को बन्ला कर्णालीको तेस्रो मुख्यमन्त्री ?

को बन्ला कर्णालीको तेस्रो मुख्यमन्त्री ?
तस्बिरहरू: मुख्यमन्त्रीका दाबेदारहरू जीवनबहादुर शाही, विन्दमान विष्ट, यामलाल कँडेल, राजीवविक्रम शाह, राजकुमार शर्मा र विनोदकुमार शाह

सुर्खेत: कर्णाली प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ। प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र माओवादी केन्द्रले ९/९, एमालेले पाँच र स्वतन्त्रले एक सिट जितेका छन्। 

प्रदेश सभातर्फ एकीकृत समाजवादी भने शून्यमा झरेको छ। ४० सदस्यीय प्रदेश सभामा १६ जना सांसद्हरू समानुपातिबाट चुनिनेछन्। समानुपातिकको अन्तिम परिणाम भने आइसकेको छैन।

प्रत्यक्षतर्फको नतिजा आइरहँदा अब कर्णाली प्रदेशको मुख्यमन्त्री को बन्ला? भनेर सरकार गठनका विषयमा समेत चासो बढ्न थालेको छ।

यसरी हेर्दा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग १८ सिट छ। स्वतन्त्र उम्मेदवार पनि कांग्रेसबाटै विद्रोह गरेर निर्वाचित भएकोले उनी पनि कांग्रेससँग मिल्न सक्ने आकलन गरिएको छ। यो अवस्थामा सत्ता गठबन्धनकै नेतृत्त्वमा सहजै सरकार बन्ने देखिन्छ।

कर्णालीमा मुख्यमन्त्रीका आकांक्षी आठ जनामध्ये ६ जना मात्रै निर्वाचित भए। जुम्लाबाट प्रदेश सभामा निर्वाचन लडेका नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र सल्यानबाट एमालेका गुलावजंग शाहीले निर्वाचनमा पराजय भोगिसकेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं अहिलेका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पनि पुनः प्रदेश सभामा दोहोरिसकेका छन्। उनले नै प्रदेश सरकारको दोस्रो कार्यकालको नेतृत्त्व गदै तेस्रो मुख्यमन्त्रीको रूपमा अगाडि बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ। 

तर, माओवादीले आफ्नो आधार ईलाका कर्णालीलाई मान्दै आएकोले पनि कर्णालीमा आफूले पहिले नेतृत्त्व गर्नुपर्ने दावी गर्दै आएको छ।

माओवादी केन्द्रबाट मुख्यमन्त्रीका लागि रुकुम पश्चिमका राजकुमार शर्मा, सुर्खेतका विन्दमान विष्ट मुख्यमन्त्रीका प्रमुख दावेदार मानिन्छन्। शर्मा अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् भने विष्ट माओवादीका उपमहासिचव एवं पूर्वगृहमन्त्री शक्ति बस्नेत निकट मान्छिन्। 

माओवादीले पहिले नेतृत्त्व गर्ने अवसर पाएमा केन्द्रमा शर्मा र बस्नेतबीच प्रतिस्पर्धा भएर भागबण्डा मिलाइने देखिन्छ।

कांग्रेसमा पनि मुख्यमन्त्री शाहीसँगै जाजरकोटका राजीवविक्रम शाहको चर्चा सुरु भएको छ। शाह आफूले नभने पनि गठबन्धको केन्द्रमा माओवादीका शक्तिलाई भाग परेपछि शीर्ष नेताहरूले नै उनलाई प्रदेशबाट लडाउनुले पनि केही अर्थ राख्दछ।

तर, बहालवाला मुख्यमन्त्री शाही भने ढुक्क छन्। उनकै निर्वाचन क्षेत्र हुम्ला पुगेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जिताएर पठाए जीवनबहादुर शाहीलाई नै मुख्यमन्त्री बनाउने आश्वासनले दिएका थिए।

अर्को कुरा अहिलेकै सत्ता गठबन्धन कायमै रहेमा कांग्रेसले पहिले र त्यसपछि माओवादीले गरी आधा–आधा कार्यकाल नेतृत्त्व गर्ने सहमति पनि हुनसक्छ। यो निर्णय सत्ता गठबन्धनका केन्द्रस्तरका नेताहरूमा भर पर्ने कुरा हो।

कांग्रेस र माओवादी केन्द्रबीच कुराकानी नमिलेर अहिलेको सत्ता गठबन्धन कायम नरहे तेस्रो शक्तिका रूपमा रहेको एमालेको नेतृत्त्वमा प्रदेश सरकारको गठन हुनसक्छ। अहिलेसम्मको अवस्थामा कांग्रेस–माओवादीबीच फाटो आउने कुनै संकेत देखिएको छैन। 

एमालेले प्रदेश सरकारको नेतृत्त्व गर्ने अवस्था आए एमालेका कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेल प्रमुख दावेदार हुन्। उनी २०७४ मा पनि वाम गठबन्धन हुँदा एमालेबाट प्रमुख दावेदार नै थिए। 

विभिन्न राजनीतिक घटनाक्रमले आफू बहुमतमा हुँदा पनि मुख्यमन्त्री हुन नसेका उनी प्रदेश सभा संसदीय दलको नेता मै सीमित हुन पुगे। २०७४ को प्रदेश सभा निर्वाचनमा २० सिटसहित एमाले पहिलो दल बनेको थियो। 

४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद थिए। 

यसैगरी एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह पनि मुख्यमन्त्रीको दावेदार हुन्। दैलेख–२ (ख) बाट निर्वाचित उनले पनि दलको नेता हुन चाहेका छन्।

कांग्रेस–माओवादी, कांग्रेस–एमाले, एमाले–माओवादी कसको नेतृत्त्वमा प्रदेश सरकार बन्ने भन्ने कुराको निष्कर्ष भने केन्द्र सरकार बनेपछि मात्रै प्रष्ट हुनेछ।

प्रदेश सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि ३० दिनको सीमा सुरू हुन्छ।

२०७४ फागुन ३ गते माओवादीका महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए। २०७८ कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता जीवनबहादुर शाही नियुक्त भए।

१३ मंसिर, २०७९, ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।