बन्द र बेथितिभित्रको त्रिभुवन विश्वविद्यालय

बन्द र बेथितिभित्रको त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय तीन दशकयता विभिन्न विसंगति र विकृतिको शिकार बन्दै आएको छ। राजनीतिक दलका नाममा र विभिन्न विद्यार्थी, कर्मचारी, प्राध्यापक संघ, संगठनका नाममा त्रिवि पटक पटक बन्द, हड्ताल र आक्रमण खेप्ने निरीह संस्था बन्न पुगेको छ।

विश्वविद्यालयको नेतृत्त्व र पदाधिकारी राजनीतिक पार्टीको भागबण्डामा परी टीका लगाइ आउने नाङ्गो अभ्यासले पनि विश्वविद्यालयको गरीमा, मर्म, अर्थ र अस्तित्व दिनानुदिन खस्कँदै गएको छ।

विश्वविद्यालयको नयाँ खाका कोर्न, प्राज्ञिक तथा शैक्षिक उन्नयन गर्न, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न, विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउन, साँच्चैको ज्ञानालय, उच्च शिक्षालय, विश्वविद्यालय बनाउन सक्ने क्षमता, ज्ञान, सामार्थ्य, सोच, सीप, योग्यता र अनुभव भएका प्राज्ञहरू विश्वविद्यालयको नेतृत्त्वमा आउनै सक्दैनन्।

यो देशमा बलियो नेताको दौराको फेरो समाउन सकिएन भने ज्ञान, सीप, अनुभव, क्षमता र कार्यदक्षताले कुनै पद पाइँदैन। यो दशकौंदेखि बल्झिएको देशकै र विशेषतः विश्वविद्यालयको एउटा 'अल्सर' हो।

जसको सत्तासीन पार्टीको नेतृत्त्व र शिक्षामन्त्रीसँग सम्बन्ध छ, जसको पार्टीको सरकार छ, त्यही व्यक्ति विश्वविद्यालय नेतृत्त्वका लागि छानिने अभ्यास त्रिविको परम्परा नै बनेको छ।

पार्टी सत्ताबाट बाहिरियो भने त्रिविको नेतृत्त्व पनि बाहिरिनुपर्ने आवाज, दबाब र मनसाय प्रकट हुन थाल्छन्। पार्टीको भागबण्डाका आधारमा नियुक्ति लिएर आउने पदाधिकारीलाई संस्थागत काम गर्न पनि त्यत्तिकै असहज हुन्छ। किनकी उपकुलपति, शिक्षाध्यक्ष , रजिस्ट्रार, डिन, निर्देशक लगायतका नेतृत्त्वदायी पदहरू फरक-फरक पार्टीलाई बाँडिएको हुन्छ।

पार्टीबाट नियुक्ति पाएका पदाधिकारीको पहिलो जवाफदेहिता आ-आफ्नो पार्टीप्रति हुन्छ, विश्वविधालयप्रति होइन। पार्टीले दिएर पो पद पाइएको हो भन्ने मानसिकताले काम गर्छ अनि विश्वविद्यालय कसरी बन्छ?

त्रिविका वर्तमान पदाधिकारीहरू पनि आफ्नै विशिष्ट ज्ञान, क्षमता र कार्यदक्षता भन्दा पनि हिजो सत्तासिन पार्टीले खटाएका पदाधिकारीहरू हुन्।

तै पनि वर्तमान पदाधिकारीको टीम पार्टी राजनीतिभन्दा थोरै टाढा रही विश्वविद्यालयलाई सिस्टममा सञ्चालन गर्ने, व्यक्तिगत तजबिजबाटभन्दा सिस्टमबाट सञ्चालित विश्वविद्यालय बनाउन प्रयास गरेको पाइन्छ।

एक प्रसिद्ध मेडिकल चिकित्सकको रूप कार्यरत र आर्थिक कमाइका हिसाबले वर्तमानभन्दा धेरै उच्च कमाइ गर्ने गरेका उपकुलपति सबै आर्थिक कमाइका पाटा र व्यस्तता त्यागेर त्रिविमा सुधार गर्न तत्कालीन सत्तासीन पार्टीकै सिफारिसमा पद ग्रहण गर्न आएको भन्ने बुझाइ थियो।

पद ग्रहण गरेपछि सुरुको अवधिमा संस्थागत सुधारका लागि केही नयाँ र विकृतिका जीर्ण परम्परा भत्काउन जोखिमपूर्ण काम गर्ने अभिव्यक्ति र प्रयास पनि देखिन्थ्यो। यसपटकका पदाधिकारी पार्टीले नभई उपकुलपति स्वयंले चयन गरेको हुनाले पनि कार्य सम्पादन गर्न सजिलो थियो।

फेरि वर्तमान विश्वविद्यालय नेतृत्त्वमा विश्वविद्यालयको पदाधिकारी भई लामो समय बसेका र विश्वविद्यालयका स-सानादेखि ठूला समस्यासँग चिरपरिचित परिपक्व रजिस्ट्रार, पहिला डिन भई काम गरेका शालीन अनुभवी व्यक्ति शिक्षाधक्ष र धन मान, सेवा सुविधा पर्याप्त भए पनि सब त्यागेर विश्वविद्यालयका बेथिति हटाउन, विधिमा हिँडाउन, केही नयाँ काम गरी विश्वविद्यालयको अग्रगामी बाटो स्पष्ट गर्ने उद्देश्य लिई आएका प्राविधिक क्षेत्रका प्राज्ञ उपकुलपति हुनु केही दशकयता कै दुर्लभ अवसर थियो।

यो नेतृत्त्वले विश्वविद्यालयको इतिहासमा छुट्टै सकारात्मक छाप छोड्न सक्छ भन्ने लाग्थ्यो।

तर, सुरुका दिनहरूमा केही सकारात्मक छनक देखिए पनि निरन्तरता पाउन सकेन। हुनसक्छ- सत्तासीन पार्टीभित्रको गडबड र पछि सरकार परिवर्तनले नेतृत्त्व टीमको जोश, जाँगर, उत्साह र आत्मबल घटेको होला। जुन दुर्भाग्यपूर्ण कुरा हो।

विश्वविध्यालय जस्तो एक स्वयत्त प्राज्ञिक संस्थामा राजनीतिक हलचल, सत्ता गडबड र फेरबदलको नकारात्मक असर नपर्नुपर्थ्यो। सरकार जुनसुकै पार्टीको बनोस्, नेतृत्त्व टीमलाई आफ्नो पदावधिसम्म विश्वविध्यालयको हितका लागि काम गर्न अधिकार प्राप्त थियो।

त्रिविको नेतृत्त्व टीमले सरकार सत्ता परिवर्तन हुनासाथ खुट्टा कमाउन थालेको टिप्पणी यदाकदा हुन थाले पनि सकारात्मक सोच र हिम्मतका साथ आ-आफ्ना पदीय काम, कर्तव्य र अधिकारलाई आत्मसाथ गर्दै सिर्जनात्मक हिम्मतका साथ क्रियाशील रहनुपर्छ।

यद्यपि त्रिविको वर्तमान नेतृत्त्वले विश्वविद्यालयमा दीर्घकालीन असर पर्ने केही सकारात्मक काम पनि गरेको छ।

त्यसका केही दृष्टान्त- त्रिविका केन्द्रीय विभागका प्रमुखको नियुक्ति समेत राजनीतिक भागबण्डाका आधारमा विगतमा गरिन्थ्यो। त्यसलाई वरिष्ठताका आधारमा गर्ने नयाँ थालनी भएको छ। सायद भोलि आउने नेतृत्त्वले पनि यो अभ्यास भत्काउन सक्नेछैन।

त्यस्तै कोभिड- १९ ले विश्व आक्रान्त परेको बेला पनि त्रिविले करिब दुई लाख शिक्षक, कर्मचारी, विधार्थीको माइक्रोसफ्ट टीम आईडी बनाइ  अनलाइन कक्षा सञ्चालन गर्ने काम भयो।

नेपाल सरकारबाट विश्वविद्यालयलाई अनुसन्धानका लागि मासिक रु १० करोड छुट्याउनका लागि विशेष पहल गरियो। सफल पनि भयो।

न्यूनतम रकम १० करोड रहने र सो बढ्दै जाने गरी सरकारले अनुसन्धानका लागि विश्वविद्यालयलाई बजेटको व्यवस्था भविष्यमा पनि गर्दै जाने छ।

त्रिविका हरेक डिन कार्यालय र आङ्गिक क्याम्पसहरूलाई अनुसन्धानका लागि अनिवार्य बजेट छुट्याउन पर्ने व्यवस्था समेत गरिएको कुरा सकारात्मक पक्ष मान्नुपर्छ।

अनुसन्धानका लागि प्राप्त रकम ठूलो धनराशि त होइन तर थालनी भने पक्कै पनि उत्साहजनक हो।

त्रिविभित्रको राजनीतिक हस्तक्षेप, बन्द र बेथितिका बाबजुद एसिया युनिभर्सिटी र्याङ्किङ्मा गएको वर्ष २५१-३०० को स्थान मा परेको त्रिवि यो वर्ष २०१-२५० को स्थानमा परेको छ। यो पनि उल्लेख्य प्राप्तिको रूपमा लिन सकिन्छ।

 

यी र यस्तै केही राम्रा कामको थालनी त्रिविको वर्तमान नेतृत्त्व टीमले गरेको छ। तर, विश्वविद्यालयमा धेरै कामहरू गर्न बाँकी छ।

राजनीतिक भागबन्डामा केन्द्रीय विभागीय प्रमुख नियुक्ति गर्ने कुपरम्परालाई हिम्मत गरेर हटाए जस्तै डिन, निर्देशक र क्याम्पस प्रमुखहरू पनि वरिष्ठता र दक्षताका आधारमा नियुक्त गर्ने हिम्मत गरेको भए राम्रो हुने थियो।

अहिले पनि डिन, निर्देशक र क्याम्पस प्रमुखहरू उही राजनीतिक प्रभाव र दबाबमा भागबण्डाको आधारमा गरिएको छ। त्यति मात्र होइन, त्रिविमा अर्को कुनै नयाँ दक्ष, योग्य व्यक्ति छैन भनेझैँ गरी उही पुरानाहरूलाई नै राजनीतिक दबाब र भागबण्डाको विकृत परम्पराको निरीह अनुयायी भई अर्को कार्यकालको लागि दोहोर्याउने सजिलो काम गरिएको छ।

यो पनि वर्तमान टीमको कमजोरी हो, सुधार्न आवश्यक छ।

ग्लोबल भिलेज बनेको विश्वमा हाम्रो विश्वविद्यालयको पुरानो पाठ्यक्रमले प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न सक्दैन। त्यसैले बदलिँदो चेतना, समय र विश्व परिस्थितिअनुसार पाठ्यक्रम परिमार्जित र परिवर्तन गर्न आवश्यक थियो। तर, हालसम्म पनि त्यसो गर्न सकिएको छैन।

परीक्षा लिने र नतिजा प्रकाशन गर्ने पुरानो शैलीमा सुधार हुनुपर्थ्यो। तर, यो डिजिटल युगमा पनि उही पुरानै शैली अवलम्बन गरिएको छ। नतिजा प्रकाशनको ढिलाई उस्तै छ। सुधार हुन सकेन।

प्राध्यापक, कर्मचारीको लागि बनाइएका आवास गृह वरिष्ठता, आवश्यकता  र भौगोलिक क्षेत्र, विकटताका आधारमा सुविधा दिनुपर्थ्यो र सिस्टमबाट निर्देशित हुनुपर्थ्यो।

तर जसले हडप्न सक्छ उही बस्ने पुरानो कुपरम्पारा, दादागिरी अन्त्य हुन सकेन।

यी र यस्ता धेरै विकृति र बिसंगतिहरू सुधार गर्न वर्तमान टीमको ध्यानाकर्षण हुन जरुरी छ।

पहिला आर्थिक लेनदेन, राजनीतिक दबाब, प्रभावमा वितरण गरिने त्रिविका सम्बन्धनहरू अहिले रोकिएका छन्। तर, आवश्यकता र पूर्वाधारलाई हेरी पारदर्शी किसिमले सम्बधन दिने काम रोकिनु हुँदैन।

भागेर होइन भिडेर काम गर्नेहरू सफल मानिन्छन।

बजारमा हल्ला सुनिन्छ- त्रिविको सम्बन्धन पाउन वा दिलाउन दबाब दिनका लागि विगत ४ महिनादेखि त्रिविलाई ताल्चा ठोकी बन्द गरिएको छ। हो, होइन समयले बताउला।

त्रिवि प्रशासनले बन्द खुलाउनका लागि झिना मसिना पहल गरे पनि परिणाममुखी पहल गर्न सकेन।

हुन सक्छ सरकार परिवर्तन र माथिका सम्बन्धित निकाय ले त्रिवि बन्द समस्यालाई बेवास्ताको ओझेलमा छोडेको र उपकुलपति लगायत त्रिवि प्रशासनलाई उत्साह नदिएकाले महिनौंसम्म त्रिवि बन्द छ।

विश्वविद्यालय बन्दप्रति कुलपति, सहकुलपतिको चासो पटक्कै भएन। बरू, रमिते बने। त्रिविको वर्तमान नेतृत्त्वले पनि केही थान विज्ञप्ति निकाल्नुबाहेक खासै गतिशीलता देखाएनन्।

हिजो मात्र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी नामको राजनीतिक पार्टीका कार्यकर्ताहरूले विज्ञप्ति जारी गरि त्रिविमा विगत चार महिनादेखि लगाइएका तालाहरू फुटाउने काम भएको रहेछ।

विश्वविध्यालयसँग प्रत्यक्ष गाँसिएका विविध संघसंगठन नभएर एक राजनीतिक पार्टीका कार्यकर्ता आएर विश्वविद्यालयमा ठोकिएका ताल्चा फुटाउनु र खोल्नु पनि आफैंमा अर्थपूर्ण छ।

चार महिनादेखि बन्द ताल्चा खुले, राम्रै भयो। विश्वविद्यालयमा ताला लगाइनु आफैंमा राम्रो विषय थिएन र होइन।

सकारात्मक सोच र मनसायका साथ वार्ता र संवादबाट समस्या समाधान गर्न सकिन्छ। तालाबन्दी जस्तो निकृष्ट हर्कत देखाएर विश्वविद्यालयलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन, पाइँदैन।

भविष्यमा पनि ताल्चा लगाउने जस्तो सस्तो र पुरातन शैलीको विरोध जनाउने काम कुनै पनि संघसंगठनको नामबाट नगरियोस्।

कुनै पनि समस्या वा असहमति भए वार्ताबाट समाधान खोज्नुपर्छ। खैर, ताला खुलेको रहेछ। केही असहमति, समस्या छन् भने वार्ताको माध्यमबाट टुंग्याउने, समाधान खोज्ने गरी विश्वविधालयको ताल्चा सधैंका लागि खुला रहोस्, उच्च ज्ञानको भण्डार विश्वविद्यालय सधैं सबैका लागि खुला रहनुपर्छ। 
(लेखक त्रिविका अंग्रेजी विषयका सह-प्राध्यापक हुन्)

१९ जेठ, २०७९, १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।