दक्षिण कोरियालाई घानाले हरायो, खेल सकिएपछि प्रशिक्षकलाई रातोकार्ड

दक्षिण कोरियालाई घानाले हरायो, खेल सकिएपछि प्रशिक्षकलाई रातोकार्ड

काठमाडौं : फिफा विश्वकप अन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया घानासँग पराजित भएको छ।

एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह ‘एच’को खेलमा घानासँग कोरिया ३–२ गोलअन्तरले पराजित भएको हो।

खेलको २४औं मिनेटमा मोहम्मद सलिसुको गोलको घानाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै मोहम्मद कुडोसले ३४औं मिनेटमा गोल थप्दा पहिलो हाफमा घान २–० गोलले अघि रह्यो।

दोस्रो हाफमा कोरियाले सानदार पुनरागमन गरे पनि त्यसलाई जोगाउन सकेन। कोरियाका छो गुइ–सुङले ५८ र ६१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

तर ६८औं मिनेटमा फेरि कुडोसले नै गोल थप्दा घाना फेरि अग्रता बनाउन सफल रह्यो। त्यसपछिको अधिकांश समय कोरियाले आक्रमण बनाइरहे पनि घाना डिफेन्स गर्न सफल रह्यो।

दोस्रो हाफको अन्त्यमा १० मिनेट थप गरिएको थियो। पछिल्लो खेलमा राम्रा अवसर सृजना गरेको दक्षिण कोरियाले दोस्रो हाफको थपिएको समयको अन्तिममा कर्नर पाएको थियो।

दक्षिण कोरियाली टोलीले बराबरी गर्ने अन्तिम मौका पाउँछ भन्ने सोचेको थियो। तर, बल कर्नरमा गएपछि रेफ्रीले फुलटाइम भएको सिट्टी बजाए।

त्यसपछि दक्षिण कोरियाली टोली र सपोर्ट स्टाफको आक्रोशित भए। निर्णयको विरोध गर्न प्रशिक्षक पल बेन्टो सिधै रेफ्रीकहाँ गए र आक्रोश पोखे। त्यसपछि बेन्टोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

समूहमा शीर्ष दुईमा रहेका पोर्चुगल र घानाको ३ अंक छ भने समान १ अंक जोडेका उरुग्वे र कोरिया तेस्रो र चौथो स्थानमा छन्।

१२ मंसिर, २०७९, २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।