समेत सुरु गरे। सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्।....

शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्।....

स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा....

भाँडा माझेर कमाएको पैसाले व्यवसाय थालेका सकिन्द्र, जसलाई छोराहरूको पढाइ पूरा गर्न पाए लकडाउन र महानगरको डर नै हुँदैन थियो

उनी भन्छन्, 'परिवारबाट भागेर १२ वर्षको उमेरमा नै काठमाडौं आएको थिएँ। त्यो पनि अरू मान्छे बसेको सिटमुनि बसेर। बाआमाको निकै प्यारो छोरा थिएँ। अहिले बाआमामाथि....

कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको यो ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चलेर बन्द भयो। १२ जना मिलेर ५५ लाख रुपैयाँ....