'बुद्धको शिक्षा अवलम्बन गरेका बौद्ध गुरुहरूले मानव मनोविज्ञानबारे उहिल्यै गहिरो ज्ञान पाइसकेका रहेछन्'

'बुद्धको शिक्षा अवलम्बन गरेका बौद्ध गुरुहरूले मानव मनोविज्ञानबारे उहिल्यै गहिरो ज्ञान पाइसकेका रहेछन्'

पेसाले शल्यचिकित्सक डा. सरोज धिताल अनुवाद र लेखनमा समेत सक्रिय छन्। केही समयअघि मिङ्ग्युर रिन्पोचेको किताब 'जोए अफ लिभिङ' (जिउनुको मज्जा) अनुवाद गरेका धितालसँग यस किताबको अनुवाद, बुद्ध धर्म र आधुनिक विज्ञानबारे उकेराका लागि प्रजु पन्तले गरेको कुराकानी:

पुस्तक ‘जिउनुको मज्जा’ किन अनुवाद गर्नुभयो?

यो पुस्तक अनुवाद गर्नुअघि मैले छोक्न्यी रिन्पोचेको एउटा विश्वप्रसिद्ध पुस्तक ‘ओपन हार्ट ओपन माइन्ड’ अनुवाद गरेको थिएँ। त्यही बेलातिर मिङ्ग्युर रिन्पोचेको अर्को कृति ‘टर्निङ कन्फ्युजन इन टु क्ल्यारिटी’ पनि पढेँ।

ती दुई पुस्तक पढ्दै गर्दा लाग्यो- अढाइ सहस्राब्दीअघि नै बुद्धले दिनुभएको शिक्षाको अवलम्बन गरेका बौद्ध गुरुहरूले मानव मनोविज्ञानबारे उहिल्यै कति गहिरो ज्ञान पाइसकेका रहेछन्!

विभिन्न बौद्ध परम्पराका बारेमा मेरो कौतुहल बढिरहेको त्यो बेला नै मिङ्ग्यूर रिन्पोचेको ‘जोय अफ लिभिङ’ पनि नेपालीमा अनुवाद हुँदैछ भन्ने सुनेको थिएँ र त्यो पढ्ने तीव्र लालसा लिएर पर्खिरहेको थिएँ। तर त्यसरी पर्खिरहेकै बेला एक दिन रिन्पोचेले आफैं नै मलाई फोन गरेर जोय अफ लिभिङको नेपाली अनुवाद गरिदिन आग्रह गर्नुभयो। यस्तो आग्रह नस्वीकार्ने कुरै भएन। केही नसोची अनुवाद गर्न थालेँ।

अनुवाद गर्दा नेपाली अनुवादकलाई मुल विषयको मर्म मारेको आरोप लाग्छ। तपाईंलाई भने कति न्याय गर्न सकेंजस्तो लाग्छ?

तपाईँले पढिसक्नुभएको छ नि हैन र? यो प्रश्न त मैले पो तपाईंसँग गर्नुपर्ने हो! तपाईंलाई कस्तो लाग्छ? भनिदिनोस् न! 

मलाई चाहिँ के लाग्छ भने, कुनै पनि कृतिको अनुवाद निरपेक्ष रूपमा ‘ठिक’ वा ‘बेठिक’ भन्ने हुँदै हुँदैन। अनुवाद भनेको अनुवाद नै हो र त्यो मुल कृतिसँग हुबहु मिलोस् भन्ने अपेक्षा राख्नु हुँदैन। अनुवादको आवश्यकता पर्ने नै फरक भाषाका पाठकका निम्ति हो। फरक परिवेश, हुर्काइ, भाषिक विशिष्टता, परम्परा-संस्कृति आदिले हरेक भाषा-भाषीका सौन्दर्यचेत, धारणा र बुझाइमा प्रभाव पारिरहेका हुन्छन्। यी कुरालाई ध्यानमा राखेर अनुवादकले जब काम थाल्छ, तत्क्षण नै एउटा नयाँ घटना घटित हुन्छ- मुल लेखकले बनाइदएको ‘स्पेस’मा अनुवादकको प्रवेश हुन्छ।

यो प्रवेशसँगै मुल ग्रन्थमा आधारित एउटा नयाँ कृतिको निर्माण सुरु हुन्छ। मुल कृतिको ‘मर्म’ नबिथोलियोस् भनेर अनुवादकले सकेसम्म र जानेसम्म प्रयत्न गर्ने हो।

यो पुस्तकमा पनि त्यो प्रयत्न चाहिँ भएको छ जस्तो लाग्छ। केही समयअघि नै प्रकाशक ‘बुकहिल’का भुपेन्द्रजीबाट पहिलो प्रिन्ट सकिएर पुनर्मुद्रण गर्नुपर्ने बेला भयो भन्ने थाहा पाएँ। पाठकका सल्लाह-सुझाव समेत समेटेर केही हेरफेर गरेको छु। त्यसो गर्दा पुनर्मुद्रण मात्र नभएर नयाँ संस्करण जस्तै हुन पुग्ला, त्यो पनि अब छिट्टै बजारमा आउला।

हामीले पढ्दा नेपालीमै पहिलो पटक लेखिएको हो कि जस्तो देखिन्छ। तपाईंलाई किताब अनुवाद गर्दा कस्ता-कस्ता अप्ठ्यारा आइलागे?

उल्लेखै गर्नुपर्ने त्यस्तो अप्ठ्यारो त केही पनि भएन। मज्जा भयो। म अल्छी छु भन्ने कुरा सबैले चिनिसकेको हुनाले काम सिध्याउन केही ढिलो भए पनि धेरै गाली भने खानु परेको छैन। बेला-बेलामा शब्दकोशहरु पल्टाउनु त परिहाल्छ। यिनै कुरालाई के अप्ठ्यारो भन्ने र!

तपाईं पेसाले चिकित्सक, विचारले मार्क्सवादी, कसरी अध्यात्मतिर तानिनुभयो?

तपाईं-हामी सबैभित्र ‘सुगतगर्भ’ हुन्छ भन्नुहुन्छ बौद्ध गुरुहरू। त्यो ‘बुद्धबीज’ देश, काल, पुराना अनुभव र संस्कार, विगतका कर्म, अनुवांशिकी आदि आन्तरिक र बाह्य परिस्थिति अनुसार विभिन्न किसिमले प्रकट हुने होलान्। संसारमा कुनै पनि कुरा स्थिर छैन, बदलिनु भनेको त अस्तित्वमा रहेका सबै कुरा र घट्ने सबै घटनाको स्वभाव नै हो। तर परिवर्तनको पनि मुल दिशा त हुन्छ नै।

अचेल मोटामोटी दुई प्रकारका खुसीको उल्लेख हुने गरेको छ। एउटा खुसी वासनाजन्य विलाससँग सम्बन्धित हुन्छ। यस्तो खुसीलाई अङ्ग्रेजीमा ‘हेडोनिक ह्यापिनेस’ भनिन्छ जो ‘प्लेजर’मा उभिएको हुन्छ। बाह्य भौतिक वस्तु, खानपिन, साधन, व्यक्ति, घटना आदिबाट शारीरिक वा मानसिक सन्तुष्टि खोज्दा क्षणिक रूपमा यस्तो ‘खुसी’ भेटिन्छ पनि। 

म आफैंले हेर्दा मेरो यात्राको मुल दिशामा कुनै ठूलो परिवर्तन भएको छैन। समय, परिस्थिति बदलिँदै जाँदा यथार्थ बुझ्ने क्रममा आफूले छानेको वा निभाउनु परेको भूमिका भने फरक हुँदै आएको होला। म डाक्टर हुनु, युवावस्थामा मार्क्सवादतिर आकर्षित हुनु र अहिले बौद्ध दर्शनमा लगाव हुनु सबैको कारण त एउटै हो जस्तो लाग्छ। हामी सबैमा भएको त्यही सुगतगर्भ जो केटाकेटी हुँदा आमा-बुबाबाट पाएको शिक्षाले करुणाका रूपमा टुसायो र विभिन्न परिस्थितिमा फरक-फरक रूपमा प्रकट हुँदै गयो।

वैज्ञानिक रिचार्ड डकिन्सले एउटा डकुमेन्ट्रीमा ध्यान पनि भ्रम हो भनेका थिए। तपाईं पनि विज्ञानको विद्यार्थी, कसरी ध्यानमा आकर्षित हुनुभयो? ध्यानलाई विज्ञानसँग कसरी जोड्नुहुन्छ?

रिचार्ड डकिन्सकैबारे त मलाई धेरै थाहा छैन। उनी अनिश्वरवादी हुन् र वस्तुगत संज्ञानजन्य तथ्यलाई मात्र स्वीकार्छन् भन्ने सुनेकोसम्म हो। अहिले विभिन्न विश्वविद्यालय र प्रयोगशालामा भइरहेका वा भइसकेका ध्यानसँग सम्बन्धित स्नायु विज्ञानका बग्रेल्ती अनुसन्धानका वस्तुगत, तथ्यपरक र बोधगम्य स्पष्ट नतिजाका बारे उनी के भन्छन्, मलाई थाहा छैन। 

तर, ध्यान गर्न ईश्वरवादी नै हुनु त पर्दैन नि! बौद्धहरू पनि अनिश्वरवादी नै हुन्। सांख्य, जैन जस्ता दर्शनावलम्बी पनि अनिश्वरवादी नै हुन्। तर यी सबै परम्परामा ध्यानको ठूलो महत्व छ।

अनि ध्यान त यसै पनि एउटा विधि हो। निर्वाणतर्फ उन्मुख यात्रामा चाहिने एउटा साधन, एउटा वाहन हो! यस्तो विधि, उपाय, वा साधनलाई नै ‘भ्रम’ भन्न त मिल्दैन होला। बरु त्यो विधिबाट प्राप्त हुने भनिएको उपलब्धिका बारे प्रश्न गर्न सकिएला। त्यस्ता उपलब्धि यथार्थ हुन् कि भ्रम भनेर बहस हुनसक्छ। र, यसको उत्तर आधुनिक विज्ञानले दिइरहेकै छ। केही दशकयता स्नायु विज्ञान र मनोविज्ञानको क्षेत्रमा ध्यानको व्यावहारिक प्रयोग र अनुसन्धान दुवै व्यापक रूपमा भइरहेका छन्। विश्वविख्यात प्रयोगशालाहरुमा अत्याधुनिक साधनको उपयोगसहित गरिएका स्नायु विज्ञानका वस्तुगत अनुसन्धानले ध्यानका अनेक प्रभावलाई प्रमाणित पनि गरिरहेकै छन्।

मान्छेले अहिलेसम्म प्राप्त गरेको वस्तुगत संज्ञानले मात्र बुझ्न गाह्रो हुने सत्यका अन्य अनेक आयाम पनि हुँदा रहेछन्। सत्यका त्यस्ता पाटालाई अनुभूत गर्न सघाउने एउटा महत्त्वपूर्ण विधिका रूपमा गरिने अभ्यास हो ध्यान। मानिसले प्राप्त गरिसकेका सत्यबोधको सीमालाई अझ फराकिलो पार्ने वस्तुगत तथ्यमा आधारित प्रयत्न चाहिँ विज्ञान हो। यी दुई त यसै पनि जोडिएकै हुन्छन्, तपाईं-हामीले जोड्नै पर्दैन।

तपाईं शल्यचिकित्सक। नाच्दा, खुसी हुँदा हाम्रो मस्तिष्कको डोपामाइन सक्रिय हुन्छ र हामी आनन्दित हुन्छौँ, ध्यान गर्दा पनि हुने यही हो। तर हामी अर्कै संसारमा पुग्यौँ, अझ लोकमा पुग्यौँ, स्वर्गीय आनन्द प्राप्त भयो भन्छन्। खास साइन्सलाई नबुझैर यसो भनेको हैन?

तपाईंको यो प्राज्ञिक कौतुहल प्रशंसनीय छ। म त एउटा रिटायर भइसकेको सामान्य शल्यचिकित्सक मात्र हुँ। न्युरोसाइन्सको ज्ञाता म हैन। यसबारे मेरो ज्ञानै छैन भने हुन्छ। जे जति छ त्यो अत्यन्त छिपछिपे मात्र छ। त्यही अल्पज्ञानका आधारमा कुरा गर्दा- डोपामिन मात्र हैन, अरु धेरै न्युरोट्रन्समिटरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका निभाएका हुन्छन् मान्छेका खुसीमा।

ध्यान-अभ्यासका प्रारम्भिक चरणमा अन्य सेरोटोनिन्, मेलाटोनिन्, एन्डोर्फिन जस्ता न्युरो ट्रान्समिटरसँगै डोपामिन पनि उत्सर्जित भैरहेको हुन्छ। पटक्कै शीलपालन नगर्ने, करुणाभाव नै नभएको, अत्यन्त आत्मकेन्द्रित मान्छे पनि ध्यानलाई फेसन जस्तो मानेर, ‘सामाजिक प्रतिष्ठा’का निम्ति भनेर वा स्वास्थ्यका निम्ति जिममा गएजस्तो गरी ‘ध्यान’ गर्न थालेको पाइन्छ।

तर, खुसी भनेको निरपेक्ष हुँदैन। खुसीका पनि अनेक प्रकार हुन्छन्। अचेल मोटामोटी दुई प्रकारका खुसीको उल्लेख हुने गरेको छ। एउटा खुसी वासनाजन्य विलाससँग सम्बन्धित हुन्छ। यस्तो खुसीलाई अङ्ग्रेजीमा ‘हेडोनिक ह्यापिनेस’ भनिन्छ जो ‘प्लेजर’मा उभिएको हुन्छ। बाह्य भौतिक वस्तु, खानपिन, साधन, व्यक्ति, घटना आदिबाट शारीरिक वा मानसिक सन्तुष्टि खोज्दा क्षणिक रूपमा यस्तो ‘खुसी’ भेटिन्छ पनि। 

तर, त्यस्तो खुसी अल्पायु हुन्छ र 'फेरि चाहियो', 'अझै धेरै चाहियो' वा 'झन् राम्रो चाहयो' भनेर तृष्णा थपिँदै जान्छ।

अर्को खाले खुसी चाहिँ सम्यक खुसी हो जसलाई अङ्ग्रेजीमा ‘युडायमोनिक ह्यापिनेस्’ भनिन्छ। यस्तो खुसीका निम्ति कुनै बाहिरी तत्वको भर पर्नु पर्दैन। करुणा, मैत्री, सिर्जनशीलता जस्ता असल व्यवहार र चरित्रबाट जन्मिने यस किसिमको खुसी दीर्घजीवी हुन्छ। 'अझै चाहियो' भनेर तृष्णा जन्माउने दुर्व्यसन जस्तो हुँदैन यो। 'आहा !' भन्ने भाव उत्पन्न हुन्छ- तर एक किसिमको तृप्ति र कृतज्ञताको अनुभूति हुन्छ र तृष्णाले ठाउँ पाउँदैन। सद्व्यवहार, सुकर्म, सम्यक चिन्तन आदिका कारण त्यस्तो खुसीले निरन्तरता पाइरहन्छ।

वासनाजन्य खुसीमा मुलतः डोपामिनले काम गरिरहेको हुन्छ। डोपामिन र अन्य न्युरोट्रान्स्मिटरको ‘ककटेल’ ले दिएको क्षणिक मज्जाको चाहना फेरिफेरि भइरहन्छ र त्यसले तृष्णाको कुचक्रमा मानिसलाई फसाउँछ- दुर्व्यसनको कुचक्रमा जस्तै।

धनाढ्यको कहिल्यै तृप्त नहुने धनको चाहना, राजनीतिमा लाग्नेको राजनीतिक नसा, सेलिब्रिटीलाई आफ्नो हैसियत कायम राख्ने बाध्यता, रक्सी वा अरू दुर्व्यसनीहरुलाई झन्-झन् नसा चाहिने स्थिति सबै उस्तै त हुन्!

ध्यान-अभ्यासका प्रारम्भिक चरणमा अन्य सेरोटोनिन्, मेलाटोनिन्, एन्डोर्फिन जस्ता न्युरो ट्रान्समिटरसँगै डोपामिन पनि उत्सर्जित भैरहेको हुन्छ। पटक्कै शीलपालन नगर्ने, करुणाभाव नै नभएको, अत्यन्त आत्मकेन्द्रित मान्छे पनि ध्यानलाई फेसन जस्तो मानेर, ‘सामाजिक प्रतिष्ठा’का निम्ति भनेर वा स्वास्थ्यका निम्ति जिममा गएजस्तो गरी ‘ध्यान’ गर्न थालेको पाइन्छ। कुनै सद्गुरुको निर्देशनबिना आफ्नै सुरले वा विज्ञापनका आधारमा गलत ‘गुरु’का पछि लागेर ध्यान गर्दा डोपामिनले प्रमुखता पाइरहेको हुन्छ।

यस्तो ‘डोपामिन-ककटेल’ले सिर्जना गरेको छिपछिपे र क्षणिक आनन्दानुभूतिमा रमाउन थाल्दा त्यस्तो ‘मिथ्या-ध्यान’मा बानी पर्छ र त्यसबाट प्राप्त ‘खुसी’ तपाईंले भनेजस्तै अन्य वासनाजन्य खुसीभन्दा फरक हुँदैन।

तपाईंले देख्नुभएको होला 'लामो समयदेखि ‘ध्यान’ साधना गरिरहेकोछु' भन्ने मानिसहरु ध्यानका क्रममा आफूले पाएका अनुभूतिकको बखान गर्छन्। तर उनीहरुको व्यवहार भने केही परिवर्तन भएको हुँदैन। आत्मकेन्द्रित अहङ्कारपूर्ण, करुणाविहीन व्यवहार नै गरिरहेका हुन सक्छन्। 

किन यस्तो हुन्छ त? 

डोपामिनको चरित्र नै के भने उत्सर्जित हुनेबित्तिकै यसले छेउको न्युरोनलाई उद्वेलित गर्छ। त्यो उद्वेलनले एकातिर एक किसिमको सुखद अनुभूति सिर्जना गर्छ भने, अर्कोतिर धेरै उद्वेलित हुँदा न्युरोनको आयु घट्छ। त्यसबाट जोगिन न्युरोनले रिसेप्टरहरुको संख्या घटाउन थाल्छ। अर्को चोटी त्यति नै चर्को अनुभूति प्राप्त गर्न झनै धेरै डोपामिन चाहिन्छ। हुँदा-हुँदा जति डोपामिन भए पनि खोजेको जति मज्जा आउँदैन। 

सेरोटोनिनले भने न्युरोनलाई उद्वेलित गर्ने हैन, शान्त बनाउने काम गर्छ। त्यो शान्तिको अनुभूतिले गर्दा तृष्णा हैन तृप्तिको अनुभूति हुन्छ। 'आहा, कस्तो राम्रो। म तृप्त भएँ' भन्ने हुन्छ। करुणा, प्रेम र सिर्जनशीलताले सेरोटोनिन् उत्सर्जन गराउँछन्।

मनलाई तालिम दिने भन्ने कुरा निश्चय नै महत्वपूर्ण हुन्छ र त्यसले मानिसलाई साँच्चै धेरै कुरा दिनसक्छ भन्ने कुरा त सत्य हो। बानीलाई परिवर्तन गर्ने अभ्यास र प्रयत्नले मस्तिष्कका न्युरोन (स्नायकोषिका)हरुबीचको संवादको ढाँचालाई परिवर्तन गर्ने मात्र हैन, संरचनालाई समेत परिवर्तन गरेको तथ्य पनि वैज्ञानिक अनुसन्धानले देखाएका छन्।

'ध्यान गर्छु' भन्नेहरुमा कतिपय यस्ता मान्छे हुन्छन् जो निश्चित आसनमा धेरै हलचल नगरी बस्नुलाई नै ध्यान ठान्छन् र खेलाडीहरुबीचको प्रतिस्पर्धाजस्तो जो धेरैबेर हलचल नगरी बस्नसक्छ उही ठूलो ध्यानी भने जस्तो गर्छन्। त्यो ध्यान हैन। शीलपालन, करुणा, मैत्री, जगतकै हितको चाहना र त्यसका निम्ति योगदानको स्वस्फूर्त तत्परता आदि सहित सचेत भएर सत्यलाई यथाभूत देख्ने अभ्यास पो हो त ध्यान। 

‘डोपामिन ककटेल’को क्षणिक आनन्दानुभूतिलाई नै केही ‘गुरु’ले बढाईचढाई गरेर यसैका आधारमा आफ्नो विधिलाई सही साबित गर्न खोज्छन् र तपाईंले भनेजस्तो ‘ईश्वर प्राप्ति’को भ्रम सिर्जना गरिदिन्छन्, ‘अर्को लोक’मा पुगेको बताइदिन सक्छन्। फलतः साधक कुनै न कुनै बेला अप्ठ्यारोमा पर्न सक्छ। जिन्दगीभर भ्रममै बाँचिरहन सक्छन्।

सही तरिकाले ध्यान गर्ने मानिस कुनै आलम्बनमा एकाग्र हुँदा प्राप्त हुने विभिन्न अनुभूतिलाई नै आफ्नो साध्य ठान्दैन। ध्यान अभ्यास र चिन्तनका विभिन्न चरणमा आफूभित्रको करुणा, मैत्री, सम्यक कौतुहल आदिलाई झन्-झन् बलियो पार्दै ऊ सबैको कल्याणका निम्ति सक्दो काम गर्न खोज्छ।

हरेक वस्तु र घटनाको अनित्यता, अपूर्णता र अन्तरनिर्भरतालाई स्पष्ट देख्न थालेपछि त्यो अनुभूतिजन्य ज्ञानमा टेकेर जब करुणा, मैत्री, समभावजस्ता सद्गुण हुर्किन थाल्छन्, सेरोटोनिनको प्राचुर्य बढ्दै जान्छ जसको सम्यक खुसी वा युडायमोनिक ह्याप्पिनेस’मा महत्वपूर्ण भूमिका हुन्छ।

हामीले के कुरा बिर्सनु भएन भने यस्ता न्युरो-ट्रान्स्मिटरको प्रभाव लगायत मस्तिष्कमा हुने अनेक गतिविधिका बारेमा निरन्तर महत्वपूर्ण अनुसन्धान लगातार भइनै रहेका छन्। र, नयाँ-नयाँ सत्य उद्घाटित हुने क्रममा छन्।

त्यो प्राज्ञिक क्षेत्रको काम भयो। त्यसमा चासो राख्नु एकदम राम्रो कुरा हो। तर अहिले नै ध्यानबाट हुने प्रमाणित र प्रत्यक्ष अनुभूतिले जन्माउने खुसी पाइन्छ भने प्राज्ञिक जिज्ञासा शान्त हुन्जेल किन पर्खिने? असल गुरुहरू र उत्तम संघहरुको सान्निध्यमा रहेर ध्यान अभ्यास गरिरहँदा कम्तीमा हानि त केही हुँदैन नि! 

त्योसँगै आफ्ना बौद्धिक, प्राज्ञिक उत्सुकतालाई शान्त गर्न अध्ययन पनि गरिरहने हो भने त सबैको भलो नै होला नि, हैन र? 

यो पुस्तकमा माइन्डलाई जसरी ट्रेन गर्यो उस्तै हुन्छ। ध्यानले हामीलाई ऊर्जा दिन्छ, सिर्जनशीलता दिन्छ, हाम्रो मस्तिष्क फरक हुन्छ, नत्र हुँदैन भन्छन्, हो?

मनलाई तालिम दिने भन्ने कुरा निश्चय नै महत्वपूर्ण हुन्छ र त्यसले मानिसलाई साँच्चै धेरै कुरा दिनसक्छ भन्ने कुरा त सत्य हो। बानीलाई परिवर्तन गर्ने अभ्यास र प्रयत्नले मस्तिष्कका न्युरोन (स्नायकोषिका)हरुबीचको संवादको ढाँचालाई परिवर्तन गर्ने मात्र हैन, संरचनालाई समेत परिवर्तन गरेको तथ्य पनि वैज्ञानिक अनुसन्धानले देखाएका छन्। हामीलाई ऊर्जा दिने र सिर्जनशीलता बढाउने तत्व नै ध्यानबाहेक अरु छैन भन्न भन्न चाहिँ मिल्दैन।

संसारमा यति धेरै सिर्जनशील मान्छे छन्। ती सबैले त कहाँ ‘ध्यान’ गरेका हुन्छन् र! तर उनीहरुको व्यवहारमा नै सम्यक ध्यानका अनेक महत्वपूर्ण तत्त्व भने लुकेका हुन सक्छन्।      

तपाईंको विचारमा योङ्गे मिङ्ग्युर रिन्पोचे कस्तो हुनुहुन्छ?

हामी बाँचेको यो युगमा एउटा असल गुरु, जस्तो हुनुपर्ने हो, त्यस्तै हुनुहुन्छ। उमेरमा उहाँ म भन्दा बीस वर्ष कान्छो हुनुहुन्छ। तर मैले साँच्चै आदर गर्ने व्यक्तिहरुमा अग्रस्थानमा पर्नुहुन्छ।

कसरी प्रभावित हुनुभयो?

उहाँका बारेमा साथीहरुबाट सुनेर, उहाँका पुस्तक पढेर, उहाँको प्रवचन सुनेर र उहाँबाट शिक्षा ग्रहण गरेर।

७ साउन, २०७९, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।