सेयर बजारमा अनशनको प्रभाव, साताको पहिलो दिनको कारोबार सकारात्मक

सेयर बजारमा अनशनको प्रभाव, साताको पहिलो दिनको कारोबार सकारात्मक

काठमाडौँ : लगानीकर्ताको माग लिएर अनशनमा बसेका तिलक कोइरालासँग सहमति गरेर अनशन तोडिएसँगै आइतबारको शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार नेप्से परिसूचक ९४.९२ अङ्क बढेर १९५६.९८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ६.६५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६६ अङ्क बढेको छ।

नेप्सेसँगै आइतबार कारोबार रकममा पनि सुधार भएर दैनिक औसतमा १ अर्बको शेयर कारोबार भइरहेकोमा २३० स्टकको ४४ हजार ३४१ पटकको कारोबारमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको ६३ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार २ सय २३ स्टकको मूल्य बढेको छ। ३ दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। २१ स्टकको मूल्य १० प्रतिशत बढेको छ। ५ स्टकको मात्र मूल्य घटेको छ।

कारोबार रकमका आधारमा आइतबार कुमारी बैङ्क शीर्ष स्थानमा रह्यो। उसको ८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। नबिल बैङ्कको ६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक उकालो लाग्यो। लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ भने विकास बैङ्क उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ। वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटेल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

१२ असार, २०७९, १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।