प्रधानमन्त्रीको दबाबमा गङ्गालालको चिकित्सकको अवकाश उमेर बढाएको विषय पुग्यो संसद्मा

प्रधानमन्त्रीको दबाबमा गङ्गालालको चिकित्सकको अवकाश उमेर बढाएको विषय पुग्यो संसद्मा

काठमाडौँ : गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत आफू निकट चिकित्सकले अवकाश पाउने भएपछि जवर्जस्ती बोर्ड बैठक राखेर अवकाश उमेर ६० बाट ६३ बनाउने निर्णयको संसद्मा विरोध भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट चिकित्सक डा रबी मल्लले ६० वर्ष अवकाशको आधारमा साउन २३ गते अवकाश पाउने भएपछि शनिवार स्वास्थ्य मन्त्रालयमा बैठक बसेर अवकाशको उमेर ६३ बनाएका थिए।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिवार बिहान बसेको सञ्चालक समितिको बैठकले अवकाशको उमेर हद ६३ वर्ष पुर्याउने निर्णय गरेको थियो। यदि सो निर्णय नभएको भए डा मल्लले २३ गते अवकाश पाउँदै थिए। उनको जागिर अवधि बढाउन प्रधानमन्त्री कार्यालयको विशेष चासोमा अवकाशको उमेर बढाइएको हो।

शुक्रवारै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने प्रयास गरे पनि सफल भएको थिएन। त्यसपछि स्वास्थ्य मन्त्रीले शनिवार बिदाको दिन भए पनि सञ्चालक समितिको बैठक राखेर अवकाशको उमेर बढाउने निर्णय गराए।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले निर्णयको विरोधमा व्यङ्ग्य गर्दै भने' उक्त चिकित्सकको नागरिकता खिचेर उमेर घटाई ४० वर्ष पुगेको नागरिकता बनाऊँ।'

'६० वर्षको उमेर हदले हालै गङ्गालाल अस्पतालमा एक जना चिकित्सकको भोलि २३ गते समयावधि सकिँदै थियो। प्रधानमन्त्रीको निर्देशनमा हिजो शनिवारको दिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बैठक बसेर अवकाशको उमेर हद ६३ वर्ष रहने गरी नियमावली संशोधन भएको छ,' उनले भने' म यो सरकारलाई सोध्न चाहन्छु, यो एक कुर्सी छ ४ जना डिफ्याक्टो प्रधानमन्त्री भएको बहादुर सरकार छ । उसले चाह्यो भने ६३ वर्ष गराइदिन सक्छ; चाह्यो भने ८० वर्ष गराइदिन सक्छ। 'म यो सरकारलाई भन्न चाहन्छु- यति बलियो र बहादुर सरकार, त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नागरिकता बनाइदिऊँ। त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनुहुन्छ।'

२२ साउन, २०७९, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।