कल सेन्टर गिरोह पक्राउ प्रकरण: दैनिक एक करोडभन्दा बढीको कारोबार हुने गरेको खुलासा

कल सेन्टर गिरोह पक्राउ प्रकरण: दैनिक एक करोडभन्दा बढीको कारोबार हुने गरेको खुलासा

बुटवलः ह्वाट्सएपको प्रयोगबाट सर्वसाधरणलाई ब्ल्याकमेल गर्ने गिरोहले दैनिक एक करोडभन्दा बढीको कारोबार गर्ने गरेको प्रहरीको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रुपन्देहीको तिलोत्तमा- २ जानकीनगरमा रहेको ब्लु स्काइ बिजेनश सोल्युशन प्रालि (कल सेन्टर) मा आज दिउँसो प्रहरीले छापा मारेर त्यहाँ काम गर्ने २४० युवायुवती समेत नियन्त्रणमा लिएको थियो।

जानकीनगरमा चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई तीन सय बढी कम्प्युटर राखी युवायुवतीलाई प्रयोग गरेर भारतसहित विभिन्न देशका व्यक्तिलाई ब्ल्याकमेल गर्दै रकम माग गरिररहेको अवस्थामा प्रहरीले आइतबार छापा मारेको थियो। प्रहरीले कल सेन्टर सञ्चालन गर्ने भारतका दवाङसहित नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले अश्लील सामग्री पठाउँदै रकमको बार्गेनिङ गर्ने गिरोह सक्रिय भएको थाहा पाएपछि छापा मारेको बताए। पक्राउ पर्नेमध्ये एक भारतीय नागरिक हुन् भने बाँकी नेपाली रहेको केसीले बताए।

नियन्त्रणमा लिइएका युवायुवतीलाई भने घर पठाइएको छ। ‘अहिले उनीहरूको मोबाइल हामीसँग राखेर उनीहरूलाई छाडिएको छ। भोलि अभिभावकसहित आएपछि केही सुधखोज गरेर मोबाइल दिनेछौँ’, उनले भने।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मी कुनै एपको माध्यमबाट ऋण प्रदान गर्ने भन्दै सर्वसाधरणलाई ठगी गरिरहेको अवस्थामा कल सेन्टरमा छापा मारेको बताए। कल सेन्टरमा काम गर्ने अधिकांश १८ देखि २१ वर्ष उमेर समूहका छन्।

उनीहरूले सुरुमा ह्वाट्सएपमा ऋणका बारेमा मेसेज गर्ने र त्यसपछि ऋण प्राप्त गर्ने कुनै आधिकारिक सरकारी कागजपत्र (जस्तैः रासन कार्ड, नागरिकता) पठाएपछि अरू डाटाहरू संकलन गर्दै धम्काउने गरेको समेत अनुसन्धानमा देखिएको रेग्मीले बताए।

‘कतिपयले रकम पठाउन ढिला गरे, त्यही परिचय पत्रको फोटोमा अश्लील फोटो टाँसेर बार्गेनिङ गरेको पनि भेटिएको छ’, उनले भने।

कल सेन्टरमा काम गर्नेलाई १२ हजार तलब र इन्सेन्टिभ दिने गरेको त्यहाँ काम गर्ने युवायुवती बताउँछन्। ‘हामीलाई यो गैरकानूनी हो भन्ने थाहा थिएन। कक्षा १२ पास गरेपछि फुर्सदमा काम गर्न आएकी हुँ। तर यस्तो अवैध काम हो भन्ने थाहा थिएन’, कल सेन्टरमा एक महिनादेखि काम गरेकी गोलपार्ककी मञ्जु अधिकारीले भनिन्।

उनका अनुसार त्यहाँ काम गर्ने व्यक्तिलाई कोड दिइन्थ्यो। कोड अनुसार उनीहरूले इन्सेन्टिभ पाउने गर्दथे। प्रतिव्यक्ति जति जनाबाट रकम उठाउन सक्यो त्यही अनुसार प्रतिव्यक्ति तीन जना बराबर एक सय रुपैयाँ इन्सेन्टिभ युवायुवतीले प्राप्त गर्दथे।

उनीहरूले कुनै पनि एपबाट 'डिजिटल लोन' १६ सयदेखि अधिकतम १४ हजारसम्म दिने गर्दथे। लोनका लागि सुरुमा रकम पठाउने र त्यसपछि फिर्ता हुँदा बढ्ने भन्दै उनीहरूले प्रलोभनमा समेत पार्ने गर्दथे।

कल सेन्टरका युवायुवतीलाई के भनेर बोल्ने भनेर कापीमा समेत लेखेर सिकाइने गरिन्थ्यो। ‘सुरुमा उनीहरूले राम्रो तरिकारले डिल गर्ने, पछि कुरा राम्रो हुँदै गए विश्वास जितेर लोनका लागि पैसा माग्ने गरेको देखियो। यदि अटेर गरे अश्लील सामग्रीमा टाउको जोडेर पठाउने गरेको फेला पर्यो’, एसपी रेग्मी भने।

उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताए। यसबाट कति व्यक्ति पीडित बनेको र उक्त रकम कसरी खातामा जम्मा हुने वा कहाँ जम्मा हुने बारेमा विस्तृत अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए।

८ साउन, २०७९, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।