बुटवलमा बम विस्फोट गराउने तीन जना पक्राउ

बुटवलमा बम विस्फोट गराउने तीन जना पक्राउ

बुटवल : बुटवलको मिलनचोकमा कुकर बम विस्फोट गराउने ३ जना पक्राउ परेका छन्। वैशाख २८ गते राती ८ः१० बजे मिलनचोकको आकाशे पुलमा प्रेसर कुकर बम विस्फोट गराउने ३ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

प्रहरीले घटनाका मुख्य योजनाकार अर्घाखाँची मालारानी गाउँपालिका वडा नंं ९ का २७ बर्षिय सुरेश खनाल, इलाम सूर्योदय गाउँपालिका फणिन्द्र गरतौला र कुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए। उनीहरूलाई बुटवल र सैनामैनाबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट ३ थान मोटरसाइकल, ६ वटा मोबाइल, बम बनाउन प्रयोग गर्न थालिएको २ वटा कुकर, बम बनाउँदा प्रयोग हुने विद्युत्को तार, विभिन्न पर्चाहरू बरामद गरेको छ। प्रहरी प्रमुख एसपी रेग्मीले पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता ०७४ को परिच्छेद ७ विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइएको बताए। 

बम विस्फोट हुँदा नजिकै रहेको होटल वि ११ को ढोकाको सिसा र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको सटरमा ३ वटा प्वाल परेको थियो। मानवीय क्षति भने भएको थिएन। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले घटना घट्नसाथ २५ जनाको कमान्ड बनाएर अनुसन्धान गर्दा उनीहरूलाई जेठ १ गते पक्राउ गर्न सफल भएको बताए। 

उनका अनुसार बुटवलमा बम विस्फोट गराउने युवाहरू अन्य क्षेत्रमा भएका विस्फोटका घटनामा संलग्न भए नभएको बारे अनुसन्धान भइरहेको बताए। उनले ३ जना युवाहरूले बुटवलमै कोठा भाडामा लिएर सेल्टर बनाएको भेटिएको बताए।

४ जेठ, २०७९, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।