बडादशैंकाे चहलपहल : गाउँ भरिँदै, शहर रित्तिँदै

बडादशैंकाे चहलपहल : गाउँ भरिँदै, शहर रित्तिँदै

पोखरा : बडादशैंको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा केही दिनयता निकै चहलपहल बढेको छ। दशैं मनाउन घर जानेहरूको लर्को र किनमेल गर्नेको घुइँचोले शहर रित्तिँदै गएको छ भने गाउँ भरिँदै छन्।

विगतका वर्षहरूमा कोभिड–१९ को संक्रमणका कारण भेट गर्न नपाएकाहरू पनि यस वर्ष भेट्ने आशाका साथ गाउँ फर्कँदै छन्। शहरबाट मात्र नभएर विदेशबाट समेत गाउँ फर्कँदा गाउँको रौनक नै बदलिएको छ।

मजदुरी, रोजगारी र अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किएका छन्। गाउँ फर्कने क्रम बढेसँगै सुनसान ग्रामीण बस्तीमा खुसीयाली छाएको छ। फुलपातीसम्म पुग्न नभ्याउनेहरू टीकाको दिनसम्म भए पनि  घर पुग्ने तयारीमा छन्।

गाउँघरका बस्तीहरू रंगरोगन र माटोले लिपेर चिटिक्क पारिएका छन्। टोल–टोलमा बनाइएका लिङ्गे पिङमा बालबालिकादेखि युवायुवतीको तछाडमछाड छ।

दशैंको समयमा व्यापार बढेकाले व्यवसायी पनि खुसी छन् भने टाढा रहेका सन्तान र आफन्त घर आउँदा घरमा रहेकाहरूको मुहारमा पनि रमेका छन्।

रोजगारीका लागि गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दशैं–तिहारजस्ता चाडबाडले परिवारका सदस्यबीच जमघट गराउने भएकाले पनि आफूलाई एकदमै खुसी लाग्ने कास्कीको अन्नपूर्ण गाउँपालिका नाउडाँडाका दिनेश थापा बताउँछन्।

‘अहिले गाउँघरमा बुढापाकाबाहेक कोही छैनन्, उनीहरू दशैंसँगै छोराछोरीको बाटो हेरिरहेका हुन्छन्,’ उनले भने, ‘शहरदेखि विदेशसम्म पुगेकाहरू गाउँ फर्किने भएकाले पनि गाउँघरमा दशैंको रौनक बढेको छ।’

चाडबाडकै लागि भनेर यातायात व्यवसायीले पनि गाउँ–गाउँ जाने यातायातको व्यवस्था मिलाएका छन्। बसको संख्या थपेका छन् भने मुख्य–मुख्य शहरमा मात्र चल्ने बस यात्रु बोकेर गाउँ–गाउँसम्म पुगेका छन्।

दशैं मनाउनका लागि भारतको नयाँदिल्लीबाट ठूलो संख्यामा यात्रु नेपाल भित्रिएको पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको सृष्टि यातायात प्रालिका सञ्चालक कृष्ण पौडेलले बताए।

‘दशैं मनाउन भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा नेपाली देश भित्रिएका छन्,’ उनले भने, ‘एक महिनाअघिदेखि नै नेपाल आउने नेपालीको चाप बढेको थियो।’

दैनिक ५/६ सय संख्यामा बस सञ्चालन गरिरहेको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले दशैंका लागि पर्याप्त गाडी थपेको प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए।

घटस्थापना सुरु भएदेनि नै व्यवसाय र रोजगारीका लागि पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रूपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ लगायतका जिल्लामा फर्कने क्रम बढिरहेको छ।

१६ असोज, २०७९, १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।