पार्टीबाट विद्रोह गरेका चार स्वतन्त्र सांसद जो सरकार बनाउन हुन सक्छन् निर्णायक

पार्टीबाट विद्रोह गरेका चार स्वतन्त्र सांसद जो सरकार बनाउन हुन सक्छन् निर्णायक

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनमा दलबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पाँच जना निर्वाचित भए। एकीकृत समाजवादीले समानुपातिकतर्फको थ्रेसहोल्ड नकटाए यी पाँचै स्वतन्त्र सांसद सरकार बनाउन निर्णायक हुने देखिएका छन्।

प्रतिनिधि सभा निर्वाचनमा सर्लाही-४ मा अमरे कुमार सिंह, रौतहट-३ बाट प्रभु साह, मोरगं-५ बाट योगेन्द्र मण्डल, बर्दिया-२ बाट लालवीर चौधरी र रौतहट-२ बाट किरण कुमार साह विजयी भए।

उनीहरू स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा विजयी भए पनि चौधरी र प्रभु साह बाहेक सबैले आफ्नो पार्टीले टिकट नदिएपछि विद्रोह गरेका उम्मेदवार हुन्।

प्रभु साहलाई एमालेले टिकट दिए पनि उनले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिए। आयोगले रेसम चौधरीको उम्मेदवारी खारेज गरेपछि स्वतन्त्र उम्मेदवार दिएका उनका बाबु लालबिरलाई राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेको थियो।

योगेन्द्र एमालेका विद्रोही उम्मेदवार हुन् भने किरण जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार हुन्। चारै क्षेत्रको मत परिणाम गठबन्धनको पक्षमा आयो तर एकीकृत समाजवादीले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएन भने कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनको पहिलो प्रयास स्वतन्त्र सांसदको समर्थन लिने हुनसक्छ।

प्रभु साहले एमालेमा विद्रोह गरेर दिएको टिकट पनि नलिई स्वतन्त्र उम्मेदवारी दिएकाले उनी माओवादी केन्द्रलाई समर्थन गर्ने सम्भावना बलियो छ। साहले समर्थन गरे पनि अझैँ एक सिट पुग्दैन। त्यसका लागि अरेश सिंहमाथिको कारबाही फुकुवा गरेर पार्टीमा प्रवेश गराउन सक्छ कांग्रेसले। यसो भए पाँच दलीय गठबन्धनको पक्षमा बहुमत पुग्नेछ।

कांग्रेस गठबन्धनलाई चाहिन्छ ६ सिट

चार क्षेत्रको मत परिणाम आइसकेको छैन। परिणाम घोषणा भइसकेको एक सय ६१ क्षेत्रमा पाँच दलबाट प्रत्यक्षमा जितेका र समानुपातिकबाट आउन सक्ने सिट सङ्ख्या जोड्दा पाँच दलीय गठबन्धन सरकार बनाउन आवश्यक एक सय १८ बाट छ सिट पर देखिन्छ।

गठबन्धनमा रहेको कांग्रेसले प्रत्यक्षमा ५४ सिट जितेको छ। समानुपातिकतर्फ उसले पाएको मत २५ प्रतिशत बढी भएकाले ३२ सिट पाउन सक्छ। यो भए ८६ पुग्ने छ।

माओवादी केन्द्र प्रत्यक्षमा १७ र समानुपातिकमा १४ गरेर ३१, एकीकृत समाजवादी प्रत्यक्षमा १०, लोकतान्त्रिक समाजवादी प्रत्यक्षमा ४ र राष्ट्रिय जनमोर्चा प्रत्यक्षमा एक सिट जितेका छन्।

यतिले एक सय ३२ मात्र पुग्छ। सरकार बनाउन ६ सिट पुग्दैन। गठबन्धन बहुमतमा पुग्न नतिजा आउन बाँकी प्रत्यक्षतर्फको चारै सिट जितेर एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउनुपर्छ।

एकीकृत समाजवादीले थ्रेस होल्ड कटाए कांग्रेस र माओवादीको समानुपातिकतर्फको एक एक सिट घट्न सक्छ। त्यो हुँदा गठबन्धनको एक सय ३० पुग्छ। तर समाजवादीको ४ सिट जोडिदा एक सय ३४ पुग्दा परिणाम आउन बाँकी चारै सिट जित्दा ठ्याक्कै बहुमतमा टेक्छ।

बहुमतमा टेक्यो भने पनि  रिस्क नलिन गठबन्धनले अन्य साना दल या स्वतन्त्र सांसदहरूको समर्थन लिने प्रयास गर्ने छ नै।

एमालेलाई सरकार बनाउन स्वतन्त्रकै भर

यदि एकीकृत समाजवादीले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएन र नतिजा आउन बाँकी ४ वटै सिट गठबन्धनमा गएन भने सरकार बनाउने एमाले दाबी समेत बलियो हुन्छ।

निर्वाचनमा एमालेले तालमेल गरेको राप्रपा, जसपा अनि दुवै गठबन्धनमा नरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले एमालेलाई साथ दिए उनीहरूको समूहमा सांसद सङ्ख्या  १ सय ३३ पुग्नेछ।

सार्वजनिक भएको प्रत्यक्षतर्फको सिटमा एमालेले ४४ प्रत्यक्ष जितेको छ। समानुपातिकमा पहिलो नम्बरमा रहेको उसले ३४ सिट पाएर कुल ७८ मा पुग्न सक्छ। उसले तालमेल गरेको जसपाले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिकमा पाँच सिट पाउन सक्छ। राप्रपाले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिक मत प्रतिशत हेर्दा सातै सिट पाउन सक्ने देखिन्छ।

कुनै गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेको छ। समानुपातिक मत प्रतिशतका आधारमा १४ सिट पाउन सक्छ। जनमत पार्टीले: प्रत्यक्षमा एक सिट जितेको छ भने थ्रेसहोल्ड कटाएर समानुपातिकमा चार सिट पक्का गरिसकेको छ। नागरिक उन्मुक्तिले तीन सिट जिते पनि समानुपातिक थ्रेसहोल्ड कटाउन मुस्किल छ।

यसमा पाँच स्वतन्त्रले साथ दिएमा सहजै एमाले नेतृत्वमा सरकार बन्न सक्छ। तर पार्टीबाट टिकट लिएर गएर पनि स्वतन्त्र उम्मेदवारी दिएर एमालेलाई धोका दिएका प्रभु साहको समर्थन पाउन भने कठिन देखिन्छ। यस्तोमा नतिजा आउन बाँकी चार सिटमध्ये २ सिट र चार स्वतन्त्र सांसदको समर्थन भए पनि एमालेलाई सरकार बनाउन चाहिने मत पुग्छ नै।

१४ मंसिर, २०७९, १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।