नेपालगन्जतिर बरालिँदा

नेपालगन्जतिर बरालिँदा

तीन दिनदेखि मोटरमा दौडिदा–दौडिदा हरेक क्षण मोटरको झ्यालमा बदलिरहने दृश्यको बानी परिसकेछ। टक्क अडिएर हेरिरहँदा पनि अहिलेको दृश्य अर्को क्षण फ्याट्टै छुटिजाला भन्ने लाग्ने। नयाँ पुराना घरहरू, बिच–बिचमा काटिनबाट जोगिएका रुखहरू, सडकमा कुकुर, साँढे, गधा, घरका छतहरूमा उफ्रिँदै, चहार्दै हिँडेका बाँदरहरू, अझ माथि–माथि काग, परेवा, गिद्ध, सडकमा साइकलको घण्टी, अटो, बाइक र फ्याट्ट–फुट्ट मोटरको आवाजले क्रमशः गतिशील बन्दै गइरहेको छ नेपालगन्जको धम्बोजी चोकको बिहानी।

केही पर खेत र अझै पर जङ्गल पनि देखिन्छ। अहिलेको दृश्यमा ब्याकग्राउण्ड म्युजिक जस्तो। ब्याकग्राउण्ड म्युजिक हुनुको अर्थ छ पनि, छैन पनि।

बिहान सबेरै मस्जिदको लाउड स्पिकरबाट आएको अजानको आवाजले मलाइ बिउँझाएको थियो। राम्रो क्वालिटीको स्पिकर भएको भए अजानको आवाजमा माधुर्य थपिन्थ्यो होला। आवाजले मलाई ब्युँझाइदियो, अहिलेको लागि उसको काम सकियो।

मध्य बजारमा, कङक्रिट घरहरूका बिचमा रहेको मुगल शैलीको मस्जिदले नेपालगन्जको चरित्रलाई विशेष बनाएको छ। घरको छानामा कतै टेलिफोनको टावर छ। ठाउँ–ठाउँमा होर्डिगं र्बोडहरु छन्। एउटा छतमा एक जना मानिस व्यायाम गर्दैछ। छेवैको छतबाट उसको छिमेकी फोहोरको पोको हुत्याउदैछ।

सडकमा कोही झाडु लगाउदैछ, कोही फोहोर बटुल्दैछ। गतिशील यात्राको क्रममा मैले पाएको यो स्थिर क्षण हो। यो स्थिर क्षणमा होटलको झ्यालबाट देखिएको शहरको गतिशील चरित्रलाई म आत्मसात् गर्न खोज्दैछु। कोही पनि अनियमित देखिँदैन। असङ्गतिहरूको बिचमा पनि सबै व्यवस्थित देखिन्छन्। सबैले आ–आफ्नो लय समातेका छन्। म पनि आफ्नो बिहानीको लय समात्न खोज्दैछु मेरो कफीको सिपसँगै।

मैले आफैले बनाएको यात्राको एउटा नियम छ। साधन र समयले भ्याएसम्म एउटा रेस्टुरेन्टमा दोहोर्याएर नजाने। दुई वटा अवस्थामा यो नियमको उल्लङ्घन हुन सक्छ। एक, आफूले भनेभने जस्तो पकाइदिने भान्छे पाएमा। दुई, कतै एउटा गतिलो रेस्टुरेन्ट भेट्टाइहालेमा। व्यस्त र भरिभराउ नेपालगन्ज बजारमा यी दुवै अवस्था सम्भव थिएन। यही बहानामा शहरमा बरालिन त पाइयो। ब्रेकफास्टको समयमा कफी-ब्रेककै लागि यहाँका क्याफेहरू भरिभराउ भएको देख्दा लाग्यो यहाँ कफी-कल्चर रहरलाग्दो गरी फैलिएको हुनुपर्छ।

समय यसै बरालियो, उसै बरालियो। जम्मा चार किलोमिटरको दूरीमा त रहेछ रुपैडिया बजार। हेरौँ न त कस्तो भएछ बजार भन्ने पनि लाग्यो। सन १९९६ तिर होला, यही धम्बोजी चोकबाट टाँगामा चढेर म सीमापारि रुपैडिया बजार पुगेको थिए। अहिले सन् २०२२ मा धम्बोजी चोकको टाँगालाई टेम्पोले विस्थापित गरिसकेको छ। बोर्डरसम्म त जेमा गए पनि हुने। बोर्डर वार-पार गर्न भने कि हिँड्नुपर्ने रहेछ, कि पाइडलवाला रिक्सा चढ्नुपर्दो रहेछ। एउटा रिक्सावालाले भन्यो 'एक सय रुपियाँमा रुपैडिया बजार घुमाएर फेरी बोर्डरमै ल्याएर छोडिदिन्छु।'

रिक्सामा चढेर चेकिगं प्वाइन्टमा पुग्नै लाग्दा रिक्सावालाले सीमापारि जान लाम बसेका महिलाहरूतिर देखाउँदै भन्यो, ‘तपाइ त्यो लाइनबाट जानुस्। म अर्को छेउबाट गएर अगाडि पर्खिन्छु।’

आफ्नो नागरिकताको प्रमाणपत्र हातमा लिएर म महिलाहरूको लाइनमा लागे। कोही झोला, पोका बोकेका, कोही टाउकोमा साडीको आँचल राखेका, कोही कालो बुर्का लगाएका महिलाहरू मेरो अगाडि थिए।  किन चेकिङमा समय लगाएको होला भनेर अगाडिको गल्यांग्मल्यांग्लाई यसो ध्यान दिएर सुनेको त मेरो अघिल्तिरको महिलाले मेरो पछिल्तिरको महिलालाई बेस्सरी गाली गर्दै रहिछ।

‘त्यो कार्ड चाहिन्छ भनेर मलाइ किन नभनेको ? अब कसरी जाने पारी?’पछिल्तिरको महिला छक्क परेर अघिल्तिरको महिलालाई हेर्दै थिइन्। अब उनीहरूले के गर्लान्? कौतूहल भयो मलाई। एक छिन त्यही उभिएर ती रमणीहरुको गतिविधि हेर्न मन लागेको थियो। तर, लाइनमा आफ्नो पालो आएपछि अघि बढ्नु परिहाल्यो।

सीमा पार गरेर रिक्सामा बसेपछि मैले रिक्सावालालाई सोधे, ‘घर कहाँ हो तिम्रो?’

उसले नेपालतिर देखाउँदै फ्याट्ट हिन्दीमा जवाफ दियो ‘खजुरा।’ सीमा वारिसम्म त नेपालीमा बोल्दै थियो। पारी आउने बित्तिकै हिन्दीमा बोल्न थाल्यो। म मनमनै हाँसे।

कुरैकुरामा मैले सोधे, ‘नेपाली सय रुपियाँ लिन्छौ कि भारु ?’

उसले तुरुन्तै जवाफ दियो, ‘भारु ।’

म एक छिन छक्क परे। एक छिनपछि आफ्नो मूर्खता बुझेर मनमनै हाँसे। खासमा म सँग भारु थिएन। रुपैडियामा भारतीयहरू आफू–आफूमा पनि नेरु मै लेनदेन गर्छन् भन्ने कुरा पनि मलाई थाहा थिएन।

रुपैडिया बजार डुल्दै जाँदा पो थाहा पाएँ, पसलहरूमा कामदार देखि साहूकारसम्म सबै नेपाली बोल्दै थिए। सामानहरूमा जम्मै मूल्य नेरुमा टाँसेको थियो। एउटा पसलेले मलाइ ६० रुपैयाँ छूट दियो सामानमा।

मैले मोलमोलाइ गर्दै भने, ‘साठी रुपियाँले त मेरो रिक्सा भाडा पनि पुग्दैन।’

उसले केही गम्भीर भएर भन्यो, ‘चालिस रुपियाँमा एउटा रिक्सामा दुई जना आउने, अर्को चालिस रुपियाँमा दुई जना फर्कने। तपाइलाई चालिस रुपियाँमा आउने–जाने पुगिहाल्छ नि।’

मैले फेरी सोधे, ‘नेरु ४० ?’

उसले भन्यो, ‘हो, नेरु ४०। यहाँ त सबै नेरु नै चल्छ। तपाइलाई भारु भन्यो? पुलिसमा खबर गरिदिनुस्।’

पाएको ६० रुपियाँ छुटमा चित्त बुझाएर म पसलबाट निस्के।

बाहिर आउँछु त रिक्सा छैन। तीन–चार वटा खाली रिक्साहरू ग्वार्र आएर भन्छन्, ‘आपका रिक्सा भाग गया। भाग गया। आओ इसमे बैठो।’

साँचै वरिपरि कतै देख्दिन त आफू चढेर आएको रिक्सा ! रिक्सावालाहरू फेरी कराउन थाले, ‘सच मे आपका रिक्सा भाग गया। मैने देखा।’

तिनीहरू कराएको सुनेर मलाइ झर्को लाग्यो। मैले भने, ‘वह कैसे भागेगा? मैने पैसे ही नही दिए है उसको। भागना तो मुझे चाहिए। वो क्यु भागेगा?’

म बोल्दै थिएँ मेरो रिक्सावाला देखा पर्यो। उ मसँग रिसाउँदै थियो।

ऊ भन्दै थियो, ‘तपाईँ कहाँ गएको यत्तिका बेर? अब त पैसा थपिदिनु पर्छ।’

मैले भने,‘थपिदिएकै छु त। एउटा रिक्सामा दुइटा सवारीको आते–जाते भाडाको रेट नेरु अस्सी रैछ। मैले तिमीलाई एउटा सवारीको नेरु एकसय ६० दिन्छु भनेकै छु। तिमी फाइदामै छौ नि।’

उसले चित्त बुझाएन। भन्दै थियो, ‘यत्तिका बेरमा त मैले अर्को एउटा टिप लिन भ्याउँथे।’

मैले भने, ‘टिप लिनुको साटो मलाइ पर्खँदै आराम गरेर बसेको पैसा पाउँछौ नि तिमीले।’

उसले ओठे जवाफ दियो,‘हामी मेहनत गरेर खाने मान्छे हो। आराम गरेर खाने मान्छे होइन।’

उसको कुरामा तर्क थिएन तर दम थियो। मैले ओर्लने बेलामा दश रुपियाँ थपिदिए।

नेपालगजंतिर आउँदै गर्दा सीमा वरिपरि देखिएका र भेटिएका पात्रहरू मेरो मस्तिष्कमा सलबलाउन थाले। नेपालीहरूले नेपाल-भारत सम्बन्धको बहसलाई ‘रोटी–बेटी’ मा लगेर टुङ्ग्याएकोमा एकदमै खल्लो लाग्यो, सिनेमाको कास्टिगं सकिन नपाउँदै ‘दि एन्ड’ आए जस्तो।

‘रोटी–बेटी’ त कथाको सुरुवात हो। सीमावर्ती क्षेत्रमा बस्नेहरूको कथा राज्यको कानुन र कथन भन्दा पृथक् हुन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यमा सीमाका हरेक कथाको राजनीतिक प्रस्तुतीकरण भए पनि कथाका यी पात्रहरूको संसार बेग्लै हुन्छ र, आफ्नै हुन्छ। यी पात्रहरूको जीवनशैलीमा नागरिकताको प्रमाणपत्र र रासन कार्ड मात्र औपचारिक परिचय हुनसक्छ। यिनका व्यथा बुझ्न त यिनका कथा सुन्नुपर्छ, यिनका पीडा महसुस गर्न सक्नुपर्छ।

यी पात्रहरूको सम्पूर्ण अस्तित्वलाई एउटा परिचयपत्रमा सीमित राख्न खोज्ने राज्य संवेदनशील होइन। यो त सोझै अमानवीय व्यवहार हो।

फेरी लागौँ, नेपालगंजतिरै। नेपालगन्ज शहरको इतिहास होला। त्यो अवश्य छ। भौगोलिक विशेषता होला। त्यो त झन् टड्कारो छ। राजनीति होला। त्यो पनि छ। मौलिक जीवनशैली छ। तर, त्यो जीवनशैलीले धान्नु परेको जटिल अवस्था अवश्यम्भावी छ।

नेपालगन्ज लखनउका नवाब शासकहरूको प्रभावमा हुर्किएको शहर हो। उर्दूमा गन्जको अर्थ हुन्छ बजार, बस्ती। यो शहरको इतिहास निकै रोचक छ। पश्चिम र सुदूरपश्चिम नेपाली भूभागका जडीबुटी, अन्नपात र अन्य उत्पादनहरूको सङ्कलन र व्यापार केन्द्र नेपालगन्ज सहर हुने गर्थ्यो।

यो भेगका धनाढ्यहरूको उपभोगका लागि विलासका बस्तुहरू लखनउबाट नेपालगन्ज भित्रिने गर्थ्यो। नेपालगन्ज शहरका भित्री बजारहरूमा सडक बिस्तारबाट जोगिएका पुराना घर र पसलहरूले मलाइ कता–कता पुरानो दिल्लीको चाँदनी चोक, गालिबको हवेली भएको बल्लिमाराँ गल्लीहरूको झझल्को दिइरहेको थियो।

ती पसलहरूमा सजाइएका अधिकांश सामान चिनियाँ थिए। हुन त अचेल बल्लिमाराँ गल्लीमा पाइने जुत्ता–मोजा देखि अण्डरगारमेंट सम्मका अधिकांश सामान पनि चिनियाँ नै हुन्छन्। यसलाई बजारको विश्वव्यापीकरण प्रभाव भन्ने कि आर्थिक साम्राज्यको बिस्तार? धन्न, नेपालगन्जको पुरानो बजारमा पाइने मुगल शैलीमा तयार पारिएको बिरयानीको स्वाद र सुगन्धले मेरो कल्पनाको मुगलमय कडीलाई जोगाइदियो : उही सुगन्ध, उही रङ्ग, उही मसला, उही स्वाद।

स्वादले पारिवारिक माधुर्यदेखि कूटनीतिक सम्बन्ध, संस्कृति र सभ्यतालाई जोगाउँदै गर्ला। अहिलेको लागि भने बिरयानीको स्वादले मेरो मस्तिष्कलाई साँच्चै नै चलायमान बनाइदियो। बिरयानीको स्वाद पछ्याउँदै म धेरै शहरका सडकहरूमा भौँतारिएको छु।

यो शहरमा भित्रिरहँदा यहाँका एक पछि अर्को चोकका नामहरूले मलाइ उत्सुक बनाएको थियो : पुष्पलाल चोक, धम्बोजी चोक, बिपी चोक, गणेशमान चोक, त्रिभुवन चोक। कुनै बेला वीरेन्द्र चोकका रूपमा चिनिन्थ्यो धम्वोजी चोक। पहिलो मधेस आन्दोलनपछि त्रिभुवन चोकको नाम परिवर्तन गरियो- कमल मधेसी चोक।

हालै सम्पन्न स्थानीय चुनाव अघि यो चोकलाई फेरी त्रिभुवन चोक बनाइएको थियो रे। त्यस यता त्यहाँबाट त्रिभुवनको सालिक हटाउन विभिन्न दबाब दिइए पनि हटाइएको छैन। चोक अर्को पनि छ, ज्ञानेन्द्र चोक। यो चोकलाई विस्थापित गरेको छ ०६२-०६३ को मधेस र माओवादी आन्दोलनका महिला शहीद सेतु बिकको सुनामले।

व्यक्तिको नाममा सालिकको स्थापना र चोकको नामकरण किन गर्ने? यो छुट्टै चिन्तनको विषय हो। मेरो जिज्ञासा यति मात्रै हो : के यी सबै स्थापित, विस्थापित र पुनर्स्थापित चोक र सालिकहरू यो शहरले व्यग्रताका साथ खोजिरहेको राजनीतिक परिचयको खोजी त होइन?

नेपालगन्ज शहरको पहिचान र परिचय विभिन्न परिवर्तनसँगै प्रस्टिँदै गएका छन्। नेपालगन्ज शहरको आजको शान भनेको शहरलाई बिचबाट चिरेर गएको चार लेनको सुर्खेत सडक नै हो। नेपालगन्जबाट निस्कँदै गर्दा, मोटरको झ्यालबाट देखिएका दृश्यहरू फेरी बदलिई रहेका थिए।

मेरो मनमा तिनै प्रश्न फेरि आयो। यात्रामा चिन्तन गर्ने कि यात्राको चिन्तन गर्ने? यात्राको क्रममा सामान्यरुपले बारम्बार खेलिरहन्छ यो प्रश्न मेरो सोचमा। बिचारहरूको शैलाव, वाद-विवाद र अन्तरव्दन्व्दलाई सर्लक्क पन्छ्याउदै फेरी एक पटक मेरो मन-मस्तिष्क तर्क शून्य भयो। यसले फेरी एक पटक मलाइ सार्थक यात्राको अनुभूति भयो।

५ असोज, २०७९, २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।