लाल हत्या अनुसन्धानको उपलब्धि तीन सहयोगी पक्राउमै सीमित, न कारण खुल्यो न योजनाकार

लाल हत्या अनुसन्धानको उपलब्धि तीन सहयोगी पक्राउमै सीमित, न कारण खुल्यो न योजनाकार

काठमाडौं : गोठाटारमा लाल मोहम्मद दर्जी मारिएको एक महिना टेक्न लाग्यो। तर प्रहरीले सामान्य तीन सहयोगी पक्राउ बाहेक थप उपलब्धि पाएको छैन अनुसन्धानमा।

आफ्नै घर अगाडि मारिएका मोहम्मदको हत्यामा हतियार ल्याएको र सूचना सङ्कलन गरेको आरोपमा प्रहरीले  गत १४ असोजमा पर्साको वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र १९ वर्षीय रेहान मियाँ तथा मकवानपुरको बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये महोरम र रेहानविरुद्ध १५ र सुस्मिताविरुद्ध १६ दिनको म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार म्याद थप गरेको छ।

यीमध्ये रेहान र महोरमले वीरगन्जबाट काठमाडौंसम्म हतियार ल्याएर दिएको र सुस्मिताले मोहम्मदको निगरानी राखेको आरोप छ।

हत्या योजना निर्माण, सुटर र मुख्य सहयोगी अझै पक्राउ परेका छैनन्। लालको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ स्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि गोली प्रहार गरी हत्या भएको थियो।

सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय मोहम्मदलाई मोटरसाइकलमा आएका अपरिचितले लखेटी–लखेटी गोली हानेका थिए।

जाली भारतीय रुपैयाँको कारोबारमा जोडिएका उनको हत्याका लागि नजिकैको गेस्ट हाउसमा सुटर र सहयोगी बसेको खुलिसकेको छ। तर प्रहरीले फेला पार्न सकेको छैन।

मोहम्मद बलराम पटुवाको हत्यामा दोषी ठहरिएर ९ वर्ष जेल परेर रिहा भएका थिए। उनी भारतीय खुफिया एजेन्सीको लिस्टमा रहेका व्यक्ति थिए।

१ कात्तिक, २०७९, ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।