प्रत्यारोपणका लागि तयारी गरिएको मिर्गौला अयोग्य भएको भन्ने विषयमा पीडितका आफन्तले मिर्गौला प्रत्यारोपण प्रक्रियामा नै लापरबाही भएको भन्दै छानबिनको माग गर्दै स्वास्थ्य मन्त्री खापुङलाई कात्तिक नौ गते ज्ञापन पत्र बुझाएका थिए।
त्यसपछि मन्त्री खापुङले डा. बस्नेतलाई बोलाएर मिर्गौला प्रत्यारोपणमा असफल भएको विषयमा जानकारी लिएका हुन्।
‘उता (पीडित पक्ष) बाट निवेदन आएको थियो। निवेदन आइसकेपछि मैले (डा. बस्नेतलाई) बोलाएर कुरा गरेको हो,’मन्त्री खापुङले उकेरासँगको कुराकानीमा भने।
बुधवार पीडित पक्षले मन्त्री खापुङलाई भेटेर ज्ञापन पत्र दिएको र त्यसपछि नै डा. बस्नेतले मन्त्री खापुङलाई भेटेका हुन्। यस विषयमा छानबिनको अधिकार क्षेत्र नेपाल मेडिकल काउन्सिलको भएकाले काउन्सिलसँग पनि बुझ्ने मन्त्री खापुङले बताए।
‘छानबिन गर्ने एक ठाउँबाट हो। त्यो काउन्सिलले हेरिरहेको छ,’उनले भने,‘काउन्सिलसँग मैले कुरा बुझेको छैन। अब बुझ्छु।’
यसअघि मन्त्री खापुङले उकेरासँगको कुराकानीमा पीडित पक्षबाट निवेदन आएकाले छानबिन गरिने बताएका थिए। उनले यस विषय कर्मचारीको टिमसँग छलफल गरेर छानबिन गर्ने बताएका थिए।
पीडित पक्षले बुधवार नै नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी दिएका छन्। काउन्सिलले विज्ञ समूह बनाएर छानबिन गर्ने तयारी समेत गरेको छ।
काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजकलाई प्रतिनिधिका रूपमा खटाएर मिर्गौला प्रत्यारोपण प्रक्रिया असफल भएको विषयमा छानबिन गर्न कागजात सङ्कलनका लागि पठाएको थियो।
अस्पतालका उपसचिव सागर मिश्रले मिर्गौला प्रत्यारोपण प्रक्रिया असफल भएका विषयसँग सम्बन्धित कागजात काउन्सिलमा पठाइसकेको जानकारी दिएका छन्।
‘काउन्सिलले मागेका जति डकुमेन्ट पठाइसकेका छौँ,’ उपसचिव मिश्रले भने।
मेडिकल काउन्सिलले कात्तिक ६ मै छानबिन प्रक्रिया अगाडि बढाइसकेको र कागजात सङ्कलन भइसकेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
काउन्सिलले केही कागजात सङ्कलन गरेको र अपुग कागजात सङ्कलनका लागि अस्पतालमा पत्राचार गरिएको जनाएको छ। काउन्सिलका एक सदस्यले भने,‘केही कागजपत्र पुगेको छैन। थप कागजपत्रका लागि पत्राचार भइसकेको छ।’
प्रत्यारोपण असफल भएको केही दिनमा अस्पतालबाट डिस्चार्ज भएकी मिर्गौला पीडित ३२ वर्षे महिलाको वीर अस्पतालमा नै घरबाट ओहोरदोहोर गर्दै डायलाइसिस भइरहेको बिरामीका आफन्तले जानकारी दिएका छन्।