पुर्जी जारी भएको एक महिनामा पनि पक्राउ परेनन् बैजु, अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरीका चाङ

पुर्जी जारी भएको एक महिनामा पनि पक्राउ परेनन् बैजु, अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरीका चाङ

बुटवलः पक्राउ पुर्जी जारी भएको एक महिना भइसक्दा पनि नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता अझै पक्राउ परेका छैनन्।

आफ्ना साझेदारलाई दिनुपर्ने एक करोड रकम हडप्ने योजना साथ लागुऔषध मुद्दामा दुई भारतिय नागरिकलाई फसाएको आरोप लागेपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

गुप्ताको योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो।

तर, प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए।

त्यसपछि भने गुप्ता विरुद्धनै पक्राउ पुर्जी जारी भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट गुप्तालाई प्रहरीले राजनीतिक आडमा पक्राउ गर्न चासो नदिएको रामा गुप्ता परिवारको आरोप छ।

गुप्ताले राजनीतिक पहुँच र सत्ताको आडमा मुद्दालाई कमजोर बनाउन लागेको आरोपसमेत उनीमाथि छ। आफू उम्किन आर्थिक चलखेल गरेको परिवारको दावी छ। राजनितीक आँडमा गुप्ताले मुद्दालाई कमजोर बनाउन सरकारी वकिललाई सरुवा गराउनेदेखि बयान फेर्न आर्थिक प्रलोभन समेत गुप्ताले देखाउन थालेका छन्।

प्रहरीले पक्राउ गरेको गुप्ताका सहयोगी रघुनाथ धोवीलाई बयान फेर्न लगाएर आफू उम्कने प्रपञ्चमा गुप्ता लागेका छन्। प्रहरीले रघुनाथ धोवी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। घटनामा मुछिएका पाण्डे मलेशिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन्।

सरकारी वकिल कार्यालय नवलपरासीका तत्कालीन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिइएको बताए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले गुप्ताको खोजी कार्य भइरहेको बताए।

यता नवलपरासी पश्चिममा राजनीतिक दलहरूले पनि गुप्ताले योजना अनुसार भारतिय नागकिरलाई लागुऔषधको मुद्दामा फसाएको भन्दै गुप्ता र उनका सहयोगी रघुनाथ धोवीको पोलिग्राभ टेष्ट गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रहरीको भूमिका समेत शंकास्पद रहेकाले तत्कालिन जिल्ला प्रहरी प्रमुख क्रृषिराम कंडेल, गाउँपालिका अध्यक्ष गुप्ताको फोन संवाद निकाली छानविन गर्नुपर्ने जसपाका जिल्ला नेता धरेन्द्र यादवको माग छ।

बैजुप्रसाद गुप्ता कवाड कारोबारी भएपछि भारतिय नागरिक रामा गुप्ताले उनीसँग १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए। पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो। सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरूलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ।

गुप्ता विरुद्ध दर्जन बढि उजुरी
यता गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचार सम्बन्धी दर्जन बढि उजुरी परेको छ। स्थानीय तहको पहिलो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनी विरुद्ध आयोग र सम्पत्ती सुद्धिकरण विभागमा उजुरी परेका हुन्।

अख्तियारमा परेका उजुरीमा गुप्ताको आम्दानीको स्रोतमाथि छानबिन गर्न माग गरिएको छ। अख्तियार स्रोतका अनुसार गुप्ताले कतिपय स्थानमा श्रीमती शारदा आचार्यका नाममा घर, जग्गा राखेकाले उनीमाथि पनि सम्पत्ति छानबिनका लागि निवदेन परेको छ। गुप्ताका सुनवल, बुटवल, अर्घाखाँची लगाएका स्थानमा घर र जग्गा छन्।

श्रीमती आचार्यका नाममा मात्र सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा आलिशान भवन बनाएका छन्।

यस्तै, गुप्ताले गाउँपालिका भवनको दक्षिणतर्फ साँधमा जितबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको ५ कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा बंशराज तेलीको नाममा पास गराएका छन्। पाल्हिनन्दन–३ मा पनि ३ तले घर र वडा नं ४ मा ४ कठ्ठामा २ तले घर र गोदाम बनाएका छन्। 

पालिका अध्यक्षमा निर्वाचित भएपछि यसरी अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिएकाले छानबिन गरी अकुत सम्पत्ति जफत गर्न उजुरीमा माग गरिएको अख्तियारले जनाएको छ। उजुरीमा गाउँपालिकाको कार्यालय परिसरभित्र ४ इन्चको बोरिङ जडानका लागि १० लाख रूपैयाँ विनियोजनमा लागत इस्टिमेट बढाएको र रकम हिनाविना गरेको उल्लेख छ।

यस्तै, वडा नम्बर ६ लङगडिपाकड नहरदेखि पश्चिम कुलो हुँदै माटो पुरी ग्राभेल गर्ने कार्यमा रकम हिनामिना गरेको, मागको आधारमा विभिन्न व्यवसाय गर्नेलाई नगद अनुदान दिन १० लाख विनियोजन भएमोमा कुनै पनि व्यक्तिलाई नदिइ रकम हिनाविना गरेको विषय पनि उजुरीमा समेटिएको छ।

त्यसैगरी गाउँपालिकाको कार्यालयमा भएको डिजिटल बोर्डका आकार वृद्धि गर्न पाँच लाख रूपैयाँ विनियोजन भएकोमा कागजमा मात्र सीमित रहि अनियमितता भएकाले छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ।

७ असोज, २०७९, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।