प्रभावशाली नेता जन्माउन नसकेको काठमाडौं–३, अवैध उत्खनन्का मतियार नै प्रमुख प्रतिस्पर्धी!

प्रभावशाली नेता जन्माउन नसकेको काठमाडौं–३, अवैध उत्खनन्का मतियार नै प्रमुख प्रतिस्पर्धी!

काठमाडौं : काठ क्षेत्रको मुख्य भाग पर्छ काठमाडौं क्षेत्र नम्बर ३ मा। काठमाडौंका रैथाने मतदाता रहेको यस क्षेत्रमा स्थापित नेता भने निस्कन सकेका छैनन्।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ नम्बर वडा र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्म पर्छ यस क्षेत्रमा।

जहाँ प्रदेश ‘क’ मा काठमाडौं महानगरको वडा नम्बर ६, गोकर्णेश्वर नगरको ५ र ९ नम्बर वडा पर्छ भने प्रदेश ‘ख’ मा गोकर्णेश्वर नगरका १–४ र ६–८ वडा पर्छन्। यही क्षेत्रमा कागेश्वरी मनोहरा नगरको १, २ र ४ नम्बर वडा पनि पर्छन्।

५७ हजार ५ सय ५ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसको तर्फबाट सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राईबीच प्रतिनिधि सभाका लागि मुख्य प्रतिस्पर्धा हुँदैछ। यद्यपि माओवादी केन्द्रका बद्री प्रसाद बजगाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्री लगायत २४ जनाको उम्मेदवारी परेको छ यहाँ।

२०७४ को निर्वाचनमा ४५ सय बढी मतान्तरसहित एमालेले जितेको यो क्षेत्रमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भने कांग्रेस बलियो देखिएको छ। गठबन्धन नगरी कांग्रेस एक्लै गए पनि यो क्षेत्रमा एमालेका उम्मेदवारले विजयी हुन कठिन देखिन्छ। गठबन्धन भए यो क्षेत्रबाट गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्ने अवस्था छ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्।

वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिमाण हेर्दा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६ माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४, एकीकृत समाजवादीको १० मत देखिन्छ। स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरमा कांग्रेसका दीपककुमार रिसाल विजयी भएका थिए।

नेता जन्माउन नसकेको क्षेत्र 
काठमाडौैं क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्व–महामन्त्री प्रकाशमान सिंह नेता छन्। १४औं महाधिवेशनमा कांग्रेस पार्टी सभापतिको उम्मेदवार भइसकेका उनी पटक–पटक मन्त्री र उप–प्रधानमन्त्री भइसके।

काठमाडौं–२ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जित हासिल गर्दै आइरहेका थिए। त्यस्तै क्षेत्र नम्बर ४ मा कांग्रेसका महामन्त्री गगन कुमार थापाले लगातार दुईपटक प्रत्यक्षतर्फ चुनाव जितेका छन्। पूर्व स्वास्थ्य मन्त्री समेत रहेका उनी नेपाली राजनीतिमा चर्चित र लोकप्रिय नेता मानिन्छन्।

काठमाडौं–५ ले जन्माएको नेता हो, नरहरी आचार्य। दुई पटक संविधान सभाको चुनाव विजयी उनी बौद्धिक र पटक–पटक मन्त्री भएका नेता हुन्। आचार्य मतिस्कघातले थला परेपछि यो क्षेत्रमा एमालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अघिल्लो चुनावमा जतेका थिए। एमाले राजनीतिमा प्रभावशाली पकड राख्ने पोखरेल उपप्रधानमन्त्री भइसकेका हुन्।

काठमाडौं–८ ले जन्माएको नेता थियो कांग्रेसका स्वर्गीय नवीन्द्रराज जोशी। काठमाडौं महानगरपालिकाको उपमेयर र मन्त्री भएका उनी कांग्रेसको प्रभावशाली नेता मानिन्थे। त्यस्तै काडमाडौं–९ का नेता कृष्णगोपाल श्रेष्ठ पनि यसपटक शिक्षामन्त्री भएका हुन्।
काठमाडौं–३ ले भने नेता जन्माउन सकेको देखिँदैन। यस क्षेत्रबाट विजयी भएका नेताहरूले न सदनमा प्रभावकारी प्रस्तुति राख्न सकेका छन् न त पार्टीभित्रै उनीरूको पकड देखिन्छ।

अवैध उत्खनन्को मतियार नै प्रमुख प्रतिस्पर्धी!
काठ क्षेत्र भएकाले यहाँ बालुवा गिट्टी उत्खननमा जनप्रतिनिधिको चासो रहन्छ नै। गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर तथा अहिलेका कांग्रेस उम्मेदवार सन्तोष चालिसे अवैध उत्खननको मतियार रहेको आरोप लागेको थियो।

संघिय मामिला मन्त्रालयले उत्कृष्ट १० मा ८ नम्बरमा राखेको गोकर्णेश्वर नगरपालिकामा विवादास्पद काम नभएका होइनन्। तत्कालीन मेयर प्रमुख सन्तोष चालिसेको मिलमतोमा अवैध बालुवाखानी सञ्चालनमा रहेको खुलेको थियो। विद्यालय गइरहेका चार र आठ वर्षका २ बालिकालाई किचेर मार्न संलग्न देखिएको टिपर सञ्चालक कम्पनी र बालुवा खानी अवैध रहेको पुष्टि यसअघि नै भइसकेको छ।

उकेराको खोजमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को खड्का गाउँमा घर बनाउन जग्गा सम्म्याउने बहानामा अनुमति लिएर अवैध रूपमा बालुवा निकाल्ने र नजिकै अवैध प्रशोधन केन्द्र खोलेर बालुवा बेच्ने गरेको खुलेको थियो। जय सुन्दरीमाई बालुवा प्रशोधन उद्योग प्रालि २०७२ सालदेखि नै सञ्चालनमा रहेको देखियो। तर, उसले अनुमति नलिए पनि स्थानीय निकाय र प्रहरीले बन्द गराउन प्रयास गरेको देखिएको थिएन।

गोकर्णेश्वर नगरपालिका तत्कालीन प्रमुख चालिसे, तत्कालीन उप–प्रमुख शान्ता नेपाल, वडा नम्बर १ का अध्यक्ष मानन्धर र वडा नम्बर १ कै वडा सदस्य राजेन्द्रकुमार रोक्का समेतको संरक्षणमा प्रशोधन प्रालि चलिरहेको देखियो। जानकार स्रोतका अनुसार खानीबाट अवैध रूपमा निकालिएको बालुवा प्रशोधन गरेर बिक्री गर्दा आउने १५ हजारमध्ये प्रतिटिप ५ सय स्थानीय जनप्रतिनिधिका लागि छुट्टाउने गरिएको भेटिएको थियो।

२ कात्तिक, २०७९, १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।