यस वर्ष सरदरभन्दा बढी वर्षा, अहिलेसम्म कहाँ कति पानी पर्‍यो ?

यस वर्ष सरदरभन्दा बढी वर्षा, अहिलेसम्म कहाँ कति पानी पर्‍यो ?

काठमाडौं : यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। विभागको तथ्याङ्क अनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ।

यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ। जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो।

यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ। सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँछ।
 
हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात् ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए।

यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ। उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताए।

प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्छ। मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताइन्।

महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

२७ साउन, २०७९, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।