स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी

स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी

बुटवल : दिनभर लुम्बिनी भ्रमणमा व्यस्त रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन्। बिहान औचापरिक कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका उनी अपराह्न स्वदेश फर्केका हुन। 

मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका थिए। प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना सहभागी भएका थिए। 

दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए। भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरेका थिए। 

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण पनि गरेका थिए। मोदीले करिब ६ घण्टा लुम्बिनीमा बिताएका थिए। 

उनी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट स्वदेश फर्किएका हुन। भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गरेका थिए।

२ जेठ, २०७९, १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।