उकेरा फिचर

१९ वर्षमै विवाह अनि २३ वर्षमै विधवा भएकी सविताको साहस : दोस्रो विवाह अस्वीकार गर्दै बनिन् ३ लाख महिलाको सहयोगी


‘मेरो श्रीमान् दुर्घटनामा नपर्नु भएको भए म श्रीमान्को नामले चिनिन्थे। अनि नेवारी परिवारको संस्कारी बुहारी भएर घरमै बसिरहेको हुन्थे। तर, अहिले सासुससुरा मेरो नामले चिनिन्छन्। समाजमा म मेरो नामले चिनिन्छु,’ ३७ वर्षीया सविता महर्जनले आँशु रोक्न खोज्दै एकै श्वासमा भनिन्।

त्यतिमै उनि रोकिइनन्, ‘कुरा सम्झ्यो भने केहि पाउनको लागि केहि गुमाउनुपर्छ भन्ने कुरा हो जस्तै लाग्छ। तर, मैले त आफ्नो जीवनसाथी नै गुमाउनुपर्यो।’

२३ वर्षको उमेरमै श्रीमान् गुमाउनुको पीडा सविताको दिल र दिमागमा अझै ताजै छ। ललितपुरको सुनाकोठीमा जन्मिएकी उनी विवाह गर्दा जम्मा १९ वर्षकी थिइन्। श्रीमान्ले उनलाई स्कुल पढ्दादेखि नै मन पराएका रहेछन्। घर पनि नजिक नजिकै भएको हुँदा उनी सँधै सविताको घरमा आउँथे।

अनि आमाबाबासँग पनि राम्रो सम्बन्ध रहेछ। यस्तै क्रममा उनले विवाहको प्रस्ताव राखेछन्। त्यतिखेर नेवारी परिवार छोरीलाई घरनजिकै विवाह गरिदिनुपर्छ भन्ने मान्यता थियो। यसो गर्दा दुःख पाएको खण्डमा सरसरयोग गर्न सकिन्छ भनेर रैछ।

स्नातक तह दोस्रो वर्षमा पढ्दै गरेकी उनको विवाह भयो। विवाहलगत्तै उनको पढाइ पनि अघि बढ्न सकेन। विहेपछि छोरी जन्माइन् उनले। त्यतिखेर महर्जन दम्पतीले पसल चलाउन थालिसकेका थिए।

एक दिन बिहान सबेरै पसल खोलेर निस्केको उनको श्रीमान् कहिले फर्केर आएनन्। सातदोबाटोभन्दा अलि पर ‘ताल्छीखेलमा’ माइक्रोसँग उनको श्रीमान् चढेको मोटरसाइकल टोक्कियो र उनी बिते।

दोस्रो विवाहको कुरा
घरकी कान्छी छोरी भएर खेतमा खेल्दै उफ्रिदै हुर्किएको उनी सेतो कपडामा बेरिएर बस्नुपर्यो। उनले बोल्नै छाडिन्। एक्लिएर बस्न थालिन्। त्यसै समय छिमेकको एउटा आमाले उनको हातमा मानवअधिकार सम्बन्धी एक पुस्तक थमाइदिइन्। 

पुस्तकमा उनले एकल महिलाहरूको बारेमा जान्ने मौका पाइन्। अन्य एकल महिलाहरूसँग घुलमिल भएर आफ्नो टोलमा भेला गर्न थालिन्।

१८ जना भेला पनि भए। त्यहाँ उनीबाहेक सबै एकल महिलाहरू ६०-७० वर्ष काटेकाहरू मात्र थिए। सविता विस्तारै घरपरिवार र समाजमा खुल्न थालिन्। १८ जना एकल महिलासहित उनी एक दिनमा मानवअधिकारको संस्थामा गइन्।

उनले भनिन्, ‘जति मान्छेहरूसँग भेटे त्यति नै धेरै फुर्ति आयो। म मात्र होइन रहेछ भन्ने भयो। म देखेर धेरै जनाले बाँच्न सिक्नुभयो अनि म आफैँ पनि अरु देखेर बाँच्न सिकेँ।’

सुरु–सुरुमा त उनले समाजबाट अनेक कुरा सुन्नुपर्यो। कतिले त पुनः विवाह गर्नका लागि पैसा जम्मा गर्न संस्थामा आवद्द भएकोसमेत भने। तर, उनले संस्था जान छाडिनन्।

विस्तारै सामान्य जीवनमा फर्कँदै गर्दा दोस्रो विवाहको कुरा सुरु भयो। आफन्त सबैले दोस्रो विवाह गर्नुपर्छ भन्न थाले।  कति त माग्न पनि आए। तर, उनलाई दोस्रो विवाह गर्न मन लागेन।

‘एउटा छोरी छ, उसलाई राम्रोसँग पढाउनुपर्छ भन्ने भयो’, उनले थपिन्।

अहिले उनी मानव अधिकारका लागि एकल महिला समूह केन्द्रकी सदस्य  छिन्। अनि यसैसँग सम्बन्धित अन्य करिब एक दर्जन सामाजिक संस्थामा आवद्ध भएर काम गर्छिन्।

यस बीचमा उनले विधवा, सम्बन्ध विच्छेद भएका, ३५ वर्षसम्म विवाह नगरेका, श्रीमान्सँग नबसेका र श्रीमान् भए पनि श्रीमान्सँग नबसेका अनि डिभोर्स पनि नगरेका महिलाहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गरिन्।

२५ देखि ३५ वर्षका एकल महिला धेरै
एकल महिलाहरुले पाउनुपर्ने अधिकारबारे जनचेतना फैलाउनेदेखि लिएर आफैँ पनि अधिकार दिलाउन पछि हट्दिनन् सविता।

उनले भनिन्, ‘धेरै मामलामा चाहिँ के हुने रहेछ भने, ती महिलाले सम्पत्तिको अधिकार पाउनेबित्तिकै अर्कोसँग जाला की! पुर्ख्यौली सम्पत्ति बिग्रेला कि! भनेर नदिने गरेको देखियो। जति पनि एकल महिलाहरू छन्, उनीहरूले त्यहि भएर सम्पत्ति पाएकै छैनन्।’

तथ्यांक विभागका अनुसार ०६८ को जनगणनामा देशभर ६ लाख एकल महिला रहेको सार्वजनिक भएको थियो। एकल महिला समुहमा आवद्ध भएकाहरू नै अहिले करिब तीन लाख पुगेको सविताको दाबी छ। त्यो संख्या भनेको सदस्यता लिएकाहरुको मात्र हो।

समूहमा आवद्ध नभएकाहरू यकिन तथ्यांक भने राख्न नसकेको उनले बताइन्। समूहमा आवद्ध नभएकाहरू गरेर उनीहरूको सम्पर्कमा रहेका महिलाहरूको तथ्यांक मात्र छ लाख हुनुपर्ने उनको अनुमान छ।

‘अबको नयाँ जनगणनाको तथ्यांक सार्वजनिक हुँदा यो संख्या करिब १२ लाख पुगेको हुनुपर्छ,’ उनले सुनाइन्।

एकल महिलाहरूमध्ये धेरैजसो २५ देखि ३५ वर्ष उमेर सम्मको रहेका छन्। उनीहरूको मुख्य समस्या भनेको बेरोजगारी हो। 

‘महिला त्यै माथि पनि एकल भनेपछि मान्छेहरूले विश्वास नै गर्दैनन्। काम पाउनै गाह्रो। समस्या सबैको छ तर, एकल महिलाहरूलाई धेरै नै गाह्रो छ,’ सविता भन्छिन्, ‘कसैको श्रीमान्ले दोस्रो विवाह गर्दा जेठी श्रीमतीलाई नहेरेको अवस्था छ। डिभोर्स पेपरमा सबै दिन्छु भनेर लेखे पनि नदिएको अवस्था छ। आर्थिक रूपमा सशक्त हुन सकेका छैनन्।’

‘कोरोनामा ५० जना अविवाहित गर्भवती आए’
एकल महिलाहरुको सीप विकासको तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने सविता काम गर्ने संस्था अहिले देशैभरका जिल्लामा छरिएका छन्।

काठमाडौंको हात्तीगौडामा भएको कार्याायलमा भने केहि त्यस्ता पीडित महिलाहरूको लागि खाना र बस्नको व्यवस्था पनि छ। जहाँ अहिले पनि ७०÷८० जना महिलाहरूले आफूलाई सशक्त बनाउँदैछन्।

कोरोना महामारीको समय सम्झिदै सबिता बताउछिन्, ‘त्यसबेला विदेशबाट करिब ५० जनाभन्दा बढि अविवाहित गर्भवती महिलाहरू आउनुभएको थियो, अब त्यस्तो अवस्थामा उहाँहरू कहाँ जाने? लकडाउनभर हामीसँगै बस्नुभयो।’

पछि ती महिलाहरू कहाँ गए केहि थाहा नभएको उनले बताइन्। उनीहरूको इच्छाअनुसार संस्थाले पनि पछि सम्पर्क गरेन। तर, अझै पनि कसैलाई सहयोग चाहिएको खण्डमा संस्था तयार रहेको उनी बताउँछिन्।

उनको अनुभवमा शहरका महिलाहरू घरबाहिर निस्किए पनि उनीहरूको आवाज भने झन् दबिँदै गएको छ। आर्थिक स्रोत श्रीमान् र परिवार नै हुने भएकाले पनि उनीहरू बढि दबिएको उनको निष्कर्ष रहेछ। 

‘शहरका अधिकांश महिलाहरूको आर्थिक स्रोत नै श्रीमान् हुन्, अहिले पनि। त्यहि भएर उहाँहरू चाहिँ दबिनुपर्ने बाध्यता भएको हुनसक्छ,’ उनले भनिन्, ‘तर ग्रामीण भेगमा पशुपालन, खेतीपाती गरेर थोरबहुत भएपनि आम्दानी गरिरहेका हुन्छन्।’

स्थानीय निकायलाई नै चिन्दैनन् 'पीडित'
विभिन्न जनचेतनामुलक कार्यक्रम तथा सामाजिक सुरक्षा भत्ताको लागि सविता स्थानीय निकायसम्म धाइरहन्छिन्। तर त्यहाँ भएका पदाधिकारी र नेतृत्त्वमा रहनेलाई नै एकल महिलाको बारेमा बुझाउनुपरेको उनको अनुभव छ।

‘सबैले एकल महिला भन्ने बित्तिकै श्रीमान् बितेका महिलालाई मात्र बुझ्नुहुँदो रहेछ,’ उनले थपिन्, ‘तर त्यस्तो होइन, एकल महिला नै पाँ प्रकारका हुन्छन्।’

श्रीमान् बितेको महिलालाई बाहेक अन्य महिलालाई एकल महिला मान्न स्थानीय नेतृत्त्व हिच्किचाउने गरेको उनले महसुस गरेकी छन्।

बालबालिका, महिला या ज्येष्ठ नागरिक सबैले स्थानीय तहमा भोग्नुपरेको समस्यासँग उनी सधैँ साक्षात्कार भइरहन्छिन्। त्यहि भएर उनलाई यस विषयमा जानकार व्यक्ति नेतृत्त्वमा आएदिए हुन्थ्योजस्तो लाग्दोरहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन उद्यमी दिदीबहिनीको कथा: जसले भवन निर्माणको क्षेत्रमा नेपालमै नयाँ प्रविधि भित्र्याए

तीन छोरीले कम्पनी हाँक्न थाले। र, भवन निर्माणमा नयाँ प्रविधि भित्र्याउँदै 'आईटी स्टिल स्ट्रक्चर सोल्युसन्स प्राली' समेत सुरु गरे। सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्।....

शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्।....

स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा....

भाँडा माझेर कमाएको पैसाले व्यवसाय थालेका सकिन्द्र, जसलाई छोराहरूको पढाइ पूरा गर्न पाए लकडाउन र महानगरको डर नै हुँदैन थियो

उनी भन्छन्, 'परिवारबाट भागेर १२ वर्षको उमेरमा नै काठमाडौं आएको थिएँ। त्यो पनि अरू मान्छे बसेको सिटमुनि बसेर। बाआमाको निकै प्यारो छोरा थिएँ। अहिले बाआमामाथि....

कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको यो ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चलेर बन्द भयो। १२ जना मिलेर ५५ लाख रुपैयाँ....