मञ्चमा डा लोहनी र चन्दा बाकस राखेर मिश्रले गरे उम्मेदवारी घोषणा

मञ्चमा डा लोहनी र चन्दा बाकस राखेर मिश्रले गरे उम्मेदवारी घोषणा

काठमाडौँ : पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनी उपस्थित नभएपछि रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्षसहित राप्रपामा ल्याउने निर्णयबाट उनी असन्तुष्ट रहेको आशङ्का गरियो।

कार्यक्रममा पशुपति शमशेर राणा अनि बुद्धिमान तामाङ उपस्थित भए पनि लोहनी भने थिएनन्। लोहनी असन्तुष्ट रहेको चर्चा चलेपछि शुक्रवार मिश्रले उनलाई आफूसँगै मञ्चमा राखेर काठमाडौँ क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बन्ने घोषणा गरे।

मिश्रले मञ्चको एक छेउमा चन्दा बाकस समेत राखेर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उम्मेदवार बनेका थिए। मिश्रले त्यो बेला १० हजार १ सय १८ मत पाएर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

सिंहले १० हजार ९ सय ३६ मत पाएका थिए। पाँच दलीय गठबन्धनमा काठमाडौँ-१ कांग्रेसको भागमा परेको छ। यो पटक पनि सो क्षेत्रमा गठबन्धनको तर्फबाट सिंह नै उम्मेदवार बन्ने तयारीमा छन्।

राप्रपाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्न गृहकार्य गरिरहेको छ। यदि तालमेल भएमा यस पटकको निर्वाचनमा पनि मिश्र र सिंहबिच चुनावी प्रतिस्पर्धा हुनेछ।

१४ असोज, २०७९, १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।