यौन सम्पर्कबाट पनि सर्छ मङ्कीपक्स भाइरस, मृत्युदर १० प्रतिशतसम्म

यौन सम्पर्कबाट पनि सर्छ मङ्कीपक्स भाइरस, मृत्युदर १० प्रतिशतसम्म

काठमाडौं : मङ्कीपक्स भाइरस संक्रमण यौन सम्पर्कको माध्यमबाट समेत सर्ने चिकित्सकले बताएका छन्। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन विशेषगरी पुरुष-पुरुषबीच हुने (मेन सेक्स विथ मेल) यौन सम्पर्कको माध्यमबाट अहिलेको लहरमा मङ्कीपक्स संक्रमण सरेको पाइएको बताउँछन्। 

डा. पुन भन्छन्, ‘अहिले फैलिएको मङ्कीपक्सको बिमिरा-घाउ गुप्ताङ्क र गुदद्वार जस्ता अङ्गमा बढी देखिएको पाइएको छ। जसले अन्य व्यक्तिमा भाइरस सर्ने जोखिम बढ्छ।’ तर पुरुष-षुरुषबीच किन बढी सरेको हो भन्ने प्रष्ट खुलिनसकेको चिकित्सक बताउँछन्।

विर्यबाट मङ्कीपक्स भाइरस सर्ने प्रमाणित नभइसकेकाले बिमिरा-घाउका तरल पदार्थ यौन सम्पर्कको माध्यमबाट एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम भएकाले सजग हुन डा. पुनको सुझाव छ। 

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास पनि शारीरिक सम्बन्धको माध्यमबाट समेत यो संक्रमण सर्नसक्ने बताउँछन्। निर्देशक डा. दासले पनि पुरुष-पुरुषबीच हुने यौन सम्पर्कका कारण समेत मङ्कीपक्स भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएको बताए। 

एक व्यक्तिदेखि अर्को व्यक्तिमा सरेको देखिएकाले जोखिम बढेको उनले सुनाए। 

यसरी सर्छ
हुन त यो भाइरस कोरोना भाइरस संक्रमण जस्तो तीव्र गतिमा फैलिएको नदेखिएको चिकित्सक बताउँछन्। चिकित्सकको मत अनुसार श्वासप्रश्वासको माध्यमबाट समेत यो भाइरस सर्छ। 

संक्रमित व्यक्तिको थुकको छिटा नाक, मुख, आँखामा परेको खण्डमा, संक्रमित व्यक्तिको बिमिरा–घाउको तरल पदार्थको माध्यमबाट अर्को व्यक्तिमा मङ्कीपक्स संक्रमण सर्न सक्छ। तर श्वासप्रश्वासको माध्यमबाट कमै सर्ने निर्देशक डा. दासले बताए। उनले भने, ‘यो छालामा हुने समस्या हो। त्यसैले धेरैजसो छालाको घाउको कन्ट्याक्टबाटै सर्छ।’

त्यसैगरी संक्रमितले प्रयोग गरेको वस्तु तुरुन्तै अर्को व्यक्तिले प्रयोग गरेको खण्डमा मङ्कीपक्स भाइस चिकित्सक बताउँछन्। गर्भवती महिलाबाट गर्भमा रहेको भ्रुणमा पनि यो भाइरस सर्न सक्ने डा. पुनले बताए। 

मङ्कीपक्स संक्रमण भएको पाँचदेखि २१ दिनसम्ममा यसको लक्षण देखापर्ने चिकित्सक बताउँछन्। संक्रमण भएपछि पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका मांसपेसी दुख्ने, लिम्फग्रन्थी सुन्निने तथा आलस्य हुनेजस्ता लक्षण देखिन्छन्। 

यस्ता लक्षण नेपालमा देखिरहेका अन्य सङ्क्रामक रोगसँग समेत मिल्दोजुल्दो हुने भएकाले संक्रमित तथा स्वास्थ्यकर्मीले समेत मङ्कीपक्स हो वा अन्य संक्रामक रोग भनेर सुरुमा पहिचान गर्न समेत कठिन हुने डा. पुन बताउँछन्। 

त्यसैगरी मङ्कीपक्स संक्रमित व्यक्तिको दोस्रो चरणको लक्षणका रुपमा ज्वरो आएको तीन दिनमा सुरु हुन्छ। दोस्रो चरणको सुरुवाती दिनमा छालामा बिमिरा देखिन सुरु हुन्छ। विशेषगरी संक्रमितका अनुहार तथा हातखुट्टामा बढी बिमिरा देखिने डा. पुनले बताए। त्यसैगरी गुप्ताङ्ग र गुदद्वार लागायत शरीरका अन्य अङ्गमा समेत बिमिरा देखिन्छन्। 

मङ्कीपक्स संक्रमण भएको पाँचदेखि २१ दिनसम्ममा यसको लक्षण देखापर्ने चिकित्सक बताउँछन्। संक्रमण भएपछि पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, शरीरका मांसपेसी दुख्ने, लिम्फग्रन्थी सुन्निने तथा आलस्य हुनेजस्ता लक्षण देखिन्छन्। 

डा. पुनका अनुसार अफ्रिकन मुलुक बाहिर हालसम्म मङ्कीपक्सका कारणले व्यक्तिको मृत्यु भएको देखिँदैन। तर मङ्कीपक्स संक्रमितमध्ये प्रजाति अनुसार करिब एकदेखि दस प्रतिशत संक्रमितको मृत्यु हुनसक्ने डा. पुन बताउँछन्। चिकित्सकका अनुसार विशेषगरी संक्रमितमध्ये बालबालिका बढी प्रभावित भएको देखिन्छ। त्यसैगरी पाको उमेरका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाजस्ता व्यक्ति पनि बढी प्रभावित हुन्छ। 

१२ देशमा फैलियो
डा. पुनका अनुसार वैशाख २४ गते (मे ७ तारिक) मा बेलायतको ‘युके हेल्थ सेक्युरिटी’ एजेन्सिले ‘मङ्कीपक्स’ भाइरस संक्रिमत बिरामी देखिएको पुष्टि गरेसँगै यो भाइरसको विषयमा चर्चा बढ्दै गएको हो। जो संक्रमित व्यक्ति अफ्रिकी मुलुक नाइजेरियाको भ्रमण गरेर बेबलायत फर्केका थिए। 

‘युके हेल्थ सेक्युरिटी’ एजेन्सिका अनुसार बेलायतमा जेठ ९ (मे २३  तारिक) सम्ममा ७० जनामा मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भइसकेको छ। 

बीबीसीको मे २१ मा सम्प्रेषित समाचार अनुसार १२ देशका ८० जनामा मङ्कीपक्स संक्रमण पुष्टि भइसकेको छ। बीबीसीको समाचारमा उल्लेख छ, ‘मङ्कीपक्स युरोपका ९ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अष्ट्रेलियामा पनि पुष्टि भइसकेको छ।’ 

बीबीसीका अनुसार मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरुमा सामान्य मानिन्छ। चिकित्सकको मत अनुसार नाइजेरियामा मङ्कीपक्सको प्रकोप देखिँदै आइरहेको हो। जुन नौलो थिएन। बेलायतमा पहिलो संक्रमित बाहेक अन्य संक्रमितमा अफ्रिकी मुलुकको भ्रमणको इतिहास नभएको तथा संक्रमितको सम्पर्कमा समेत अफ्रिकी मूलुकका व्यक्ति नभएको पाइएको अध्ययनले देखाएको डा. पुन बताउँछन्। 

अहिले युरोपका अन्य मुलुकहरुमा एकपछि अर्को गर्दै संक्रमित फेला पर्ने क्रम रहेकाले कहाँबाट फैलिएको हो भन्ने यकिन भने भएको छैन। कहाँबाट कसरी फैलिरहेको छ भन्ने नै मङ्कीपक्सको लहरको फरक तथा रहस्यमय फैलावट मानिएको डा. पुन बताउँछन्। 

सामान्यतया पश्चिम तथा मध्य अफ्रिकी मुलुकमा सीमित भएको मङ्कीपक्स अफ्रिका महादेश बाहिर अस्वभाविक रुपमा फैलिँदै अष्ट्रेलिया महादेशसम्म पुगिसकेको चिकित्सक बताउँछन्। 

मङ्कीपक्स भाइरस सन् १९५८ मा पहिलो पटक अनुसन्धानका लागि राखिएका बाँदरमा पत्ता लागेको डा. पुनका बताउँछन्। त्यसैले यो भाइरसको नाम मङ्कीपक्स राखिएको उनले बताए। त्यसपछि सन् १९७० मा कङ्गोमा पनि यो भाइरस देखिएको उनी बताउँछन्। 

डा. पुनका अनुसार मङ्कीपक्स बिफर रोग परिवारको सदस्यका रुपमा मानिएको छ। उनले भने, ‘बिफरले व्यक्तिलाई करिब तीन हजार वर्षदेखि प्रभावित बनाउँदै आएको अनुमान छ।’

चिकित्सकका अनुसार बिफर संक्रमितमध्ये करिब ३० प्रतिशतको स्वास्थ्य जटिलता निम्तिएर मृत्यु हुन्थ्यो। तर बिफर विरुद्धको खोपको विकास भएकाले विश्व स्वास्थ्य संगठनले समेत सन् १९८० मा बिफर उन्मुलनको घोषणा गरेको छ। चिकित्सकको मत अनुसार मङ्कीपक्स बिफरको तुलनामा कम घातक मानिन्छ। 

जसले गर्दा कोरोना भाइरस संक्रमणले तर्साएको विश्व समुदायलाई नै तरंगित बनाएको छ। 

छिमेकी मुलुक भारतले विशेषगरी मङ्कीपक्सको संक्रमण फैलिएका देशबाट फर्केका व्यक्तिमा निगरानी बढाउने तथा मङ्कीपक्ससँग मिल्दाजुल्दा लक्षण देखिएको खण्डमा परीक्षण गर्ने समाचार बाहिरिएकाले नेपाल समेत सजग रहनुपर्ने विशेषज्ञको सुझाव छ। नेपालमा पनि अन्तर्राष्ट्रिय हवाइ मार्ग हुँदै विभिन्न मुलुकबाट व्यक्ति आउने भएकाले निगरानी बटाउनुपर्ने चिकित्सकको सुझाव छ। 

निर्देशक डा. दासले भने यो रोगका विषयमा स्वास्थ्यकर्मीलाई अलर्ट गराइएको बताए। 

यो रोग नेपालमा भित्रन नदिन तथा भित्रिहाले नियन्त्रणका लागि विभिन्न बैठकहरु भइरहेको निर्देशक डा. दास बताउँछन्। उनले भने, ‘यो रोग छिर्न नदिने र स्क्रिनिङ गर्ने विषयमा सरोकारवालासँग विभिन्न बैठक भइरहेको छ।’

यो कस्तो रोग हो?
मङ्कीपस भाइरस जनावरको माध्यमबाट सर्ने रोग मानिन्छ। जनावर स्रोत भएको यो भाइरसलाई चिकित्सकीय भाषामा जोनोटिक रोग भनिन्छ। हुन त मङ्कीपक्स भाइरसको प्राकृतिक बासस्थान कुन पशु-पक्षी हो भन्ने यकिन भइनसकेको डा. पुन बताउँछन्। 

तर, विशेषगरी स-साना स्तनधारी जनावर, अफ्रिकी मुसालाई मङ्कीपक्स भाइरस फैलाउने स्रोतका रुपमा लिने गरिएको चिकित्सक बताउँछन्। निर्देशक डा. दासले विशेषगरी न्याउरीमुसा र बाँदरबाट सरेको पाइएको बताए। 

मङ्कीपक्स संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्छ। अहिले अफ्रिकन मुलुक बाहिर देखिएको मङ्कीपक्सको लहर मानिसबाट मानिसमा सरिरहेको मानिएको डा. पुन बताउँछन्। 

तर, संक्रमण निको भइसकेपछि समेत स्थायी रुपमा रहने घाउ तथा खतका कारण सौन्दर्यता लगायतमा समेत नकारात्मक असर पुग्न सक्छ।
मङ्कीपक्सका कारण आएका बिमिरामा देखिने प्रकृतिका ठेउला (चिकनपक्स), भिरिङ्गी (सिफिलिस) सँग मिल्दोजुल्दो हुने भएकाले यो रोगको निदान गर्नबाट स्वास्थ्यकर्मी समेत चुक्ने सम्भावना बढी हुनेतर्फ डा. पुन सजग गराउँछन्। 

अधिकांश सक्रिमित चार हप्तासम्ममा निको भइसक्ने चिकित्सक बताउँछन्। 

परीक्षण र बच्ने उपाय
यो संक्रमणको पहिचानका लागि संक्रमितको बिमिरा-घाउबाट नमुना लिई पीसीआर परीक्षण गरी संक्रमणको पहिचान गर्न सकिन्छ। तर नेपालमा सो परीक्षण नहुने भएकाले नमुना परीक्षण गर्नुपरे विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा रहेको प्रयोगशालामा परीक्षणका लागि पठाइने निर्देशक दासले बताए। 

उनले भने, ‘हाम्रो ल्याबमा त परीक्षण हुँदैन। विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतमा परीक्षण गर्न पठाउँछौं। कोलाबेरेटिभ सेन्टर भारतमा छ। त्यहाँ पठाउँछौं। कुनै संकास्पद केस भेटिए तुरुन्तै पठाउँछौं।’ 

सेरोलोजी जाँच प्रविधिलाई भने भरपर्दो नमानिने डा. पुन बताउँछन्। 

मङ्कीपक्सको उपचार गर्नका लागि विशेष किसिमका औषधि भने छैनन्। बिफरका लागि प्रयोग गरिएको औषधि तथा खोप मङ्कीपक्स विरुद्धको उपचारका लागि प्रभावकारी मानिएको चिकित्सक बताउँछन्। 

बिफरका लागि प्रयोग गरिएको खोप मङ्कीपक्सका लागि करिब ८५ प्रतिशत प्रभावकारी देखिएको डा. पुन बताउँछन्। संक्रमण भएको चार दिन भित्रमा खोप लगाएको खण्डमा स्वास्थ्य जटिलता निम्तन नदिनबाट बच्न सकिनेतर्फ चिकित्सक सजग गराउँछन्। संक्रमित भएको दुई हप्तासम्ममा खोप दिनसके संक्रमणबाट हुने जटितालाई धेरै न्यूनीकरण गर्न सकिने डा. पुन बताउँछन्। 

कोरोना भाइरस संक्रमणमा अपनाइने जनस्वास्थ्यका मापदण्ड अपनाए मङ्कीपक्स फैलनबाट धेरै हदसम्म बच्न सकिने डा. पुनको सुझाव छ। उनले भने, ‘मास्क लगाउने, साफसफाइमा ध्यान दिने, कोठामा हावा राम्रोसँग आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्छ।’ जसले धेरै हदसम्म मङ्कीपक्स संक्रमणबाट बच्न सकिने उनको सुझाव छ। 

त्यसैगरी मङ्कीपक्सको संक्रमण पुष्टि भएका व्यक्ति र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति तीन हप्ता आइसोलेसनमा बस्न आवश्यक हुने डा. पुन बताउँछन्।  त्यसैगरी बिफर विरुद्ध प्रयोग हुने एन्टिभाइरल औषधि मङ्कीपक्स संक्रमितमा पनि प्रभावकारी देखिएको भए पनि यो औषधि सहज रुपमा उपलब्ध भने नभएको उनले बताए। 

आजकाल एक मुलुकमा फैलिएको संक्रामक रोग अर्को मुलुकमा ढिलो चाँडो सहजै पुग्न सक्छ। कोभिड-१९ लाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। मङ्कीपक्स पनि अफ्रिकी मुलुकमा मात्र नभई विभिन्न मुलुकहरुमा देखिँदै आएकाले सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

त्यसो त पहिले एक व्यक्तिबाट अर्को व्यक्तिमा आयातित रुपमा मात्रै सरेको देखिएको मङ्कीपक्स भाइरस विभिन्न मुलुकमा समुदायस्तरमा नै देखिन थालेकाले सजग बन्नुपर्ने डा. पुनको सुझाव छ।

१२ जेठ, २०७९, १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।