श्रीमतीलाई प्रत्यारोपण हुनुपर्ने आमाको मिर्गौला चिकित्सकले बट्टामा राखेर सरी भन्दै हातमा थमाए

श्रीमतीलाई प्रत्यारोपण हुनुपर्ने आमाको मिर्गौला चिकित्सकले बट्टामा राखेर सरी भन्दै हातमा थमाए
मिर्गौला र बोतलको तस्बिर सांकेतिक प्रयोग गरिएको हो।

काठमाडौं : धादिङ गल्छी गाउँपालिकाकी ३२ वर्षीय महिलाको मिर्गौला बिग्रिएपछि उनकी ५८ वर्षीय सासू मिर्गौला दिन तयार भइन्।

मिर्गौला प्रत्यारोपण अगाडि सासू–बुहारी दुवैको स्वास्थ्य परीक्षण भयो। परीक्षणमा मिर्गौला प्रत्यारोपणका लागि योग्य देखिएपछि कानुनी प्रक्रिया पनि पूरा भयो।

मिर्गौला प्रत्यारोपण गर्ने एक हप्ताअघि दुवैलाई वीर अस्पताल भर्ना गरियो। सबै तयारीपछि मङ्गलवार कात्तिक१ गते सासू (मिर्गौला दाता) र बुहारी (मिर्गौला लिने) लाई अस्पताल (सर्जिकल भवन) को शल्यक्रिया कक्षमा मिर्गौला प्रत्यारोपणको लागि लगियो।

मिर्गौला प्रत्यारोपणको टिममा थिए युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ।

आमा र श्रीमतीलाई शल्यक्रिया कक्षमा लगेपछि मिर्गौला प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका ३७ वर्षे श्रीमान् शल्यक्रिया कक्ष बाहिर बसे।

मिर्गौला  प्रत्यारोपण गरिनुपर्ने ३२ वर्षे महिलाका श्रीमानले भने,‘मिर्गौला लिने श्रीमती र दिने ममी हुनुहुन्थ्यो।’

शल्यक्रिया कक्षमा लग्दा बिहानको करिब नौ बजेको थियो। महिलाका श्रीमानलाई आशा थियो,'आमाको मिर्गौला श्रीमतीको शरीरमा सहजै प्रत्यारोपण हुनेछ।'

ती महिलाका श्रीमानले भने,‘पाँच नम्बर (पाँच तला) मा अप्रेशन भयो। तल चार नम्बरमा ट्रान्सप्लान्ट हुनेवित्तिकै तपाईँको बिरामी ल्याउँछ भन्नु भएको थियो।’

उनी सुखद सन्देश कुरेर पाँचौँ तलामा बसिरहेका थिए। शल्यक्रिया कक्षतर्फबाट करिब तीन बजेतिर बिरामीका आफन्तलाई बोलाइयो। त्यसपछि ती महिलाका श्रीमानको मन आत्तियो।

उनी शल्यक्रिया कक्ष बाहिर पुगे। त्यहाँ पुग्दा उनलाई चिकित्सकको टिमले आमाबाट झिकिएको मिर्गौलाको खराबीका कारण प्रत्यारोपण गर्न नसकेको खबर सुनाए। उनले केही सोच्नै सकेनन्।

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठमध्ये कसैले आफन्तलाई भेटेनन्। दाताबाट निकालिएको मिर्गौला अयोग्य भएको नेफ्रोलोजी विभाग प्रमुख डा. अनिल बरालले बिरामीका आफन्तलाई खबर गरेका थिए।

‘मिर्गौलाको भेन ब्लक रहेछ, अरू मसिनो नसा पनि पलाको रहेछ भनेपछि मैले केही सोच्नै सकिन’ उनले सुनाए।

चिकित्सकको टिमको कुरा सुनेपछि शरीर नै लल्याकलुलुक भएको अवस्थामा ती महिलाका श्रीमानले सिटी गर्दा ब्लक भएको देखाएको थिएन भने।

‘रिपोर्टमा ठिकै भएकाले नै शल्यक्रिया गरेको हो। तर दुर्भाग्यवश काटिसकेपछि यस्तो देखियो’ भन्ने जवाफ आयो।

‘समस्याबारे पहिला केही पनि बताइएन। मिर्गौला एकदम राम्रो छ भनेका थिए,' उनले उकेरासँग भने'दाहिनेले ५२ प्रतिशत अनि देब्रेले ४८ प्रतिशत काम गरेको छ भन्नुभएको थियो।’

बायोप्सी प्रक्रियामा लापरबाही

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने ३२ वर्षे ती महिलाकी कान्छा मामा सरन विशुंके चिकित्सकको टिमले शल्यक्रिया अघि प्रत्यारोपण गर्नुपर्ने मिर्गौला राम्रो भएको जानकारी दिएको बताउँछन्।

‘किड्नी लिनेको म कान्छो मामा हो,’विशुंकेले भने,‘शल्यक्रियाअघि मिर्गौला राम्रो छ भन्नु भएको थियो।’

चिकित्सकले पनि शल्यक्रिया अघिको रिपोर्टमा हेर्दा राम्रै देखिएको  दाबी गरेको देखिन्छ।

मिर्गौला प्रत्यारोपण हुने भएपछि परिवार खुसी थियो। तर, शल्यक्रिया गर्नु अघि मिर्गौला राम्रो छ भने पनि मिर्गौला निकालिसकेपछि बट्टामा राखेर आफन्तलाई जिम्मा दिँदा आफूहरू झसङ्ग भएको विशुंकेले सुनाए।

विशुंकेले भने,‘राम्रो छ भनेको किड्नी हाल्ने बेलामा एउटा नसाले काम गरेन। घिरौँलाको जालोजस्तो केही कुरा जेलिएको रहेछ। सरी यो गर्न सकिँदैन भनेर निकालिसकेको किड्नी हामीलाई जिम्मा दिइयो।’

त्यसपछि शंकालागे ह्याम्स अस्पतालमा गएर ल्याब टेस्ट गराउनु भनेर चिकित्सकले पठाएको विशुंकेले सुनाए। चिकित्सकको यस्तो कुरा सुनेपछि तुरुन्तै बट्टामा राखिएको मिर्गौला बोकेर आफू ह्याम्स अस्पताल पुगेको उनले सुनाए।

‘म आफैँ (मिर्गौला) बोकेर ह्याम्स गएँ। गीता सायमी डाक्टरसाबको नाम लिएर पठाउनुभएको थियो,’ विशुंकेले भने।

तर, डा. सायमीलाई ह्याम्समा नभेटेको उनले सुनाए। ह्याम्स अस्पतालले डा. सायमिसँग सम्पर्क गरेर सोध्दा दाताबाट झिकिएको मिर्गौला परीक्षणका लागि लिन नसक्ने जानकारी पाएको विशुंकेले सुनाए।

प्रत्यारोपणका लागि अयोग्य मिर्गौला बायोप्सीका लागि ह्याम्सले लिन नमानेपछि विशुंकेलाई झन् तनाव भयो। विशुंकेका अनुसार ह्याम्समा बायोप्सिका लागि पठाइएको कागजमा बायोप्सी गर्न पठाउने चिकित्सकको नाम उल्लेख थिएन।

‘वीरले कागजहरू पठायो। डक्टरको नाम चाहिँ खुलाएन,’ उनले भने।

त्यसपछि ह्याम्सकै एक जना चिकित्सकले यो-यो ठाउँमा गएर परीक्षण गर्न सकिन्छ भनेर तीन वटा नम्बर दिए। त्यसपछि ‘प्रथम’ नाम गरेको ल्याबमा परीक्षणको लागि मिर्गौला छोडेर आएको विंशुकेले जानकारी दिए।

‘नम्बर दिनुभएको थियो। त्यसपछि प्रथम ल्याबमा ल्याएर टेस्टका लागि किड्नी छोडेर आएँ,’उनले भने।

तर, समन्वय नै नगरी मानव अङ्गजस्तो संवेदनशील अङ्ग बायोप्सिका लागि किन ह्याम्समा पठाइयो र ह्याम्सले किन लिन मानेन भन्ने गम्भीर प्रश्न हो।

त्यसमाथि पनि चिकित्सकले किन आफ्नो नाम नलेखी बायोप्सिका लागि मिर्गौला पठायो भन्ने अर्को गम्भीर प्रश्न देखिन्छ। वीर अस्पतालका एक सिनियर चिकित्सकका अनुसार यसरी बायोप्सी गर्न पठाउने चिकित्सकको नाम लेख्नु अनिवार्य हो। तर लेखिएन।

अर्कातर्फ वीर अस्पतालमा ल्याब हुँदाहुँदै किन त्यो परीक्षण भएन भन्ने विषय प्रस्ट खुलाइएको छैन। तर, शल्यक्रियामा संलग्न चिकित्सकको टिमले भने वीरमा नै परीक्षण गर्दा मिलेमतो भएको भन्दै बिरामीका पक्षले आरोप लगाउन सक्ने भन्दै ह्याम्स पठाएको तर्क गरेको वार्तामा संलग्न एक कर्मचारीले जानकारी दिए।

तर, किन कुनै छलफल तथा समन्वय नगरी मिर्गौला ह्याम्स पठाइयो भन्ने विषयमा शल्यक्रियामा संलग्न चिकित्सक डा. अनिल श्रेष्ठ र डा. पारसले आफू अनुकूलको व्याख्या गर्दै आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।

अस्पतालमा यसै विषयमा भएको छलफलमा डा. गीता सायमीलाई खबर गर्न पाएनौँ भनेर शल्यक्रियामा संलग्न चिकित्सकको टिमले स्वीकारेको एक चिकित्सकले जानकारी दिए।

एक चिकित्सकका अनुसार एकातर्फ खबर नभएको वा प्रत्यारोपणपछि रिजेक्ट भएको मिर्गौला हो भन्ने बुझाईका कारण पनि ह्यमम्सले परीक्षणका लागि नलिएको हुनसक्छ। अर्कातर्फ आइपर्नसक्ने कानुनी जटिलता (मेडिको लिगल) का कारण ह्याम्स अस्पतालले बायोप्सिका लागि नमुना लिन नमानेको हुन सक्छ।

यद्यपि यसरी हेर्दा निकालिएको मिर्गौलाको बायोप्सि गर्ने सवालमा समेत शल्यक्रियामा संलग्न चिकित्सकको टिमको लापरबाही देखिन्छ।

अस्पतालले बोलाउँदा समेत इन्कार

मिर्गौला प्रत्यारोपण असफल भएपछि लापरबाही गरेर चिकित्सक भागेको भन्दै बिरामीका आफन्तले मङ्गलवार नै अस्पताल प्रशासनमा खबर गरेका थिए।

बिरामीका आफन्तको कुरा सुनेपछि कोभिड–१९ युनिफाईड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्रकुमार बस्नेतले डा. पारसमणि र डा. अनिल (श्रेष्ठ) लाई अस्पतालमा बोलाएका थिए।

तर, डा. अनिल श्रेष्ठ र डा. पारसले डा. बस्नेतको अनुरोधलाई इन्कार गर्दै आउँदैनौँ भन्ने जवाफ फर्काएको अस्पताल स्रोतले जानकारी दियो।

दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएपछि प्रत्यारोपणमा संलग्न युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि युरो सर्जरी विभाग र अस्पताल प्रशासनलाईसमेत थाहा नदिई हिँडेको अस्पताल स्रोतले बतायो।

प्रत्यारोपणमा संलग्न चिकित्सक बिरामीका आफन्त, आफू कार्यरत विभाग र अस्पताल प्रमुखलाई समेत जानकारी नदिई हिँड्ने अनि अस्पताल प्रमुखले बोलाउँदा समेत नआउनु गम्भीर विषय भएको अस्पतालका एक कर्मचारीको तर्क छ।

मिर्गौला प्रत्यारोपणका लागि योग्य नदेखिएपछि शल्यक्रियाको प्रक्रिया पूरा गरेर गैह्र जिम्मेवारी तरिकाले शल्यक्रियामा संलग्न चिकित्सकको टिम अस्पतालबाट बाहिरिएको देखिन्छ।

मङ्गलवार राती करिब १२ बजेसम्म पनि डा. अनिल श्रेष्ठ र डा. पारसलाई उपस्थित नगराएसम्म बिरामीका आफन्तले डा. बस्नेत लगायतलाई घर जान दिएनन्। छानबिन समिति गठन गर्ने भनेपछि मात्रै घर जान दिएका थिए।

सम्झौतामा थामथुम पार्ने प्रयास

अस्पताल प्रशासनले बुधवार घटनाको विषयमा अध्ययनका लागि सात सदस्यीय छानबिन समिति गठन गरेको छ। तर समितिको निष्कर्ष आउनु अगाडि नै प्रत्यारोपण गर्नुपर्ने परिवारका सदस्यलाई अस्पताल प्रशासनले थामथुम पार्ने प्रयास गरेका छन्।

बिहीबार प्रत्यारोपणका लागि अयोग्य मिर्गौला निकालेको विषयमा वीर अस्पताल र बिरामी पक्षबिच तीन बुँदे सहमति भयो। पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने र मन्त्रालयले वीर अस्पतालको छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने सहमति भयो।

तर, शल्यक्रियामा संलग्न टिमलाई निलम्बन समेत नगरी छानबिन अगाडि बढाइरहेको छ वीर प्रशासनले। वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लागेको उपचार खर्चको बिल भर्पाई प्राप्त भएको खण्डमा अस्पतालले अहिलेसम्मको र अब लाग्ने उपचारको पनि शोधभर्ना दिने सहमति भएको छ।

सहमतिअनुसार आगामी दिनमा वीर अस्पतालमा बिरामीको मिर्गौलासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने सहमति भएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

चिकित्सकको टिमले प्रत्यारोपणको असफलतामा  चुकेको स्वीकारेको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने महिलाका मामा विशंकेले जानकारी दिए। बिरामीका पक्षलाई प्रभावमा पारेर सम्झौता गरी थामथुम पारिएको देखिएको एक चिकित्सकले बताए।

छलफलमा धादिङ गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, धादिङका पूर्व सांसद भूमि त्रिपाठी लगायत बसेर अस्पतालसँग सहमति गरिएको विशंकेले जानकारी दिए।

दुवैपक्षवीच भएको वार्तामा कागजी रूपमा सहमति गरी आश्वासन पाएको उनले बताए। वीर अस्पतालमा केही घण्टाको वार्तापछि सहमति भएको थियो।

मङ्गलवार मध्यरातसम्म डा. बस्नेत शल्यक्रियामा संलग्न डा. अनिल श्रेष्ठ र डा. पारसमणिलाई निलम्बन गरेर छानबिन गर्ने मुडमा थिए।

तर, बिहीबारको बैठकमा डा. बस्नेतले शल्यक्रियामा सहभागी चिकित्सकको गल्ती नभएको भन्दै डा. अनिल श्रेष्ठ र डा. पारसमणिको बचाउ गरेका थिए।

यस विषयमा कुराकानीका लागि डा. बस्नेतसँग उकेराकर्मीले पटक पटक फोन सम्पर्क गर्दा भने  सम्पर्क हुन सकेको छैन।

प्रत्यारोपणअघि रिपोर्ट ठिक छ भनेका थिए, अव के होला!

मिर्गौला फेल भएको थाहा पाएपछि ३२ वर्षे ती महिलाको नौ महिना अघि देखिनै डाइलाइसिस भइरहेको थियो।

‘नौ महिना भयो डाइलाइसिस गरेको।’ सुरुमा वीर अस्पतालमा ४-५ पटक डाइलाइसिस गर्यौँ। त्यसपछि अन्त ठाउँ खोज्न लगाउनुभयो,’ ती महिलाका श्रीमानले भने।

अन्त ठाउँ खोज्दै जाँदा वनस्थलीको एक स्वास्थ्य संस्थामा करिब आठ महिना डाइलाइसिस गरेको उनले सुनाए। त्यसपछि असारको तेस्रो सातापछि मिर्गौला प्रत्यारोपणको लागि प्रक्रिया अगाडि बढाएको ती महिलाका श्रीमानले जानकारी दिए।

दसैँअघि श्रीमतीको मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य परीक्षण लगायतको प्रक्रिया सकियो। असोज दोस्रो हप्ता वीर अस्पतालबाट डा. अनिल बरालले कात्तिक एक गते प्रत्यारोपण गर्ने मिति दिँदै फोन गरेको मिर्गौला प्रत्यारोपण गर्ने महिलाका श्रीमानले सुनाए।

परिवारले पनि प्रत्यारोपणका लागि नाता प्रमाणित लगायत आवश्यक सबै कागजात तयारी गरे। उनीहरूले अस्पतालमा फलो अप गरे।

त्यसपछि चिकित्सकको सल्लाह बमोजिम नै असोज २६ गते मङ्गलवार मिर्गौला दिने सासू र लिने बुहारी दुवैलाई वीर अस्पताल भर्ना गरियो।

मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिन सासू र बुहारी दुवैका मिर्गौला प्रत्यारोपणका लागि रिपोर्ट ठिक भएको चिकित्सकले जानकारी दिए।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने ती महिलाका श्रीमानका अनुसार करिब दुई महिनाअघि त्रिवि शिक्षण अस्पतालमा सिटी स्क्यान गराएका थिए।

त्यही पनि एक पटक सिटी गरौँ न भनेर चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गर्ने मितिभन्दा केही दिन अघि मिर्गौला दाताको सिटी स्क्यान गरे।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने महिलाका श्रीमानले भने,‘ट्रान्सफर भन्दा दुई दिन अघि सिटी गर्नुभयो। ठिक छ भन्नुभयो।’

आमाको मिर्गौला झिकियो। तर त्यो श्रीमतीकोमा प्रत्यारोपण भएन। अव कसको मिर्गौला प्रत्यारोपण गर्ने तनावमा देखिए उनी।

प्रत्यारोपणकाक्रममा जटिलता आउन सक्छ। तर के समस्या आएको हो भनेर चिकित्सक टिमले प्रस्ट भनेको भए उनीहरूको मन मान्न सक्थ्यो। तर शल्यक्रियाका लागि गएदेखि नै उल्टो चिकित्सक गायब भएर बस्दा भने प्राविधिक कारणले प्रत्यारोपण असफल भएको मान्न सकेको देखिएन परिवारका सदस्यले।

पहिले बुहारी अस्पतालमा थिइन्। अहिले सासू अनि बुहारी दुवै वीर अस्पतालमा नै उपचाररत छन्। पीडितका परिवार उपचारको प्रारम्भदेखिकै रिपोर्टको अध्ययन गरेर कहाँ त्रुटि भएको हो जानकारी दिनुपर्ने बताइरहेको छ।

सबै परीक्षणमा प्रत्यारोपणका लागि योग्य भनिएको मिर्गौला झिके पछि एकाएक कसरी अयोग्य भयो अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

‘हेलचेक्राई हो की जस्तो लाग्छ। बेलुका पनि घाँटीमा एकापट्टि ३-४ ठाउँमा छेडे। पछि मुख्य डाक्टर आएर बनाए’ ती महिलाका श्रीमानले भने' साँच्चिकै प्रत्यारोपणमा समस्या आएको हो या लापरबाही भएको हो त्यो पत्ता नलगाएसम्म कसरी मान्नु।'

सम्बन्धित समाचार

४ कात्तिक, २०७९, २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।