पार्वतीको अचार उद्यम: १७ वर्ष विदेशमा रहेका श्रीमान्‌ नेपाल फर्किए, महिनामा तीन लाखको हुन्छ कारोबार

पार्वतीको अचार उद्यम: १७ वर्ष विदेशमा रहेका श्रीमान्‌ नेपाल फर्किए, महिनामा तीन लाखको हुन्छ कारोबार

बुटवलः पिरो, टाठो, रमरम, मुखै रसाउने, अमिलो अचार बनाउने र परिवारका सदस्यलाई चखाउने सानैदेखिको बानी थियो पार्वती गिरीको।

तिलोत्तमा- १ की पार्वतीलाई परिवारका सदस्यहरूले ‘राम्रो अचार बनाउन त पार्वतीबाट सिक्नपर्छ’ भन्दै उक्साउँथे। उनलाई पनि लाग्थ्यो– ‘म साँच्चै मीठो अचार बनाउँदी रहेछु।’

गोलभेँडा, काभ्रो, केराको बुङ्गा, काँक्रा, सिलाम र टिमुरको अचार उबेला निकै मीठो बनाउँथिन् रे, पार्वतीले।

अहिले पार्वतीको अचारको स्वाद परिवारभित्र मात्र सीमित छैन। उनले तिलोत्तमा-१ मै 'लकासी अचार उद्योग' नै स्थापना गरेर आफ्नो अचारको स्वाद जिल्ला जिल्लामा पुर्याएकी छिन्। 

कोसेलीका रूपमा त धेरै देशमा उनले बनाएको अचार पुगेको छ।

०००
पार्वतीका श्रीमान् ४७ वर्षीय भेषराज गिरी लामो समयदेखि विदेशमा थिए। कहिले भारत त कहिले दुबईमा उनले १७ वर्ष बिताए। 

पार्वती त्यो बेला श्रीमान्लाई भन्थिन्– ‘आउनुस् यतै केही उद्यम गरौँला। सँगै बसौँला।’ 

जवाफमा श्रीमान् भन्थे, 'तिमीले केही काम गर्न आँट गर। त्यसपछि मात्र म नेपाल फर्कन्छु।’

दुई बालबच्चाको स्याहार सुहार, उनीहरूलाई पढाउने, लेखाउने जिम्मेवारी पार्वतीसामु थियो। श्रीमान् विदेशमै हुने। घरको काम र छोराछोरीको रेखदेखमै उनका धेरै वर्ष बिते।

यहीबीचमा छोरी राखीको विहेबारी पनि भयो। भेषराज नेपाल आउने-जाने क्रम चलिरह्यो। छोरा रोहन पनि हुर्कँदै थिए।

दिनभर रोहन स्कुल जान्थे। घरमा एक्लै हुन्थिन् पार्वती। एक्लै बस्दा उनले केही काम गर्ने योजना बनाउन थालिन्।

‘काम गर्ने योजना बनाएँ। सेनेटरी प्याड, सिलाई, अगरबत्ती बनाउने तालिम लिएकी थिएँ। तर गर्ने के? त्यो निर्क्यौल गर्न सकेकी थिइनँ’, उनले भनिन्।

०७४ असार २ गते शंकरनगरको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई दिने अचार बनाउने तालिम दियो। उनी शेयर सदस्यका हैसियतले तालिम लिइन्।

तालिमले उनलाई बाल्यकाल सम्झायो। त्यही पिरो, टाठो, रमरम, मुखै रसाउने, अमिलो अचार बनाएका दिन सम्झायो।

‘तालिमपछि मेरो बाटो अब अचार हो भन्ने भयो। सहकारीले बाटो खोलिदियो। त्यसपछि अचार बिक्री गर्ने योजना बन्यो', उनले भनिन्।

अचार बनाउने तालिममा युवा पोखरेल, जुना पुरी, कमला कुँवर केसी, सीता पराजुली र उमा थापा पनि थिए। तालिम सकिएकै दिन उनीहरूले अचार बनाएर बिक्री गर्ने योजना बनाए। 

अचारबाटै पार्वतीले मासिक तीन लाख अर्थात वार्षिक ३६ लाख रुपैयाँको कारोबार गर्छिन्।

६ जनाको समूहले प्रतिव्यक्ती पाँच हजारका दरले ३० हजार जम्मा पारे। त्यो पैसाले आँप किने र केही भाँडा खरिद गरे। पैसा सकिएपछि पुनः ३० हजार उठाए। यसरी उनीहरूले सामूहिक अचार उत्पादन गर्न थाले।

अचारको माग दिन्दिनै बढ्यो। सहकारीका तत्कालीन अध्यक्ष चुडामणि खरेलले सामूहिक अचार बनाउन र बिक्री गर्न प्रेरित गरे। देवी वाग्ले, उषा घिमिरे, दुर्गा पौड्याल र माया घिमिरेले हौसला र सहयोग गरे।

६ जनाले 'शुभलाभ' अचार व्यवसाय सुरु गरेपछि सामूहिक सहकारीले पनि सामूहिक ऋणको अवधारणा ल्यायो। चार लाखको सामुदायिक ऋण पहिलो पटक त्यही शुभलाभ अचार उद्यमीले प्राप्त गरे।

६ महिनापछि समूहबाट पार्वती छुट्टिइन्।

‘६ महिना समूहमा काम गरेपछि आफैँ व्यवसाय सुरु गर्ने र विदेश भएका श्रीमान्‌लाई नेपाल बोलाउने निर्णय गरेँ। उहाँ नेपाल फर्कनुभयो। त्यसपछि हामी दुवैले आफ्नै लगानीबाट अचारको व्यवसाय थाल्यौँ’, उनले भनिन्।

विदेशबाट भेषराज आएपछि पार्वतीले ‘लकासी अचार उद्योग’ स्थापना गरिन्। ४५ हजार आफ्नो र ५५ हजार सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले लगानी गरेपछि एक लाखको लगानीमा अचार उद्योग सुरु भयो।

‘सहकारीले सुरुमा तालिम दियो। कार्यालयअगाडि टेबल र कुर्सी उपलब्ध गराएर बजारमा सहजीकरण गर्ने काम पनि सहकारीले गर्यो। सहकारीले लगाएको टेकोले अहिले यहाँसम्म आइपुगेकी हुँ’, उनले भनिन्।

वार्षिक ३६ लाखको कारोबार
एक लाखको लगानीमा सुरु भएको उद्योगले अहिले वार्षिक ३६ लाखको कारोबार गर्छ।

उद्यमी श्रीमान्-श्रीमती जोडीले तिलोत्तमा-१ जनप्रिय पथमा रहेको घरमा अचार बनाउने र तिलोत्तमा-३ शंकरनगरमा बिक्री केन्द्र स्थापना गरेका छन्।

पार्वती अचार बनाउँछिन्। भेषराज मार्केटिङ गर्छन्। उद्योगमा चार जनाले रोजगारी पाएका छन्। अचार व्यापारमा प्रतिस्पर्धा छ। तर पनि मेला महोत्सवमा लकासी अचार अनिवार्य जस्तै बनेको छ।

पार्वतीका अनुसार सिजनमा २१ प्रकारका अचार बन्छन्। अफसिजनमा १२ प्रकारका अचार बन्छन्। 

उनले बिक्री गर्ने सबैभन्दा बढीमा लसुन, अकबरे, आँप, मिक्स अचार हुन्। उनले रुपन्देहीसँगै पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासीमा आफ्नो अचार बिक्री गर्दै आएकी छिन्।

अचारबाटै पार्वतीले मासिक तीन लाख अर्थात वार्षिक ३६ लाख रुपैयाँको कारोबार गर्छिन्।

उद्योग सञ्चालनको पाँच वर्षमा पार्वती अहिले धेरैलाई तालिम दिनसक्ने भएकी छिन्। जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर गएर उनले सेनिटरी प्याड र अचारको तालिम आठ सयभन्दा बढीलाई दिएको बताइन्।

‘प्रतिस्पर्धा बढी भए पनि आफ्नो क्वालिटीले बिक्रीमा अहिले अप्ठयारो छैन’, उनले भनिन्।

'सहकारीले बचत र क्रृणको काम मात्र गर्दैन, उद्यमी बनाउँछ'
तिलोत्तमा-३ को सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले अहिलेसम्म सयौँ शेयर सदस्यलाई उद्यममा जोड्न सफल भएको छ।

‘सहकारीले बचत र ऋण प्रवाह मात्र गर्छन् भन्नेहरूका लागि हाम्रा सफल उद्यमीहरूलाई हेरे पुग्छ। हामीले उद्यममा सदस्यलाई जोडेका छौँ। कमभन्दा कम ऋण दिएर आय आर्जनमा जोड्न सफल भएका छौँ’, सहकारीका सूचना अधिकारी ईश्वरी मरासनीले भने।

पार्वती मात्र होइन सहकारीकै सहयोगबाट प्रतिमा पन्त, भागिरथा पराजुली, कमला केसी कुँवर, रेनु पचभैया, धनीदेवी श्रेष्ठ, उषा ठकुरी जस्ता महिलाहरू उद्यमी भएको उनले बताए।

उनले वार्षिक रूपमा ५० जनालाई उद्यममा जोड्नेगरी नीति र कार्यक्रम बनाउने समेत बताए।

१७ साउन, २०७९, ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।