उकेरा प्रभाव : वीर अस्पतालको मिर्गौला प्रत्यारोपण प्रकरणमा मेडिकल काउन्सिलले थाल्यो छानविन

उकेरा प्रभाव : वीर अस्पतालको मिर्गौला प्रत्यारोपण प्रकरणमा मेडिकल काउन्सिलले थाल्यो छानविन
मिर्गौला र बोतलको तस्बिर सांकेतिक प्रयोग गरिएको हो।

काठमाडौं : वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा भएको लापरबाहीको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ। 

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को अनुरोधपछि छानबिन प्रक्रिया अगाडि बढाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजक डा. कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझको लागि वीर अस्पताल पठाइएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

‘अस्पतालले अनुरोध गरेपछि घटनाको विषयमा अध्ययनका लागि काउन्सिलले प्रतिनिधि पठाएका छौं,’ उनले भने। 

अस्पतालबाट आइतबार नै छानबिनको अनुरोधका लागि काउन्सिलमा पत्र पुगेको र आजै अध्ययनका लागि प्रतिनिधि पठाएको रजिष्ट्रार अधिकारीले बताए।

घटनाको विषयमा काउन्सिलका सदस्य डा. खत्रीसँग सम्पर्क गर्दा आइतबार वीर अस्पताल पुगेको र काजगपत्र संकलनगरी अध्ययनको काम सुरु भएको जानकारी दिए।

‘आज वीर अस्पताल पुगेको थिएँ, कागजपत्र जम्मा गर्ने काम सुरु भएको छ,’ खत्रीले भने।

कागजपत्रको संकलनपछि घटनाको बारेमा छानबिन प्रक्रिया अगाडि बढ्ने काउन्सिलले जनाएको छ। यसअघि उकेरासँगको कुराकानीका क्रममा वीर अस्पतलमा भएको मिर्गौला प्रत्यारोपण प्रक्रियामा चित्त नबुझे नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सकिने रजिष्ट्रार अधिकारीले बताएका थिए।

‘काउन्सिलमा उजुरी गरे त्यसको अध्ययन हामी गर्छौं,’ उनले भनेका थिए। 

धादिङको गल्छी गाउँपालिकाकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लागि उनकी ५८ वर्षीया  सासुबाट कात्तिक १ गते मिर्गौला झिकिएपछि अयोग्य भन्दै चिकित्सकको टिमले प्रत्यारोपण गरेनन्। त्यसपछि पीडितका आफन्तले मिर्गौला प्रत्यारोपण प्रक्रियामा नै लापरबाही भएको भन्दै छानबिनको माग गरेका थिए।

छानबिनको मागपछि घटनाका बारेमा आन्तरिक छानबिन गर्न अस्पतालले सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते सात सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा.अशेष ढुंगाना, सिटिभिएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सिताराम खड्का छन्।

मिर्गौला प्रत्यारोपणमा वीर अस्पतालका युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठको टिम संलग्न थियो। दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएपछि प्रत्यारोपणमा संलग्न युरोसर्जन डा.अनिल र डा.पारसमणि युरो सर्जरी विभागलाई समेत थाहा नदिइ हिँडेको अस्पताल स्रोतले उकेरालाई जानकारी दिइसकेको छ।

अस्पतालले उनीहरूलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि नबढाउँदा घटना प्रभावित हुनसक्ने एक चिकित्सकले बताउँछन्। मिर्गौला प्रत्यारोपण असफल भएपछि बिरामीका आफन्तले अस्पताल प्रशासनमा खबर गरेका थिए। त्यस विषयमा जानकारीका लागि अस्पताल प्रशासनले घटना भएकै दिन अस्पताल आउन अनुरोध गरे पनि दुई डाक्टरले इन्कार गर्दै त्यो दिन अस्पताल गएनन्।

प्रत्यारोपणका लागि अयोग्य मिर्गौला बायोप्सीका लागि ह्याम्स अस्पतालमा पठाइएको थियो। झिकिएको संवेदनशील मानव अंग बायोप्सीका लागि पठाउँदा समेत लापरबाही देखिएको छ। बिहीबार अस्पतालमा भएको छलफलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच तीनबुँदे सहमति भएको दुवै पक्षले जानकारी दिएका छन्। अस्पतालले बिरामी पक्षलाई थामथुम पार्दै सहमति गराएको देखिएको छ।

पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने र मन्त्रालयले वीर अस्पतालको छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ। तर, शल्यक्रियामा संलग्न टिमलाई निलम्बन समेत नगरी छानबिन गर्दा घटना प्रभावित हुन सक्ने प्रश्न उब्जिएको छ।

यस्तै, वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लागेको उपचार खर्चको बिलभर्पाइ प्राप्त भएको खण्डमा अस्पतालले अहिलेसम्मको र अब लाग्ने उपचारको पनि सोधभर्ना दिनेछ। सहमतिअनुसार आगामी दिनमा वीर अस्पतालमा बिरामीको मिर्गौलासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने सहमति भएको अस्पतालका उप–सचिव मिश्रले जानकारी दिएका छन्।

६ कात्तिक, २०७९, २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।