अविरल वर्षापछिकाे बाढीमा परेर लुम्बिनीमा चार जनाकाे मृत्यु, दुई बेपत्ता

अविरल वर्षापछिकाे बाढीमा परेर लुम्बिनीमा चार जनाकाे मृत्यु, दुई बेपत्ता

बुटवल : दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार दाङमा दुई तथा गुल्मी र अर्घाखाँचीमा एक–एक जनाको मृत्यु भएको हो। यस्तै, दाङ र प्युठानमा एक–एक जना बेपत्ता भएका हुन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरका ४८ बर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ।

त्यसैगरी घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ बर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डबुेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीले बताए।

त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाँचीकोट किटेनीका १० वर्षीय समिर पौडेलको फज्र्याङ खोलाले बगाउँदा मृत्यु भएको हो।

त्यस्तै, गुल्मी धुर्कोट गाउँपालिका–५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीय लक्ष्मी केसीको मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताए।

बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका–१० का ५४ वर्षीय कल्लु चौधरी र प्युठानको ऐरावती गाउँपालिका–५ झिवाङका ५ वर्षीय सुशान केसी छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए।

२० असोज, २०७९, १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।