अहिले सेयर किन्ने कि भएको पनि बेच्ने ?

अहिले सेयर किन्ने  कि भएको पनि बेच्ने ?

काठमाडौँ : केही वर्षयता सेयर बजार सँग सम्बन्धित समाचारहरू बढी प्रचारमा आइरहेका छन्। यसको एउटा कारण सेयर बजारलाई प्रविधिमैत्री बनाउनु पनि हो। प्रविधिमैत्री हुनाले नयाँ पुस्ताका लागि यो एउटा लगानीको आकर्षण पनि बन्दै गएको छ।

कुनै समय नेपालको शेयर बजार ११ सय को न्यूनतम विन्दुमा झरेर उकालो लागेको थियो। यसरी उक्लिन सुरु गरेको सेयर बजारले नयाँ उच्चतम विन्दु करिब ३२ सय अङ्कको हाराहारीलाई स्पर्श गर्यो। त्यसपछि बजार क्रमशः ओरालो लाग्न थाल्यो। यसरी ओरालो लाग्न थालेको सेयर बजार १८०० को हाराहारीमा पुगेर रोकियो। त्यति बेला सेयर बजारका पारखीहरू १८ सय नै न्यूनतम बिन्दु भएको विश्लेषण गर्थे।

वास्तवमा सेयर बजारले कुनै पनि अनुमानलाई पछ्याएको देखिँदैन। दिग्गजका अनुमानहरू पनि नमिलेका अनगिन्ती उदाहरण छन्। त्यसयता सेयर बजार कछुवा गतिमा उकालो चढ्दै छ। यसले बजार धेरै अंकमा पुगेका बेला लगानी गरेका लगानीकर्ताका लागि चुनौति र न्यून अं कमा प्रवेश गरेकाका लागि अवसरको सिर्जना गरेको देखिन्छ। नवप्रवेशीकालागि वर्तमानको न्यून अङ्क एक सुवर्ण अवसरका रूपमा भएको विज्ञहरू बताउँछन्।

गत वर्ष यता निकै सङ्ख्यामा नयाँ पुस्ता सेयर बजारमा प्रवेश गरेको तथ्याङ्क छ। सेयर बजारमा प्रवेश गर्नका लागि डिम्याट खाता खोल्नुपर्ने हुन्छ। वर्तमानमा डिम्याट खाता खोल्नेहरूको सङ्ख्या करिब ५० लाख पुगिसकेको छ जुन गत वर्षको यसै समयमा ३० लाख मात्रै थियो। यसले नयाँ पुस्ताको प्रवेश उल्लेख्य मात्रामा भएको देखाउँछ।

अहिले लगानीको मौसम

थ्राइभ ब्रोकरेजका सञ्चालक अनोजराज पौडेलसँग बुझ्दा उनी अहिलेको समय लगानीकर्ताका लागि राम्रो अवसर भएको बताउँछन्।

उनी भन्छन् 'बैङ्कको ब्याजदर र सेयर मूल्यका बिचमा व्युत्क्रमानुपाति सम्बन्ध हुन्छ। अहिले बैङ्कको ब्याजदर बढी भएकाले सेयर मूल्य घटेको हो। बैङ्कको ब्याजदर यही बढेको अवस्थामा लामो समय रहँदैन।'

बैङ्कको ब्याजदर बढ्नाले बैङ्कबाट ऋण लिएर चलेका नेपालका उद्योग कलकारखाना अप्ठ्यारोमा परेका छन्। राष्ट्र बैङ्कले निकट भविष्यमै आफ्नो मौद्रिक नीतिको त्रैमासिक समीक्षामा यसलाई सम्बोधन गर्ने सम्भावना देखिन्छ।

पौडेल अहिले बजारमा ठुला खेलाडी ब्रोकरहरू पनि अप्रत्यक्ष रूपमा ठुला लगानीकर्ताहरूसँग मिलेर सेयर कारोबारमा संलग्न छन्। जसले गर्दा साना लगानीकर्ता चेपुवामा पर्ने सम्भावना हुन्छ।

पुँजी बजारमा केही सुधारका कामहरू भएका छन्। विदेशमा काम गर्न गएका नेपालीहरूलाई आईपीओमा १० प्रतिशत सेयर आरक्षण गर्ने नीति कार्यान्वयन भइसकेको छ। कम्पनीको सेयर मूल्य पनि निकै तल झरेको अवस्था छ। उनी यही कारण अहिले कारोबारमा छिर्ने उपयुक्त समय भएको बताउँछन्।

लगानीकर्ता तथा पूँजीबजार सुधार सङ्घर्ष समितिका संयोजक तिलक कोइराला काम गरेर जागिरबाट मासिक तलबले घर चलाउन नसक्दा सेयर बजारमा लगानी गरेर आर्थिक रूपमा बलियो भएको दाबी गरे।

'सेयरमा लगानी गरेर घर-जग्गा नै जोड्न सफल भएको छु। मेरो लागि सेयर बजार जोखिम बढी र अवसर कम भएको क्षेत्र हो। तर, जोखिम उठाउन सक्ने क्षमता बोकेका लगानीकर्ताहरूको लागि भने यो क्षेत्र ठुलो अवसर भएको क्षेत्र पनि हो' उनले भने।

पुँजी बजारमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास अझै देखिन्छ। नयाँ पुस्ता मात्र नभएर सेयरमा लगानी गरिरहेका लगानीकर्ताहरूले पनि अहिले  सम्पत्ति धितोमा राखेर, साथीभाइसँग सापटी मागेर, बैङ्कमा राखेको निक्षेपलाई झिकेर, आफ्नो घर सम्पत्ति बिक्री गरेर, गाडी बिक्री गरेर, विदेशबाट पैसा ल्याएर पुँजी बजारमा लगानी गरिरहेको देखिन्छ।

सेयर बजार ओरालो लागिरहेको अवस्थामा लगानी गर्न जोखिम हुने हो कि भनेर आत्तिनु नपर्ने र सेयर बजार घट्नु भनेको लगानीकर्ता बढाउनु/बढ्नु रहेको उनीहरूको मत देखिन्छ।

'धेरैजसोले सेयर बजारमा कमाउने उद्देश्यका साथ लगानी गर्छन्। कसैले धेरै कमाउँछन् त कसैले लगानी भन्दा पनि कममा बेचेर घाटा व्यहोर्छन्,' कोइराला भन्छन्'सेयर बजारको आधारभूत ज्ञान नभई यस क्षेत्रमा प्रवेश गर्नु भनेको रत्नपार्कमा बसेर हात हेरिदिनेहरूको पछि लाग्नु जस्तै हो। त्यसैले कसैले कमायो भनेकै भरमा भएको पैसा सेयरमा खन्याउँदा त्यसको नतिजा नराम्रो हुन पनि सक्छ। अरूको भरमा हल्लाखल्लाको पछि नलागी सेयर बजारमा लगानी गर्ने हो भने जोखिम कम गर्न सकिन्छ। यो नयाँ पुस्ताका लागि अवसर सँगसँगै चुनौतीको रूपमा पनि देखिएको छ।'

२५ कात्तिक, २०७९, १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।