रोकिएन मूल्यवृद्धिः चैतमा मुद्रास्फीत ७.२८ प्रतिशत पुग्यो, २८.३६ प्रतिशतले बढ्यो खाने तेलको मूल्य 

रोकिएन मूल्यवृद्धिः चैतमा मुद्रास्फीत ७.२८ प्रतिशत पुग्यो, २८.३६ प्रतिशतले बढ्यो खाने तेलको मूल्य 

काठमाडौँ : नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। 

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ। 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ।

चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो। चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ। सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ। 

२८ बैशाख, २०७९, १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।