सफलताको कथा : थाइल्याण्ड भ्रमणले जन्माएको ‘बा फार्म’

सफलताको कथा : थाइल्याण्ड भ्रमणले जन्माएको ‘बा फार्म’

बुटवल : पेसाले प्राध्यापक भए पनि कृषि तथा पशुपालनमा रुचि राख्ने व्यक्ति हुन् खड्कबहादुर थापा।

बाग्लुङमा जन्मिएर रुपन्देहीमा प्राध्यापन गरिरहेका थापा कृषि तथा पशुपालन क्षेत्रमा नयाँ काम गर्ने दृढ अठोटकै कारण आज उदाहरणीय काम गर्न सफल भएका छन्।

किसानका समस्यासँग नजिक रहेका थापा अध्यापनकै क्रममा आफ्नो अठोट पूरा गर्न एउटा बहुउद्देश्य सहकारीमा जोडिए। त्यही सहकारीबाट चार वर्षअघि थाइल्याण्डको भ्रमण गर्ने अवसर जुट्यो उनलाई।

१५ दिने थाइल्याण्ड भ्रमणका क्रममा त्यहाँ सहकारीका माध्ययबाट उद्यम गर्न चाहने युवाहरुलाई समेटर सञ्चालन भइरहेको व्यवसाय उनले देखे। नमुना कामले कृषक, मालिक, उपभोक्ता सबै खुसी थिए त्यहाँ। थाइल्यान्डको कामको शैली उनलाई मन पर्यो।

थापाले नेपाल फर्केर यस्तै नयाँ काम गर्ने योजना बनाए। थाइल्याण्डमा देखेको नयाँ उद्यमको शैली जस्तै उनले पनि नेपाल फर्केपछि ‘आफैं मालिक, आफैं ग्राहक एवं आफैं उपभोक्ता’को अवधारणा अघि सारे। सुरुमा खड्कले आफू सहित १४ जनाको एउटा समूह तयार पारे।

‘केही नयाँ गरौं भनेपछि एउटा समूह तयार भयो। त्यसपछि १७ मंसिर ०७५ सालमा बुटवलमा बुद्धनगर एग्रो फार्म लिमिटेड (बा फार्म) स्थापना भयो। अनि एउटा नौलो अभ्यास सुरु भयो,’ उनले भने।

हाल यो फार्म पब्लिक फार्मको रुपमा परिणत भइसकेको छ। कृषकलाई मालिक अनि ग्राहकका साथै उपभोक्त समेत आफैं बनाउने अवधारणा अनुसार हालसम्म कम्पनीमा ३ सय २० जना सेयर भइसकेका छन्।

पाँच सय जना कृषकलाई आफैं मालिक, आफैं ग्राहक र आफैं उपभोक्ता बनाउने तथा उनीहरुलाई स्वरोजगार गर्ने गरी फार्म अगाडि बढेको कम्पनीका संस्थापक सिइओ थापाले बताए। 

उनका अनुसार कम्पनीले अहिले स्वरोजगार बन्नेहरुका लागि तालिम, उचित मूल्यमा कृषकलाई आवश्यक पर्ने बिउ-बिजन, चल्ला, दाना, आधुनिक कृषि उपकरणको उपलब्धता, कृषि कर्जा, कृषि तथा पशुपक्षी बिमा, कृषि अनुदान, कृषि तथा पशुपक्षी पालन सम्बन्धी परामर्शका कामहरु समेत गरिरहेको छ।

कम्पनीले हाल सैनामैना नगरपालिकास्थित दोगहरामा साढे ३२ कठ्ठा जग्गामा फार्म तथा ह्याचरी सञ्चालन गरिरहेको छ। त्यहाँ हप्तामा १५ हजार लोकल जातका चल्ला उत्पादन भइरहेको छ भने ५ हजार लोकल कुखुरा त्यहाँ पालन भएको छ।

‘सदस्य बनेकै किसानले चल्ला लैजान्छ, पछि कुखुरा बनेपछि कृषकले यहि फार्ममा ल्याउँछ। अनि हामीले आफ्नै आउटलेट (पसल) बाट त्यसको मासु बिक्री गर्छौ,’ उनले भने।

उनका अनुसार रुपन्देहीका विभिन्न स्थानमा १६ वटा मिट आउलेट सञ्चालनमा छन्।

त्यति मात्र होइन, किसानलाई आवश्यक पर्ने खाद्यान्य, दैनिक उपभोग्य वस्तु बिक्रीका लागि बुटवलमा शीत भण्डार सहितको एग्रो मार्ट सञ्चालन भएको छ। डेढ करोडको लागतमा उक्त मार्ट निर्माण भएको हो।

किसानलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिँदै आएको छ।

त्यो बाहेक अहिले फार्मले युएसएआइडीको सहयोग र किसान २ परियोजना अन्तर्गत तिनाउ गाउँपलिका र कपिलवस्तुको शिवनगर र विजयनगर पालिकामा गरी २ हजार किसानलाई मकै उत्पादनमा जोड्न थालेको छ। तिनाउ गाउँपालिकाका- १ हजार किसान र शिवनगर, विजयनगरका १ हजार गरी २ हजार किसानलाई मकै उत्पादनमा जाड्न लागेको हो।

‘मकै उत्पादनका लागि प्राविधिक सहयोग हामीले गर्छौं। बिउ पनि हामीले दिएका छौं। पाल्पा र कपिलवस्तुमा ८० क्विन्टल मकैको बिउ ५० प्रतिशत अनुदानमा दिइएको छ,’थापाले भने।

कम्पनीले त्यहाँबाट वार्षिक १ सय टन मकै खरिद गर्ने लक्ष्य राखेको उनले बताए। हाल ३५ टन मात्र उत्पादन हुने गरेको मकैलाई १ सय टन बनाउने र खरिद भएको मकै दाना उद्योगलाई बिक्री गर्ने सम्झौता भएको छ।

‘मकै बिक्री गर्ने उद्योगको दाना हामीले खरिद गर्ने र त्यही दाना खरिद गरे बापत उसले हाम्रो मकै खरिद गर्छ। बजार मूल्यभन्दा १ रुपैयाँ महँगोमा हामीले किसानबाट मकै खरिद गर्छौं,’ उनले भने। मकै उत्पादनका लागि कम्पनीले किसानलाई रामपुर कम्पोजिट र हाइब्रिड अरुण २ लगाउन भनिएको छ।

त्यस बाहेक कम्पनीले कृषकलाई चल्ला, दाना, औषधि तथा प्राविधिक सहयोगमा बजार मूल्यभन्दा २ प्रतिशत सस्तोमा उपलब्ध गराउँदै आएको छ भने कुखुरा खरिद गर्दा बजार मूल्यभन्दा २ रुपैयाँ महँगोमा खरिद गर्ने गरेको छ। हालसम्म १५ करोड कम्पनीमा लगानी भइसकेको र केही लगानी हुने क्रममा रहेको थापाले जानकारी दिए।

दाना उद्योग र कृषि उपज संकलन केन्द्र अबको लक्ष्य
कम्पनीको रुद्रपुर, गरगरेमा ८ कठ्ठा जग्गा रहेको छ। अझै ३ बिघा जग्गा थप गरी त्यहाँ दाना उद्योगको योजना अगाडि बढाइएको अध्यक्ष थापाले बताए।

त्यस्तै सैनामैना नगरपालिकाले ७ बिघा जग्गा उपलब्ध गराएपछि सालझण्डी नजिक कृषि उपज संकलन केन्द्र बनाउने योजना अघि बढेको छ। ‘यसमा प्रदेश सरकारको ५० प्रतिशत लगानी हुन्छ। बाँकी हामी निजी क्षेत्रको लगानी हुन्छ। यो निर्माणपछि सैनामैनाका १० हजार बढी किसानको उत्पादनलाई बजारीकरण सुनिश्चित गर्नेछौं,’ उनले भने। उक्त संकलन केन्द्रको लागत ५ करोड अनुमान गरिएको छ।  

त्यस्तै उनले सन् २०२६ भित्र एक लाख युवाहरुलाई कृषिमा स्वरोजगार सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउन टेवा पुर्याउने लक्ष्य कम्पनीले राखेको बताए।

आइपिओ समेत जारी गर्ने योजना
कृषकको उत्पादनलाई बजारसम्म पुर्याउने र बजारीकरणमा सहयोग गरेको कम्पनीले अहिले थोरै पूँजी संकलन गरी काम गरिरहेको छ।

कम्पनीका अध्यक्ष कुलबहादुर केसीले आगामी ५ वर्षभित्र कृषकको लागि आइपिओ जारी गर्ने योजना अघि बढाइएको समेत बताए। उनले आइपिओबाट संकलित पुँजी कृषि उत्पादन वृद्धि गर्न र नेपालका ठूला सहरमा एग्रो मार्ट सञ्चालन लागि प्रयोग गरिने बताए।

कृषकको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याई उनीहरुको व्यावसायिक सुनिश्चितता पैदा गर्ने र सन् २०२६ भित्र कम्पनीले  आफैं लगानी गरी वा कम्पनीको ब्राण्डलाई फ्रेन्चाइचको रुपमा बिक्री गरी ५० वटा एग्रो मार्ट सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए। 
 

२९ फागुन, २०७८, ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।