लक्ड स्पेशिफिकेशन बनाएर अल्ट्रासाउन्ड किन्दै स्वास्थ्य सेवा विभाग, १० करोड बढी मूल्यमा म्याक्स मेडिटेकलाई ठेक्का

लक्ड स्पेशिफिकेशन बनाएर अल्ट्रासाउन्ड किन्दै स्वास्थ्य सेवा विभाग, १० करोड बढी मूल्यमा म्याक्स मेडिटेकलाई ठेक्का

काठमाडौँ : कम्तीमा १० करोड भन्दा बढी कमिसनको खेलमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ३० करोडको युएसजी (अल्ट्रासाउन्ड)को टेन्डर म्याक्स मेडिटेक प्रालिलाई  दिने गरी प्रक्रिया अगाडि बढाएको छ।

खरिदमा स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक (आइतबारपछि हाल वीरमा सरुवा गरिएका) डा. सर्वेश शर्मा र महाशाखाको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाको मिलेमतो देखिन्छ।

मिलेमतोमा म्याक्स मेडिटेकलाई दुई सयवटा पोर्टेबल युसएजीको टेन्डर पार्नेगरि खरिद प्रक्रिया अगाडि बढेको थियो। व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माको आइतबार वीर अस्पतालमा सरुवा हुनु अगाडि उनले म्याक्सको ३० करोडको प्रस्ताव स्वीकृत हुनेगरि निर्णय गरेको देखिन्छ।  

व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनी जिईको नेपाली सप्लायर्स (एजेन्ट) म्याक्स मेडिटेक सिस्टम प्रालिलाई छनोट गर्दै सोमबार (८, जनवरी, २०२४)मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरिसकेको छ।

अब अख्तियारप्राप्त निकायले खरिद प्रक्रिया नरोकेको खण्डमा म्याक्स मेडिटेकलाई युएसजीको टेन्डर पर्ने करिब निश्चित छ।

विभागको व्यवस्थापन महाशाखाले २०८० असोज तीन गते बुधबार (२० सेप्टेम्बर २०२३) मा दुई सय वटा पोर्टेबल युएसजी मेसिन (अल्ट्रसाउण्ड मेसिन) ३० करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो।

करिब २० करोडमा आउने युएसजी मेसिन १० करोडभन्दा बढी मूल्य तिरेर करिब ३० करोडमा किन्ने गरी विभागले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो। विभागले टेन्डर गरी लिन लागेको मेसिन उत्पादक कम्पनी जिइको एउटा युएसजी मेसिनको मूल्य सात लाखदेखि अधिकतम दश लाख पर्ने देखिन्छ।

तर, महाशाखाले एउटा युएसजीलाई करिब १५ लाखमा किन्न लागेको हो। यसरी हेर्दा महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको एउटा युएसजी मेसिनबाट कम्तीमा पनि पाँच लाखदेखि सात लाखसम्मको कमिसन पाउने गरी खरिदमा मिलेमतो भएको देखिन्छ।

‘जिइकै यो मोडलको युएसजी मेसिन बढीमा सात देखि दश लाखमा आउँछ, त्यो भन्दा बढी पर्दै पर्दैन,’एक विज्ञ बायोमेडिलक इन्जिनियरले उकेरासँग भने।

मेसिन उत्पादन कम्पनी जिइलाई टेन्डर पार्नेगरी म्याक्स मेडिटेक (म्याक्स मेडिटेक सिस्टम प्रा. लि.) सँग सेटिङ भएको विषय उकेराले यसअघि मंसिर २७ गतेको समाचारमा नै खुलासा गरिसकेको छ।

डा. सर्वेशले नै अल्ट्रासाउन्डको खरिद अन्तिम चरणमा पुर्याए

युएसजी मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याउन व्यवस्थापन महाशाखाबाट आइतबार हटाइएका निर्देशक डा. शर्माकै महत्त्वपूर्ण भूमिका देखिन्छ। डा. शर्माले नै जिइको मेसिन खरिदका लागि म्याक्स मेडिटेकलाई प्राविधिक मूल्याङ्कनको चरणमा छनोटको निर्णय गर्दै आर्थिक छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी निर्णय गरेका हुन्।

सरुवा हुने भएपछि उनले मिलेमतोमा अगाडि बढेको खरिद प्रक्रिया टुङ्ग्याएर हिँडेको देखियो। महाशाखाले सोमबार युएसजी मेसिन खरिदका लागि एक अङ्ग्रेजी दैनिक पत्रिकामा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ।

स्वास्थ्यमन्त्री बस्नेतले आइतबारै निर्णय गर्दै डा. शर्मालाई महाशाखाबाट हटाएर वीर अस्पतालमा सरुवा गरेका थिए। उता वीर अस्पतालमा उपनिर्देशकको रूपमा काम गरिरहेका डा. श्रवणकुमार थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ।

सोमबार दिउँसो मात्रै व्यवस्थापन महाशाखाको निर्देशकको पत्र बुझेर महाशाखा पुगेर हाजिर गरेर फर्किएको डा. थापाले जानकारी दिए। तर, उनी महाशाखामा पुग्नु अघि बिहानै म्याक्स मेडिटेकलाई युएजीको टेन्डर दिनेगरी पत्रिकामा आर्थिक प्रस्तावको सूचना जारी भइसकेको थियो।

यसरी हेर्दा सामान्यतः आर्थिक प्रस्ताव खोल्ने निर्णय गरेको १-२ दिनपछि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी हुन्छ।

सोमबार आर्थिक प्रस्तावको सूचना जारी हुनुले सरुवाको चर्चाकै बीच डा. शर्माले हतार हतार युएसजी मेसिन खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने निर्णयमा हस्ताक्षर गरेको देखिन्छ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. थापाले उकेरासँगको कुराकानीमा महाशाखामा गएर आफूले खरिदसम्बन्धी कुनै कागजातमा हस्ताक्षर नगरेको बताए। डा. थापाले युएसजीको आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी निर्णयमा सहभागी समेत नभएको बताए।

 ‘मैले त्यहाँ खरिद सुरु नै गरेको छैन। मलाई थाहा छैन त्यो। मैले केही पनि गरेको छैन,’डा. थापाले भने,‘मैले कामै सुरु गरेको छैन।’

यसबाट पनि डा. शर्माले नै जिइको नेपाली सप्लायर्स म्याक्स मेडिटेकलाई युएसजी खरिदको छनोटको लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी निर्णय गरेको देखिन्छ।

तर, व्यवस्थापन महाशाखा एक कर्मचारीका अनुसार मंगलबारसम्म डा. शर्मा नै महाशाखाको निर्देशकका रूपमा कार्यरत छन् र उनैले निर्णय गरिरहेका छन्।

‘अहिलेसम्म उहाँ (डा. शर्मा)नै हुनुहुन्छ,’व्यवस्थापन महाशाखाका एक कर्मचारीले उकेरासँगको कुराकानीका क्रममा मंगलबार भन्यो,‘आजको मितिसम्म जति निर्णय भएका छन्, सर्वेश डाक्टरसाप नै हुनुहुन्छ नि त।’

डा. थापाले महाशाखाको निर्देशकका रूपमा पदवहाली नै नगरेको व्यवस्थापन महाशाखाका एक कर्मचारीले जानकारी दिए।

‘हाजिर डिजि अफिसमा गर्नुभयो होला थाहा भएन, हामीकहाँ आउनुभएको छैन,’महाशाखाका एक कर्मचारीले उकेरासँग भने। डा. थापा मंगलबार उपत्यका बाहिर रहेको स्रोतले बतायो।

३० करोडको अल्ट्रासाउन्ड खरिद अन्तिम चरणमा

टेन्डर प्रस्तावपछि टेन्डर पाउनका लागि प्राविधिक र आर्थिक छनोट पार  गर्नुपर्ने हुन्छ। तर, व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनी जिईको नेपाली सप्लायर्स (एजेन्ट) म्याक्स मेडिटेक सिस्टम प्रालिलाई छनोट गर्दै सोमबार (८, जनवरी, २०२४) मा आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको छ।

आर्थिक चरणमा म्याक्स मेडिटेकलाई मात्रै छनोट गरेकाले अब उसैले करिब ३० करोडको युएसजी मेसिनको टेन्डर पाउने निश्चित नै छ। आर्थिक प्रस्ताव खोल्ने सूचनामा उल्लेख भए अनुसार माघ नौ गते (२३ जनवरी २०२४) १२ बजेलाई आर्थिक प्रस्ताव खुल्ने तोकिएको छ।

महाशाखाले म्याक्स मेडिटेक सिस्टमलाई युएसजी मेसिनको टेन्डर दिनेगरी आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी जारी गरेको सूचनामा लेखिएको छ,‘पर्सुयन्ट टु क्लज ३१(४) एन्ड (५) अफ पब्लिक प्रकुरमेन्ट रेगुलेशन २०६४, दिस इज टु नोटिफाइ अल दी बीडर्स द्याट दी फलोविङ सब्स्टेन्सियल्लि रेस्पोन्सिभ टेक्निकल बिडर ह्याज बीन सेलेक्टेड फर फरदर इभ्यालुयशन एज पर दी इन्भिटेशन फर बिड्स पब्लिष्ट्ड अन दी राइजिङ नेपाल एन्ड डिओएचएस डिसाइड्स टु ओपन दी प्राईज बिड अन २३ जनवरी २०२४ अन १२ आवर।’

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ‘३१ज’ को उपनियम (५) मा उपनियम (४) बमोजिमका योग्यताको सबै आधारमा सफल हुने बोलपत्र सारभूत रूपमा प्रभावग्राही बोलपत्र मानिने र त्यस्तो सफल सबै  बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सोही मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा सात दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा पन्ध्र दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ।

महाशाखाले प्राविधिक स्पेशिफिकेशन नै जिइको युएसजीसँग मात्रै मिल्नेगरी लक्ड गरेर मेसिन खरिदको टेन्डर गरी खरिद प्रक्रिया अघि बढाएकोबारे यसअघि नै उकेराले समाचार सम्प्रेषण गरेको थियो।

मेसिन खरिदका लागि प्राविधिक रूपमा जिइकै नेपाली सप्लायर्स म्याक्स मेडिटेकलाई छनोट गर्नुले उसैलाई टेन्डर दिनका लागि युएसजीको खरिद प्रक्रिया अगाडी बढेको पुष्टि हुन्छ।

प्राविधिक स्पेशफिकेशन नै जिइको मेसिनसँग मात्रै मिल्नेगरी बनाएकाले प्राविधिक चरणमा जिइको नेपाली सप्लायर्स स्वतः छनोट भयो नै। महाशाखाले प्राविधिक रूपमा म्याक्स मेडिटेकलाई मात्रै छनोट गरेकाले आर्थिक रूपमा पनि उसैलाई छनोट गरेर टेन्डर दिने करिब निश्चित नै भएको छ।

प्राविधिक रूपमा छनोट भइकसेपछि मेसिन खरिदका  लागि टेन्डर आह्वान गर्ने संस्थाको बजेटको सीमाभित्र रहेर आर्थिक प्रस्ताव पेस गरेका सप्लायर्स आर्थिक चरणमा छनोट हुन सक्छन्।

तर, यो युएसजी खरिदको सवालमा भने प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर जिइकै नेपाली सप्लायर्सलाई टेन्डर पर्ने गरी टेन्डर आह्वान भएकाको अनि प्राविधिक चरणमा पनि उसैलाई व्यवस्थापन महाशाखाले छनोट गरेकाले म्याक्स मेडिटेक नै आर्थिक चरणमा पनि छनोट हुने भएको हो।

प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको कम्पनीको टेन्डर स्वीकृत हुन्छ। अब आर्थिक मूल्याङ्कनको चरणमा म्याक्स मेडिटेकनै छनोट भएपछि म्याक्स मेडिटेकले टेन्डर पाउँछ र खरिद सम्झौता हुन्छ।

मेसिनमा हाकाहाकी लुट

विभागको व्यवस्थापन महाशाखाले टेन्डर प्रक्रिया अगाडी बढाएको यो युएसजी मेसिनको खरिदका लागि प्रि–बिड बैठक असोज १६ गते (१३ अक्टोबर)लाई तोकिएको थियो।

तर, टेन्डर प्रस्ताव गर्नु अघि प्रि–बिडपछि केही प्राविधिक विषयलाई कात्तिक ३ गते संशोधन गर्दै कागजात प्रकाशित गरिएको थियो।

प्रि–बिड मिटिङमा सप्लायर्सहरुले प्राविधिक स्पेशिफिकेशन लक्ड भएको भन्दै संशोधन गर्न सुझाव नदिएका हैनन्। तर, महाशाखाले सुझावलाई लत्याउँदै युएसजीको खरिद प्रक्रिया अगाडी बढाएको हो।

त्यसैगरी कात्तिक १९ गते सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।

विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम  प्रिपेयरनेश प्रोजेक्टका रूपमा सो सामग्री खरिदका लागि टेन्डर आह्वान भएको थियो।

तर, अल्ट्रासाउन्ड खरिदको सवालमा राष्ट्रिय सतर्कता केन्द्र लगायतमा उजुरी परेको  थियो। सतर्कताले यस विषयमा कार्तिक १९ गते नै छानबिनका लागि विभागलाई पत्र पठाउँदै अल्ट्रासाउन्ड खरिद प्रक्रिया सम्बन्धी कागजात माग गर्दै खरिद प्रक्रिया समेत स्थगित गर्न निर्देशन दिएको थियो।

सतर्कता केन्द्रको छानबिन प्रक्रियामा रहेकाले अल्ट्रासाउन्डको खरिद प्रक्रिया रोकिएको थियो। सतर्कता केन्द्रले के निर्देशन दियो भन्ने विषय भने खुलेको छैन।

तर, महाशाखाले खरिद प्रतिक्रिया अन्तिम चरणमा पुर्याएको छ। व्यवस्थापन महाशाखाका एक कर्मचारीले उजुरीको आधारमा छानबिन गरेको युएसजीको खरिद लगायतको विषयलाई तामेलिमा राखेको जानकारी दिए।

‘उजुरीको आधारमा सतर्कता केन्द्रले छानबिन गर्दै थियो। डकुमेन्ट पठाएका थियौँ,’महाशाखाका एक कर्मचारीले भने,‘त्यो उजुरी तामेलिमा गयो भनेर सतर्कता केन्द्रले लेखेर हामीलाई पठायो।’

महाशाखाका ती कर्मचारीले थपे,‘तामेलिमा गयो भन्नुको अर्थ काम ठिक छ अगाडी बढ्नुहोस् भनेको हो। तपाईँहरूको प्रक्रिया ठिक छ अगाडी बढ्नुहोस् भनेको हो  उस (सतर्कता)ले।’

यस अघि नै उकेराले व्यवस्थापन महाशाखाको युएसजी मेसिन (अल्ट्रसाउण्ड मेसिन) खरिदका लागि म्याक्स मेडिटेकसहित चार वटा सप्लायर्सले टेन्डर हालेको समाचार सम्प्रेषण गरेको थियो। बाँकी तीन वटामा सिन्धु सर्जिकल, हस्पिटेक र लुम्बिनी हेल्थ केयरले टेन्डर हालेका थिए।

मेसिन उत्पादक कम्पनी जिईसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उसैको नेपाली एजेन्टलाई टेन्डर दिनुले  सप्लायर्सहरुसमेत मिलेर बाँडिचुँडी कमिसन लिनेगरी म्याक्स मेडिटेकलाई सहजिकरण गरेको समेत देखिएको छ।

उकेराले तीन हप्ता अघि मंसिर २७ गते ‘स्वास्थ्य सेवा विभागको साढे २ अर्बको अधिकांश टेन्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

उकेरामा सो खरिद सेटिङको खुलासाको दुई दिनपछि मंसिर २९ गते स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १६ करोडमा किन्न लागेको मेमोग्राफीको टेन्डर रद्द गरेको थियो। यो युएसजी मेसिन पनि त्यही साढे दुई अर्ब भित्रको टेन्डर हो। खरिदमा व्यवस्थापन महाशाखाको खरिद महाशाखाका निर्देशकको जिम्मेवारी हुन्छ नै। स्वास्थ्य सेवा विभागका महानिर्देशक (डा. मिश्रा) को पनि त्यतिकै जिम्मेवारी हुन्छ। खरिद प्रक्रिया अगाडि बढाउने काम र खरिद गर्ने सामग्रीको स्वीकृतिका लागि विभागको महानिर्देशककहाँ पठाउने काम व्यवस्थापन महाशाखाका निर्देशकको हो।

त्यसैगरी खरिद प्रक्रियाको कागजात हेरेर सामग्री खरिदका लागि व्यवस्थापन महाशाखाका निर्देशकले अगाडि बढाएको फाइललाई स्वीकृत गर्ने वा नगर्ने भन्ने जिम्मेवारी विभागको महानिर्देशकको हुन्छ।

त्यसैगरी व्यवस्थापन महाशाखा अन्तर्गतको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया छन्। उनको पनि खरिदमा जिम्मेवारी त्यतिकै हुन्छ। त्यसो त खरिदमा स्वास्थ्यमन्त्री र सचिव जोडिने नै भए।

त्यसैगरी खरिद हुने सामग्रीको प्राविधिक स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियरको भूमिका समेत कसलाई टेन्डर पार्ने भन्नेमा महत्त्वपूर्ण हुन्छ।

स्वास्थ्यमा लुट

तीन अस्पतालको सिटी स्क्यान मेसिन खरिदमा नौ करोड कमिसनको खेल, सेटिङमा मन्त्री बस्नेत, बिचौलिया ‘भान्जा’
२४ करोडको सिटी किन्न लक्ड स्पेशिफिकेशन, नौ करोडको कमिसनको खेलमा स्वास्थ्यमन्त्री बस्नेतदेखि प्रदेश वनमन्त्री खड्कासम्म
सिटी स्क्यान खरिद प्रकरण : त्रिशुली अस्पतालका प्रमुखलाई प्रदेश स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण पत्र

२४ पुस, २०८०, १८:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।