न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको अवैध धन्दा : भण्डारी र जोशीले ठूला सप्लायर्सकहाँ पठाउने गरेको खुलासा

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको अवैध धन्दा : भण्डारी र जोशीले ठूला सप्लायर्सकहाँ पठाउने गरेको खुलासा

बुटवल : न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री नामक भिटामिनको अवैध धन्दा गर्ने बुटवलका दिपेन्द्रसिंह भण्डारी र महेशदत्त जोशीले त्यस्ता भिटामिन बुटवलकै ठूला सप्लायर्सकहाँ पठाउने गरेको पाइएको छ। 

औषधि जस्तै देखिने न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीमा रि-लेबलिङ गरी आफैं मूल्यसूची राखेर उनीहरुले सप्लायर्समार्फत फार्मेसीमा पठाउने र डाक्टरलाई अधिक कमिसन दिएर बिक्री गर्ने गरेका छन्।

बुटवल, दीपनगरस्थित एक घरमा अवैध रुपमा न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको भण्डारण र रि-लेबलिङ गरिएको विषय सार्वजनिक भएसँगै यससँग जोडिएका थप तथ्यहरु समेत बाहिर आएका हुन्।

दीपनगरबाट न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री रि-लेबलिङ भएर सुरुमा दिपेन्द्रसिंह भण्डारीले सञ्चालन गरेको मेडी बैंक प्रालिमा जाने र त्यहाँबाट विभिन्न डिस्ट्रिब्युटरकहाँ पुग्ने गरेको खुलेको हो।

समाचार स्रोतका अनुसार त्यहाँबाट न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री न्यु श्री इन्टरनेसनल, श्री इन्टरप्राइजेज, सुमित इन्टरप्राइजेज, सुमित फर्मास्युटिकल्स, पञ्चकोटी मेडिसिन सप्लायर्स लगायत अन्य थुप्रै सप्लायर्सहरुलाई यहाँबाट रि-लेबलिङ भएको सप्लिमेन्ट्रीहरु पुग्छन्। त्यसपछि मात्र डाक्टरको सिफारिस अनुसार फार्मेसीमा पुग्ने गरेको छ।

भण्डारीले सञ्चालन गरेको मेडी बैंक प्रालिबाटै सप्लायर्सकहाँ अनाधिकृत न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री जाने प्रमाणित हुँदा समेत प्रशासनले कुनै कारबाही गर्न सकेको छैन।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि बिक्री गर्न नपाइने प्रावधान हुँदाहुँदै मेडी बैंक प्रालिबाट यस्तो भिटामिन सप्लासर्यबाट करोडौंमा बिक्री हुँदा समेत प्रशासन मौन बसेपछि विभागको भूमिकाप्रति शंका उब्जिएको छ।

डाक्टरको प्रत्यक्ष संलग्नतामा अनाधिकृत रुपमा न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री बिक्री-वितरण भएको समाचार बाहिर आउँदा चिकित्सक संघले आधिकारिक धारणा बाहिर ल्याएको छैन।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव डा. सन्तोष पोखरेलले भने डाक्टरलाई कुन कम्पनीले कसरी औषधि ल्याउँछ भन्ने थाहा नहुने बताए। कर छलेर ल्याएको थाहा भएमा डाक्टरले त्यस्ता औषधि बिक्रीका लागि सिफारिस नगर्ने उनले बताए।

कम्पनी दर्ता गरेरै औषधि बिक्री गरेको विश्वासमा डाक्टरले सिफारिस गरेको हुनसक्ने उनको भनाइ छ। नेपालमा दर्ता नभएका औषधिहरु भने डाक्टरले बिक्री नगरेको उनले बताए।

‘डाक्टरलाई फसाउन कुनै एमआरले कसैलाई सपोर्ट गरेको हुनसक्छ। तर यो अवैध हो, रि-लेबलिङ गरेको हो भन्ने थाहा भएमा कुनै पनि डाक्टरले यस्तो कार्य गर्दैनन्,’ उनले भने।

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री औषधि भने होइन। यो औषधि जस्तै भिटामिनको तत्व हो। रि-लेबलिङ गरी मिति र मूल्य कायम गर्नेमा मुख्यत: लियो न्युट्रिसाइन्स, कोननोट हेल्थ कियर लगायत छन्। यी न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री सबै भारतमा उत्पादन भएर नेपालमा आउने गर्छन्।

बुटवल उपमहानगरपालिका- ७, दीपनगरमा रहेको बर्तौली प्रिन्टर्सबाट अवैध रूपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री-वितरण गर्दै आएकोमा प्रहरीले एक साताअघि उनीहरुको गोदाममा छापा मारेको थियो।

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीमा रि-लेबलिङ गर्ने, म्याद राख्ने उक्त गोदाम बुटवल- ७ मा भेटिएको भए पनि प्रमाणित कागजपत्रमा भने बुटवल- ८ मा रहेको भेटिएको छ।

११ असोज २०७८ मा बर्तौली प्रिन्टर्सको नाममा दर्ता भएको यो अफसेट प्रेस १ लाख रुपैयाँ राखी राखेर महेशदत्त जोशीको नाममा दर्ता भएको छ। अफसेट प्रिन्टका नाममा दर्ता भएको भए पनि यो मेसिन अफसेट प्रेस अन्तर्गतको नभई औषधिमा रि-लेबलिङ गर्ने मेसिन हो।

डाक्टरहरुले क्यान्सर, मिर्गौला, हाडजोर्नीका बिरामी, सुत्केरी हुने महिलालाई विशेषगरी यो भिटामिन सेवनका लागि सिफारिस गर्छन्। यो एक इनर्जी तत्व पनि हो। 

औषधि विभागमा दर्ता भएका औषधि मात्र राख्न पाइने भए पनि बुटवलका फार्मेसीमा अनाधिकृत न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री बिक्री हुने गरेको पाइएपछि बजार अनुगमन र नियमनमाथि पनि प्रश्न उठेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले मुख्य अभियुक्त दिपेन्द्रसिंह भण्डारी र महेशदत्त जोशी अहिले फरार भएको र उनीहरुको खोजी भइरहेको बताए।

त्यस्तै प्रहरीले त्यहाँ काम गर्ने बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, २३ वर्षीय महेश भण्डारी र २६ वर्षीय हरिश भण्डारीलाई पक्राउ गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा त्यहाँबाट न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री धेरै सप्लायर्सबाट फार्मेसीमा जाने गरेको र डाक्टरहरु समेत त्यसमा जोडिएको उनले बताए।

‘पक्राउ परेकाहरुबाट हामीले अनुसन्धान गरिरहेका छौं। उनीहरुले बताए अनुसार हामीले प्रमाणित हुने गरी अहिले कागजपत्र पनि संकलन गरिरहेका छौं,’ उनले भने।

उनले अफसेट प्रेस दर्ताका सम्बन्धमा पनि विभिन्न संस्थाहरुबाट प्रमाणित गर्ने काम समेत गरिरहेको बताए। ‘मेडी बैंक प्रालिको नाम आए पनि पक्राउ परेका व्यक्तिले यसमा बोल्नुपर्छ। त्यसपछि पनि हामी कानुन अनुसार प्रमाणित गरेर त्यसमा थप अनुसन्धान गर्नेछौं,’ उनले भने।

औषधि व्यवसायी संघ रुपन्देही महासचिव पुरुषोत्तम भट्टराईले अनाधिकृत औषधिजन्य तत्व बिक्री भएको घटना सार्वजनिक भएसँगै यसबारे औषधि व्यवस्था विभागबाट पनि थप अनुगमन हुनुपर्ने बताए।

अवैध रुपमा औषधि बिक्री हुने गरेको विषयमा प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देही भने बेखबर छ। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले यसबारे आफूहरुलाई केही थाहा नभएको बताए।

प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रवक्ता रोशनलाल चौधरीले पनि यो विषय आफ्नो क्षेत्राधिकार भन्दा बाहिर भएको र जानकारी पनि नभएको बताए।

बुटवल उपमहानगरपालिकाकी शिक्षा तथा जनसंख्या महाशाखाकी कल्पना भट्टराई पौडेलले छापा मार्ने क्रममा दीपनगरमा गए पनि त्यसपछिको अनुसन्धान प्रहरीले गराएकाले यसबारे थप आफूलाई केही जानकारी नभएको बताइन्। 

१२ असार, २०७९, १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।