अन्ततः प्रधानमन्त्रीको दबाबमा गङ्गालाल अस्पतालका चिकित्सकको अवकाश उमेर हद ६३ पुर्‍याइयो

अन्ततः प्रधानमन्त्रीको दबाबमा गङ्गालाल अस्पतालका चिकित्सकको अवकाश उमेर हद ६३ पुर्‍याइयो

काठमाडौंः शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको चिकित्सकको अवकाश उमेर हद ६० बाट बढाएर ६३ पुर्याइएको छ। आज स्वास्थ्य मन्त्रालयको सभा हलमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको अस्पतालको सञ्चालक समितिको बैठकले उमेर हद बढाउने निर्णय गरेको हो।

यद्यपि ४८ घण्टासम्म निर्णय सार्वजनिक नगर्ने भनिएकाले अन्य बोर्ड सदस्यले भने बोल्न मानेनन्। स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सोमबार मात्र निर्णय सार्वजनिक गर्न मिल्ने बताए।

स्वास्थ्यमन्त्री खापुङले भने उमेर हद ६० बाट ६३ बनाउने निर्णय भएको पुष्टि गरेका हुन्। उनले भने, 'सर्जरी चिकित्सकहरूको हकमा ६० वर्षबाट ६३ वर्ष सेवा अवधि पुर्याउने निर्णय भयो।'

गङ्गालाल अस्पतालका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट डा. रवि मल्ल उमेर हदका कारण यही साउन २३ गते अनिवार्य अवकाश पाउँदै थिए। तर प्रधानमन्त्री कार्यालयबाट डा. मल्लका लागि नियम संशोधन गरेर अवकाश उमेर हद सके ६५ नसके ६३ वर्ष बनाउन तारन्तार दबाब आएको थियो।

तर स्वास्थ्यमन्त्री खापुङले भने आफूलाई कुनै दबाब नआएको बताए।

२१ साउन, २०७९, ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।