खुमलटारदेखि गोदावरीसम्म ‘साइन्स सिटी’ बनाउँदै नास्ट

खुमलटारदेखि गोदावरीसम्म ‘साइन्स सिटी’ बनाउँदै नास्ट

काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले ललितपुरको खुमलटारदेखि गोदावरीसम्म साइन्स सिटी बनाउने भएको छ। सो क्षेत्रलाई विज्ञान सहरको रूपमा विकास गर्ने अवधारणामार्फत नास्टले देशकै पहिलो साइन्स सिटी बनाउन लागेको हो।

आइतबार नास्टको नवौँ सम्मेलनको उद्घाटन समारोहको अवसरमा चार मिनेट लामो वृत्त चित्रमार्फत सो अवधारणा पेस गरिएको थियो। जसअनुसार ललितपुरको सातदोवाटोदेखि गोदावरीसम्मको क्षेत्र समेटिने गरी नास्टले साइन्स सिटीको परिकल्पना गरेको छ।

ललितपुर महानगरपालिकाको वडा १५, २३, २८ र २९, गोदावरी नगरपालिकाको वडा न १४ र ३ र महालक्ष्मी महानगरपालिकाको केही भाग समेटी सातदोवाटोदेखि गोदावरीसम्मको करिब ११ किलोमिटर सडक खण्डको दायाँ बायाँको क्षेत्र साइन्स सिटीमा समेटीने छ।

विज्ञान र प्रविधिमा रुचि राख्ने व्यक्ति, खोज एवम् नवप्रवद्र्धनमा लाग्ने देशभरका आम नागरिक, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ताका लागि अनुसन्धान, अवलोकन, अध्ययन गर्ने र परिक्षण गर्ने केन्द्रको रूपमा स्थापित गर्नु साइन्स सिटिको मुख्य उद्देश्य हुने कार्यक्रममा जानकारी दिइएको थियो। साथै गोष्ठी सेमिनार आयोजनामार्फत ज्ञान र अनुभवको आदानप्रदान गर्ने र विज्ञान प्रविधिमा जागरण र मनोरञ्जन ल्याउने यस साइन्स सिटिको मुख्य उद्देश्य हुने बताइएको थियो।

यस क्षेत्रमा नास्ट, नार्क, राष्ट्रिय प्रकृति संरक्षण कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सिड बैङ्क, विधि विज्ञान प्रयोगशाला, इसिमोड  र वनस्पति उद्यानजस्ता विज्ञान र प्रविधिको क्षेत्रमा काम गरिरहेका संस्थाहरू, सातदोवाटो खेलकुद परिषद्, लिटिल एन्जल्स, जेम्स, सेन्ट जेभियर स्कुल, सुमेरु अस्पताल, नेपाल क्यान्सर अस्पताल आदीजस्ता शैक्षिक एवम् स्वास्थ्य संस्थाहरू, हरिसिद्धि ठैब, बाडेगाउँजस्ता ऐतिहासिक सांस्कृतिक सम्पदा बस्तीहरू, हालै निर्मित गोदावरी सनराइज जस्ता सार्वजनिक पूर्वादारहरू संलग्न हुनेछन्।

तीन चरणमा निर्माण गरिने सो अवधारणा सन् २०३० सम्ममा निर्माण सम्पन्न गरिने उसको लक्ष्य छ। पहिलो चरणमा यिनै पूर्वादारहरू स्रोत साधन र विभिन्न सङ्घसंस्थाको परिसरलाई अन्तरसम्बन्ध गर्दै साइन्स सिटिको निर्माण सुरु हुनेछ।

दोस्रो चरणमा साइन्स सिटिका अन्य महत्त्वपूर्ण पक्षहरुः पर्यावरण र परम्परागत पूविधि प्रदर्शनी स्थलहरूको स्तरोन्नति, वृद्धि एवम् नास्ट परिसरमा विज्ञान प्रविधि पार्क निर्माण गरिनेछ। त्यसै गरी नार्क परिसरमा हिमाल, पहाड र तराईमा प्रचलनमा रहेका र नवीनतम कृषि खाद्य तथा हरित प्रविधि र अनुसन्धानको केन्द्र बन्नेछ।

तेस्रो तथा अन्तिम चरणमा साइन्स सिटी भित्रको कनेक्टिभिटीको लागि केबलकार, विद्युतीय यातायात, पूर्वाधारको विकास, विज्ञान तथा प्रविधि बृहत् प्रदर्शनी स्थल तथा अन्वेषण केन्द्र एवम् नेपाली परम्परागत सम्पदा बस्तीको शैलीमा निर्मित साइन्टिस्ट भिलेजको निर्माण गरिने छ । सन् २०३० सम्ममा पूर्ण रूपमा सञ्चालित दक्षिण एसियाकै आकर्षक साइन्स सिटी बन्नेछ।

१२ असार, २०७९, २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।