साझाको सम्पत्तिमा निजी प्रकाशकको रजाइँ, अनुमति नै नलिई छापिरहेछन् चर्चित किताब

साझाको सम्पत्तिमा निजी प्रकाशकको रजाइँ, अनुमति नै नलिई छापिरहेछन् चर्चित किताब

काठमाडौँ : पुस्तक विक्री गर्ने अनलाइन पोर्टल थुप्रै डटकममा साहित्यकार मदनमणि दीक्षितको मदन पुरस्कार प्राप्त पुस्तक ‘माधवी’ खोज्दा दुई प्रकाशन गृहले छापेको एकै पुस्तक फेला पर्यो। साझा प्रकाशनले पहिलो पटक २०३९ मा छापेको थियो यो पुस्तक। त्यही किताब नयाँ साजसज्जा गरेर बुकहिल पब्लिकेशनले छाप्यो।

साझाले प्रकाशन गरेको मदनमणि दीक्षितको ‘माधवी’सँगै  नारायण ढकालको ‘प्रेतकल्प’ सरुभक्तको ‘पागलवस्ती’ पनि बुकहिलले पुन मुद्रण गरेको छ।

साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईका अनुसार साझा प्रकाशनमा लेखकले पुस्तक छाप्दा ‘साझा प्रकाशनले प्रकाशन गरुन्जेल र रोयल्टी दिउन्जेल अन्यत्र पुस्तक छाप्न पाइने छैन’ भनेर सम्झौता गरिएको हुन्छ।

साझाका महाप्रबन्धक प्रह्लाद पोखरेलका अनुसार साझाले प्रकाशन गरेको जति पनि किताब पुन मुद्रण भएका छन् ती साझासँग अनुमति लिएर छापिएका होइनन्।

भट्टराई र पोखरेलको भनाइले नै बुकहिलले माधवी प्रकाशन गर्नु गैर कानुनी देखियो।

बुकहिल प्रकाशनका प्रमुख भूपेन्द्र खड्का साझाले आफ्नो दायित्व पूरा नगरेका कारण आफूहरूले पुन मुद्रण गरेको र लेखकहरू नै प्रकाशनका लागि आएको दाबी गरे। उनी साझाले पहिला निकालेको जति किताब पुन मुद्रण गरिएको छ लेखक र लेखकका परिवारसँग अनुमति लिएर छापेको बताउँछन्।

‘माधवी पुस्तक छाप्दा उहाँको छोरा विनोद दीक्षितसँग मैले अनुमति मागेको छु। उहाँले साझामा सो किताब नछाप्न पत्र पठाउनु भएको थियो। अन्य लेखकको पुस्तक उहाँहरूको अनुमतिमा छापेको हो। अनुमति नलिई त किन छाप्थ्यौँ र हामीले,’उनले भने, ‘साझाले लेखकलाई १० वर्ष देखि रोयल्टी नदिएकाले हामीले अग्रिम रोयल्टी दिएर छापेका हौँ।'

साझासँग लेखकहरूले गर्ने सम्झौतामा' सम्झौता अनुसार साझा प्रकाशनले यो पुस्तक प्रकाशन गरुन्जेल र लेखकलाई नियम अनुसार रोयल्टी दिउन्जेल लेखकले अरू कसैलाई प्रकाशन गर्न दिन वा आफैँले समेत प्रकाशन गर्न पाउने छैनन्' लेखिएको छ।

खड्काले साझाले दायित्व पुरा नगरेको र परिवारका सदस्यको अनुमतिमा छापेको दाबी गरे पनि यो सहमति पत्र अनुसार लेखकले वा  हकप्राप्त व्यक्तिले साझासँग अनुमति नलिई पुस्तक प्रकाशन गर्नु कानुनसम्मत देखिएन। साझाका प्रवक्ता भट्टराइका अनुसार कुनै लेखक वा लेखकको हकदारले कुनै पुस्तकको अनुमति माग गरेर निवेदन दिए पनि साझाको सञ्चालक समितिले अनुमति नदिईकन निवेदन दिएकै आधारमा मात्र पुस्तक अन्य प्रकाशनबाट पुन छाप्न पाइँदैन।

उनले साझाले प्रकाशन गरेको जति पनि पुस्तक अन्य प्रकाशनले छापेका छन् ती सबै गैर कानुनी काम भएको बताए।

साझा कमजोर भएको मौका छोपेर उसको स्वामित्वको सम्पत्तिको व्यापार गर्नेमा बुकहिल मात्रै एक्लो हैन। लेखक कृष्ण धरावासीको ‘राधा’ पैरवी प्रकाशनले छापेको देखिन्छ। यो पुस्तकले २०६२ सालमा मदन पुरस्कार पाएपछि बजारमा पुस्तकको राम्रो माग देखेर पैरवी र लेखक धरावासीले साझाबाट अनुमति नै नआई पुस्तक पुन प्रकाशन गरे।

लेखक महेशविक्रम शाहको कथा सङ्ग्रह छापामारको छोरो पहिला साझाले छापेको थियो। सो किताबले मदन पुरस्कार पाएपछि त्यही पुस्तक अर्को निजी प्रकाशन गृह फाइनप्रिन्टले पुन प्रकाशन गर्यो। साझाको विवरणमा यो किताबका लेखकले पनि अन्त पुन मुद्रण गर्ने अनुमति पाएको देखिएन।

'लेखकले साझामा निवेदन दिएर हाम्रोमा ल्याउनु भएको हो,' फाइनप्रिन्टका सञ्चालक अजित बरालले उकेरासँग भने' हामीले नियम अनुसारै छापेका हौँ।'

सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ पुस्तकको अङ्क ५ प्रकाशनको अधिकार साझासँग छ। यो पुस्तक अहिले फोनिक्स बुक्सले छापेको छ। जनकलाल शर्माको ‘समाज एक अध्ययन’ पुस्तक मञ्जरी प्रकाशन गृहले पुन प्रकाशित गरेको छ। साझाबाट प्रकाशित भएका पुस्तकहरू पुन मुद्रण गर्ने निजी प्रकाशन गृहमा मञ्जरी अगाडि देखिन्छ। उसले एक दर्जन बढी साझाले पहिला छापेको पुस्तकहरू प्रकाशित गरेको छ।

मञ्जरी प्रकाशनका पूर्व कार्यकारी प्रमुख कृष्ण अविरल पनि खड्का र बरालकैझैँ सम्बन्धित लेखक तथा लेखकको उत्तराधिकारीको अनुमति लिएर मात्रै पुस्तक छापेको बताउँछन्।

उनले जनकलाल शर्माको पुस्तक छाप्दा शर्माका छोरा सुमन ढकालसँग अनुमति लिएको र तारानाथ शर्माको पुस्तक छाप्दा लेखक स्वयमको नै अनुमति लिएको बताए। तर यी दुवै लेखकले साझाबाट अन्य प्रकाशन गृहबाट पुन प्रकाशित गर्ने अनुमति पाएको देखिएन।

साझा सिरिज

साझाका प्रवक्ता भट्टराईका अनुसार कृष्ण धरावासीको ‘राधा’ र महेशविक्रम शाहको ‘छापामारको छोरो’ले अन्य प्रकाशन गृहबाट पुस्तक पुन मुद्रण गर्न निवेदन दिए पनि साझाले अनुमति दिएको छैन।

‘हामीले लेखकलाई रोयल्टी नै नदेका पनि होइनौँ, जतिले बाहिरबाट किताब छाप्नु भएको छ सो किताब हामीले पनि पुन मुद्रण गरेका छौँ,’उनले भने, ‘केही वर्षदेखि भूत्तानीको समस्या भएको हो। तर हामीसँग अनुमति नै नलिई जति पुस्तक छापिएका छन् त्यो गैर कानुनी हो।’

अविरल भने साझाको अनुमति लिन आवश्यक नहुने तर्क गर्छन्।

‘जनकलाल शर्माकै पुस्तक छाप्दा उहाँको छोराले साझालाई अब आइन्दा साझाबाट पुस्तक नछाप्नु भनी पत्र पठाउनु भएपछि र हामीलाई छाप्न अनुमति दिनु भएपछि हामीले छापेका थियौँ,’उनले भने, ‘सम्बन्धित लेखकको अनुमति र छापेको संस्थालाई जानकारी दिएपछि भइनै हाल्छ। प्रकाशन गृह फेर्ने नपाउने भन्ने हुँदैन। यदि उहाँहरूलाई गैर कानुनी लाग्छ भने कानूनीबाटोमा गए भइहाल्छ।’

वास्तै छैन साझालाई

अन्य प्रकाशन गृहले पुन प्रकाशित गरिरहेको पुस्तक साझाको गोदाममा थन्किएको छ। अन्य प्रकाशन गृहले धमाधम त्यही किताब पुन मुद्रण गरेर व्यापार गरिरहेको छ। साझा नेतृत्व भने देखेको नदेख्यै गरेर बसेको छ।

निजी प्रकाशकहरू लेखकले दिएको अनि साझाले दायित्व पुरा गरेन भन्ने कुतर्क गरेर अर्काको सम्पत्तिको व्यापार गरेर कमाई गरिरहेका छन्।

प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कुनै रचनाको रचयिता आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिताबाहेक व्यक्ति वा संस्थामा मूल रूपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्थाको अनुमति लिनुपर्ने उल्लेख छ।

लेखकको निधन भएको ५० वर्ष पछि सो रचनामा कुनै अनुमति लिनु नपर्ने उल्लेख छ। केही पुस्तक लेखकको निधन भएको ५० वर्ष प्रकाशित भएको भए पनि अधिकांश पुस्तक लेखकले नै अन्य प्रकाशन गृह लगेर छापेका  तथा लेखकको निधन भएपछि प्रकाशन गृहले लेखकको परिवारसँग कुरा गरेर साझाको अनुमति नलिइन पुस्तक प्रकाशन गरेको देखियो।

साझाका महाप्रबन्धक पोखरेल साझाले १० वर्षदेखि नियमित रोयल्टी दिन नसकेको स्विकार्छन्। तर लेखकलाई अप्ठ्यारो परेको अवस्थामा रोयल्टीको रूपमा किताब दिने गरेको उनले बताए।

साझाले सबैलाई पुरै रोयल्टी दिन नसके पनि केही-केही दिइरहेको दाबी गर्दै उनले साझाले कमजोरी गर्यो भनेर अनुमति नै नलिई अन्त प्रकाशन गर्न दिनु लेखक र प्रकाशकमा नैतिकता नदेखिएको बताए।

‘माधवी लेखक मदनमणि दीक्षितका छोरा विनोद दीक्षित, राधाका लेखक कृष्ण धरावासीसँग मेरो कुराकानी भएको थियो यसबारे,’उनले भने, ‘अनुमति नै नदिई किन दिनु भयो भन्दा समयमा रोयल्टी नदिएर भन्नु भयो। साझा आफैँ डुबेपछि केही ढिला अवश्य भएको हो। तर साझाको अनुमति बेगर अन्यत्र प्रकाशन गर्नु भनेको त नैतिक काम भएन।’

लेखकको आफ्नै गुनासो

'चुलो', 'पागलवस्ती' तथा नाटकका लेखक सरुभक्त साझाबाट अन्यत्र प्रकाशन गृह जानुमा बाध्यता भएको बताउँछन्।

‘ चुली स्नातक तहको पाठ्यपुस्तक हो। लाख भन्दा बढी विद्यार्थी छन्। तर मैले साझाबाट रोयल्टी नै नपाएको १० वर्ष  बढी भयो,’ उनले भने, ‘रोयल्टी मात्रै हैन, पुस्तक बजारमा नआउने, पुस्तक छाप्नै नसक्ने भएपछि अन्यत्र लगेको हो।’

लेखक कृष्ण धरावासीको अनुभव भने अर्कै छ। २०७० सालमा धरावासीलाई साझा प्रकाशनले रोयल्टी बापत भनेर ५० हजारको चेक थमाइदियो। चेक त थमाइदियो त्यो चेकमा पैसा थिएन। चेक बाउन्स भएपछि धरावासी मुद्दामामिला तिर लागेनन्। सर्लक्क चेक साझामा बुझाइदिए। साझाले नगद दियो। उनले त्यही दिनबाट आफ्ना कुनै पनि पुस्तक नछाप्न साझालाई औपचारिक पत्र लेखेर हिँडे।

‘लेखेर नै घर चलाउँछु भनेर कृषि विकास बैङ्कको जागिर छोडेको थिएँ। साझाबाट न त हिसाब किताब यति छ भनेर देखाए न त समयमा नै रोयल्टी दिए,’उनले भने, ‘त्यसपछि औपचारिक पत्र काटेर छोडिदिएको थिएँ।’

उनले औपचारिक पत्र काटे पनि यता साझाले भने राधा पुस्तक निकालिरहेको छ। अमेरिकाबाट केही समयको लागि आएका धरावासीले यसबारे साझामा बुझे। साझा प्रकाशनले पहिलेको हिसाब पनि भन्न सकेन। फेरि ५० हजार थमाइदियो।

कानुनी परामर्शमा साझा

साझा प्रकाशनका महाप्रबन्धक पोखरेल आफ्ना कति पुस्तक अन्य प्रकाशन गृहले पुन मुद्रण गरेका छन् थाहा नभएको बताए। ‘साझा प्रकाशनले छापेका पुस्तकहरू अन्य प्रकाशन गृहले पुन मुद्रण त गरेको मैले पनि बजारमा किताब आएको देखेको छु,’ उनले भने, ‘जति किताब पुन मुद्रण भएका छन् ती साझासँग अनुमति लिएर छापिएका होइनन्।’

पोखरेलकै भनाइबाट साझा आफ्नो सम्पत्तिको सुरक्षामा कति लापरवाह छ भन्ने देखिन्छ। कुन लेखकले कति रोयल्टी पाउन बाँकी छ भन्ने समेत नभएको देखियो।

‘यतिन्जेलसम्म कुन लेखकको लेखकस्व कति भन्ने तथ्याङ्क नै रहेनछ भन्दा पनि हुन्छ। व्यवस्थित पनि छैन,’उनले भने,‘अब हामीले हिसाब बनाउँछौँ। पहिलेको समस्या दोहोराउँदैनौँ।’

उनले अब साझाबाट पुस्तक पुन प्रकाशित गर्न इच्छा नभए सहमति पालना गरेर पुस्तक पुन प्रकाशन गर्न आग्रह गरे। पुस्तक प्रकाशन व्यापार मात्र नभएर बौद्धिक क्षेत्र पनि भएकाले साझा तत्काल कानुनी प्रक्रियामा नगएको बताउँदै पोखरेलले भने' लेखक अनि प्रकाशकहरूमा नैतिकता देखिएन। अब त अति नै गर्न थालेकाले कानुनी प्रक्रियामा जाने परामर्श गरिरहेका छौँ। जो-जोलाई अन्य प्रकाशन गृहबाट आफ्नो पुस्तक पुन प्रकाशित गर्न मन छ सहमति पत्रमा उल्लेख प्रावधान अनुसार अनुमति लिए हुन्छ। अनुमति नलिई प्रकाशित गरे कारबाहीमा जानुको विकल्प छैन।'

२६ जेठ, २०७९, १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।