सफलताको कथा : इलेक्ट्रिकल इन्जिनियर जो पशुपालनबाट मासिक १५ लाख कमाउँछन्

सफलताको कथा : इलेक्ट्रिकल इन्जिनियर जो पशुपालनबाट मासिक १५ लाख कमाउँछन्

बुटवल : इलेक्ट्रिकल इन्जिनियर बासु भुसालले १४ वर्ष इलेक्ट्रोनिक क्षेत्रमा काम गरे। पढेकै त्यही विषय, रुचि पनि त्यसमै। अरुको जागिर गरेर पनि राम्रै आम्दानी थियो।

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१, ढाकावाङका बासुलाई लाग्यो- अरुकहाँ जागिर गर्नुभन्दा अरुलाई जागिर दिने गरी आफ्नै काम गर्नुपर्छ।’ त्यसपछि उनी नेपालमा सम्भवना के-के छन् भनेर रिसर्च गर्न थाले।

६ महिनाको अध्ययनका क्रममा उनले नेपाल र भारतका विभिन्न स्थानमा पुगेर पशुपालन फार्मको अवलोकन गरे। त्यसपछि उनले नेपालमा पशुपालनको ठूलो सम्भावना देखे।

‘यहाँ नगरेर रहेछ। गर्न सके जे काममा पनि कमाउन सकिन्छ। ३५/४० हजार कमाउन कहीँ कतै जानै पर्दैन। मात्र नेपालीले आफ्नो देशमा कर्म गर्नुपर्छ,’ बासुले भने।

पेसाले पूर्णकालीन इलेक्ट्रिकल इन्जिनियर बासुले पशुपालक बन्ने निधो गरे। उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१०, कान्छी बजारमा मामधेनु क्याटल ब्रिडिङ एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरे।

१० वटा गाई सहित र ४० लाख रुपैयाँको लगानीबाट उनले रिसर्च सेन्टर सुरु गरे। अहिले यो रिसर्च सेन्टर धेरैका लागि रिसर्च गर्ने थलो समेत बनेको छ।

२०७६ सालबाट सुरु गरेको यो रिसर्च सेन्टर प्रालिमा अहिले ठूला-साना गरी १०५ वटा गाई र भैंसी छन्। 

युवा व्यवसायी बासुले व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी त गरेका छन् नै धेरैलाई काम गर्ने प्रेरणा समेत दिएका छन्। रिसर्च सेन्टर स्थापनाको छोटो समयमै उनले राम्रो आम्दानी समेत लिन थालेका छन्।

अहिले फार्ममा दैनिक ११ सय लिटर दूध उत्पादन हुँदै आएको छ। दूध बिक्री गर्न बजारमा डुलाउनु पर्दैन। ग्राहक/डेरीवाला सबै फर्ममै आएर दूध संकलन गरी लैजाने गरेको उनी बताउँछन्। पवन मिष्ठान्न भण्डार भैरहवा, बुटवलको पवित्रा डेरी र अन्य स्थानीय डेरीहरुमा दूध खपत हुँदै आएको छ।

फार्मबाट अहिले दैनिक ७५ हजार बढीको दूध बिक्री हुँदै आएको उनले बताए।

बासुको फार्ममा रहेका उन्नत जात (होलिस्टिन) एउटा गाईले दैनिक ६५ लिटरसम्म दूध दिँदै आएको छ। फार्ममा मुर्रा जातका भैंसी र होलस्टिन जातका गाई छन्।

फार्ममा ८ जना कामदारलाई प्रत्यक्ष रुपमा रोजगार दिएका छन् बासुले। कामदार भने सबै भारतीय छन्। उनी भन्छन्, ‘नेपालीले यहाँ काम नै गर्न चाहँदैनन्। मेरा कामदार सबै भारतीय हुन।’

उनको फार्मको ५ बिघा क्षेत्रफल जग्गामध्ये उनले २ बिघामा फार्म निर्माण गरेका छन् भने ३ बिघा क्षेत्रफलमा घाँस खेती गरेका छन्। गाईलाई दाना र साइलेज बढी मात्रामा प्रदान गर्दै आएकोमा भैंसीलाई भने घाँस खेतीमा आधारित रहेर पालन गर्दै आएका छन्।

हालसम्म फार्ममा ४० लाखभन्दा बढी लगानी गरेका बासु महिनामा १५ लाखभन्दा बढी आम्दानी हुने बताउँछन्। जसमा खर्च कटाएर करिब ७ लाख ५० हजार रुपैयाँ बचत हुने उनको भनाइ छ। 

दैनिक ३ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य
बासुले अहिले फार्ममा ८ जनलाई रोजगारी दिएका छन्। अब थप गाई, भैंसी फार्ममा ल्याउँदा पनि खर्च उही नै हुने भएकाले अझै ९५ वटा गाई-भैंसी खरिद गर्ने योजना रहेको उनले बताए। पशुपालनको पालन-पोषणमा समय खर्च उही हुने भएकाले फर्ममा गाई भैंसीको संख्या थप्न लागेको उनले बताए। ९५ वटा गाई-भैसी थप हुँदा फार्ममा ३ हजार लिटर दैनिक दूध उत्पादन हुने उनको भनाइ छ।

त्यति मात्र होइन, फर्मलाई रिसर्च सेन्टरको रुपमा विकास गर्दै पशुपालन गर्न चाहने कृषकका लागि अध्ययनको थलो बनाउने उनको योजना छ। निकट भविष्यमा गाईको गोबरबाट ग्याँस प्लान्ट समेत सञ्चालन गर्ने योजना बनाएको बासुले सुनाए।

योसँग उनले सुपादेउराली डिललिङ एण्ड कन्स्ट्रक्सन प्रालि र राजश्री ड्रिलिङ एण्ड कन्स्ट्रक्सन सप्लायर्स प्रालि समेत सञ्चालन गर्दै आएका छन्। उनी जमिन मुनिको पानी निकाल्ने प्राविधि ड्रिलिङको काम समेत गर्छन्। उनी भन्छन्, ‘जे जस्तो काम गरे पनि पशुपालन नै ठिक। मलाई सबैथोक यहीँ। अमेरिका यहीँ, कुवेत, जापान यहीँ।’

छैन सरकारप्रति गुनासो
व्यावसायिक पशुपालनमा लागेका बासु खनालको सरकारप्रति कुनै गुनासो छैन। काम गर्ने शैली फरक मात्र हुँदा पनि व्यावसायिक सफलता प्राप्त गर्न सकिने उनले बताए।

‘मिहिनेत, परिश्रम, खटाइ यसमा धेरै छ। सरकारले यो गरेन, त्यो गरेन भन्नु बेकार हो। कर्म गरेपछि सफलता मिल्छ। कसैको आशमा बसेर व्यर्थमा टाउको किन दुखाउनु,’ उनले भने।

७ असार, २०७९, ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।