गङ्गालाल अस्पतालमा घुस्यो फोहोरी खेल : एक चिकित्सकको स्वार्थमा अवकाश उमेर बढाउन चलखेल

गङ्गालाल अस्पतालमा घुस्यो फोहोरी खेल : एक चिकित्सकको स्वार्थमा अवकाश उमेर बढाउन चलखेल

काठमाडौँ : सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत चिकित्सकको अवकाशको अवधि ६० बाट ६५ पुर्याउन शुक्रवार सञ्चालक समितिको बैठक राखियो। तर योजना चुहिए लगत्तै विवाद हुँदा बैठक बस्न सकेन।

२ बजे बोलाइएको बैठक पाँच बजे सारियो। कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी बिदामा बसेका थिए। जानकारस्रोतका अनुसार अवकाश अवधि सके ६५, नसके ६३ गर्न प्रधानमन्त्री कार्यालयबाट तारन्तार दबाब आए पनि शुक्रवार बैठक बस्न नसकेपछि शनिवार सारियो। शनिवार बिहान ८ बजे बैठक तोकिएको छ।

केही दिनपछि ६० वर्षे उमेर हदका कारण अस्पतालबाट अनिवार्य अवकाश पाउन लागेका चिकित्सक डा. रबी मल्लको जागिर अवधि बढाउन  नियम संशोधन गरेर अवकाश उमेर हद ६० बाट ६३ वा ६५ बनाउन सञ्चालक समितिको बैठक बस्ने तयारी भएको हो।

शुक्रवार दिनभरि नै प्रधानमन्त्री कार्यालयले सञ्चालक समितिको बैठक राखेर नियम संशोधन गर्न ताकेता गरिरहेको थियो।

'प्रधानमन्त्री कार्यालयबाट यति बजे बस, उति बजे बस भनेर भनिरहनु भएको थियो। तर बैठक बस्न सकेन।शनिवार भए पनि बैठक राखेर निर्णय गर्नु भनिएकाले बिहानै बैठक डाँकिएको छ।’

केन्द्रको अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्रीले समेत बैठक बसाउने प्रयास गरेका थिए।
अस्पताल स्रोतका अनुसार अस्पतालका कार्यकारी निर्देशक डा. अधिकारी पनि चिकित्सकको अनिवार्य अवकाश उमेर ६० वर्ष भन्दा बढी हुनु हुँदैन भन्ने पक्षमा छन्। 

त्यसैले स्वास्थ्य मन्त्रीले समेत अवकाश उमेर हद बढाउने विषयमा सञ्चालक समितिको बैठक बोलाउन दबाब दिन थालेपछि कार्यकारी निर्देशक माल्दिभ्स गए। डा. मल्लले नियम संशोधन नभए २३ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाका निकट भएको स्रोतले बतायो। उनकै जागिर अवधि बढाउन गङ्गालालको अवकाशको नियमै बदल्न लागिएको हो।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरूको सेवा सर्त र सुविधा सम्बन्धी नियमावली, २०५८ मा ६० वर्षको अनिवार्य अवकाश उमेर हदको व्यवस्था छ।

डा. मल्ल २३ गते ६० वर्ष पुग्ने भएकाले हतार हतार यो नियम नै संशोधन गरेर सकभर ६५ नत्र ६३ वर्ष अवकाशको उमेर हद पुर्याउन लागिएको हो।

कार्यकारी निर्देशक डा. अधिकारी कुनै हालतमा पनि अवकाश उमेर हद ६३ वा ६५ बनाउने पक्षमा नरहेकाले उनी बाहिर गएको मौकामा संशोधन चलखेल भएको हो। 

स्वास्थ्य मन्त्रीको निर्देशन कार्यान्वयन गर्दा अपजस खेप्नुपर्ने देखिएपछि डा. भण्डारी सेफ ल्यान्डिङको बाटो खोज्दै बिदामा बसे। कार्यकारी निर्देशक डा. अधिकारी बिदामा बसेकाले डा.सुजिव राज भण्डारीलाई निमित्त निर्देशक तोकिएको छ।

तर, कार्यकारी निर्देशक अधिकारी बिदामा बसेका छन् भनेर थाहा पाउँदा पाउँदै मन्त्री खापुङले भोलि बिहान आठ बजेलाई डा. अधिकारीकै नाममा सञ्चालक समितिको बैठकका लागि पत्र लेखेको स्रोतले बतायो। स्रोतले भन्यो,‘मन्त्रीज्यूले चन्द्रमणि डाक्टरसाबलाई लेखेको चिठीमा आठ बजे नै छ। बिदामा हुनुहुन्छ भनेर मन्त्रीले थाहा पाउँदा पाउँदै कार्यकारी निर्देशकलाई नै चिठी लेखिएको छ। कार्यकारी निर्देशकलाई नै चिठी लेखेपछि निमित्तले के गर्ने? भन्ने अन्योल छ।’

अवकाश उमेर हद बढाउने सो नियम सञ्चालक समितिको बैठकले पास गरेपछि कार्यान्वयनमा आउने अस्पताल स्रोत बताउँछ। स्रोतले भन्यो,‘सञ्चालक समितिले पास गरे पुग्छ। मन्त्रिपरिषद्मा जानु पर्दैन।’

यस विषयमा मन्त्री खापुङसँग कुरा गर्न खोज्दा फोन उठेन।

विवादको विषय बाहिरिएकाले शनिवार बिहान बस्ने भनिएको सञ्चालक समितिको बैठकलाई यो विषय पास गर्न कठिन हुने देखिएको स्रोतले बताएको छ।

स्रोतले भन्यो,‘भोलि बैठक बसे पनि यो विषय प्यारालाईज होला जस्तो छ। मिडियामा आइसक्यो पास हुन गाह्रो पर्छ।’ उकेराले शुक्रवारै यो विषयको जानकारी पाएपछि ‘गङ्गालालको बोर्ड बैठक राखेर अवकाश अवधि पाँच वर्ष बढाउन प्रधानमन्त्री कार्यालयको दबाब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

संशोधन गर्न लागिएको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरूको सेवा सर्त र सुविधा सम्बन्धी नियमावली, २०५८ सातौँ पटक संशोधन गर्न लागिएको हो। केही महिना अघि मात्रै दुई वर्ष लगाएर छैटौँ संशोधन भएको थियो। ती कर्मचारीले भने,‘दुई महिनाअघि संशोधन गरिएको थियो। फेरी रातारात कसको इन्ट्रेस्टमा संशोधन गर्न लागिएको हो थाहा भएन।’

को को छन् सञ्चालक समितिमा ?
सञ्चालक समितिको अध्यक्ष स्वास्थ्य मन्त्री  हुन्।  काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल सञ्चालक सदस्य छन्।

त्यसै गरी स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, हार्ट टु हार्ट नेपालका विजय राई, हृदय रोग विशेषज्ञ डा. युवराज लिम्बू, केयूएमएसका डीन डा. राजेन्द्र कोजु, महिला प्रतिनिधि डा. बिना दवाडी (ज्ञवाली) सञ्चालक समिति सदस्य छन्।

त्यसै गरी कार्यकारी निर्देशक डा. अधिकारी केन्द्रका सञ्चालक समिति सदस्य सचिव हुन्। डा. प्रकाशराज रेग्मी र डा. नवीन गौतम पनि सञ्चालक समिति सदस्य छन्। स्रोतका अनुसार केही समय अघि मात्रै डा. रेग्मी सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन्।
सञ्चालक समितिका यी सदस्यमध्ये सात जनाले सहमति जनाए नियम पास हुनेछ।

२० साउन, २०७९, ००:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।