काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ। आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ। 

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ। दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए। कार्यालयले छ÷सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ। 

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ। यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ। प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिएका छन्। 

साहले ७२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले ७० र नेकपा (एमाले)का केशव स्थापितले ५९ मत प्राप्त गरेका छन्। 

काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ। वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। 

३१ बैशाख, २०७९, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।