सफलताको कथा : दुबईको रोजगारीले पोखरामा चम्काएको भाग्य

सफलताको कथा : दुबईको रोजगारीले पोखरामा चम्काएको भाग्य

पोखरा : दुबईमा मासिक साढे तीन लाखको जागिर छोडेर नेपाल फर्किएका होटल व्यवसायी हुन् विनोद पौडेल। दुबईको ‘डु टेलिकम’मा साढे एक दशक काम गरेका पौडेलले पोखरा-१७, ड्यामसाइडमा होटल सञ्चालन गरिरहेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएपछि उनले ड्यमाइडमा आधा रोपनी जग्गा किनेर १० करोडको लगानीमा सन् २०२० देखि ‘होटल लिवट्री’ सञ्चालन गर्दै आएका छन्। परिवारका साथ आफ्नै देशमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएर स्वदेश फर्किएको उनी बताउँछन्।

उनी भन्छन्, ‘अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा व्यवसाय गर्दै रोजगारी सिर्जना गर्ने सोच बन्यो। त्यसपछि नेपाल फर्किएर जग्गा किनेर होटल बनाएँ।’ 

पर्वतको कार्कीनेटामा जन्मिएका पौडेलले माध्यमिक तहसम्मको अध्ययन त्यहीँको अन्नपूर्ण माविबाट गरे।प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि चितवनस्थित मामा घरमा बसेर सहिद स्मृति बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भएर अध्ययनलाई निरन्तरता दिँदै थिए। 

विसं २०४८ सालमा प्राथमिक तहको शिक्षकका लागि लोकसेवा खुल्यो । उनले शिक्षक बनेर आफ्नै गाउँघरमा सेवा गर्ने सोच बनाए। लोकसेवाबाट प्राथमिक तहको शिक्षकका लागि लिइएको परीक्षमा उत्तिर्ण भए पौडेल। 

स्थायी शिक्षकमा नाम निकालेपछि कार्कीनेटा–२ स्थित फटिके प्राविमा एक दशक अध्यापन गरे। विद्यार्थीबाट शिक्षक बनेका पौडेलको स्थानीय स्तरमा पाएको जागिरले घरपरिवारको सामान्य गुजारा चल्दै थियो। तर गुजारा बाहेक कुनै आर्थिक प्रगति नहुने देखेपछि जागिरबाट राजीनामा दिई वैदेशिक रोजगारीका लागि दुबई जाने योजना बनाए।

एक दशक लामो सेवा गरेर पेन्सन आउने बेलामा जोगिर नछाड्न घरपरिवार र साथीभाइहरुले गरेको आग्रहलाई उनले बेवास्ता गरे। जागिरमा बहाल रहेकै बेला वैदेशिक रोजगारीका लागि प्रक्रिया अगाडि बढिरहेकाले भिसा आए लगत्तै उनी दुबई उडेका थिए।

जागिर त्यागेर विदेशिएका पौडेलका लागि दुबईको रोजगारी सोचे जस्तै भयो। शिक्षकका रुपमा महिनाभरि पढाएर एक हजार ६ सय तलब खाँदै आएका उनले दुबईमा सुरु क्लिनरका रुपमा मासिक १६ हजार तलब बुझ्न थाले। क्लिनरको रोजगारीसँगै उनले आफूलाई दक्ष बनाउँदै लगे। अरेबियन भाषा, कम्प्युटर र ड्राइभिङ सिके। भाषा, कम्प्युटर र ड्राइभिङ लाइसेन्स निकालेपछि उनलाई आकर्षक तलब सहित टेलिकममा जागिरको अफर आयो।

कम्पनीले उनको मिहिनेत र इमान्दारिताको उच्च मूल्याङकन गरेर वर्षैपिच्छे तलब वृद्धि गरिदियो। पौडेलले झण्डै १७ वर्षको जागिरे अवधिमा मनग्य पैसा कमाए।

आफ्ना गाउँले दाजुभाइले पोखरामा राम्रो प्रगति गरेको देखिरहेका उनले रोजगारीबाट आर्जेको पैसाले पोखरामा व्यवसाय गर्ने सोच बनाए। एक दशकको शिक्षकको जागिर र झण्डै दुई दशक लामोको वैदेशिक रोजगारीमा बिताएकाले कुन व्यवसाय सुरु गर्ने भन्ने अन्योलमै केही समय पोखरामा भौंतारिएर बिताएको पौडेल बताउँछन्।

उनी भन्छन्, ‘सरकरी जागिर र वैदेशिक रोजगारीमा धेरै समय बिताएको थिएँ। वैदेशिक रोजगारीबाट बिदा भएर फर्किएपछि पोखरामा केही व्यवसाय गर्ने सोच बनाएको भए पनि अनुभव नभएकाले केही समय अन्योलमै बित्यो। त्यसै क्रममा ड्यामसाइडमा जग्गा किनेर होटल निर्माणको काम थाले।’

पौडेलले झण्डै दुई वर्ष लगाएर बनाएको पर्यटक लक्षित आकर्षक होटल २०७५ को अन्त्यमा सञ्चालनमा ल्याए।

पौडेलका अनुसार होलटमा १२ वटा एसी रुम, ९ वटा ननएसी सहित २१ वटा रुम र एउटा सेमिनार हल रहेका छन्। आफ्नो होटलमा बन्ने खाना र तरकारी जन्य परिकारहरुमा ग्रामीण भेगबाट ल्याउनले गरेको पौडेल बताउँछन्।

वैदेशिक रोजगारीमा परिश्रम अनुसारको पारिश्रमिक पाइने भए पनि आत्मसम्मान नपाइने भएकाले आफ्नै देशमा फर्किएर होटल ब्यवसाय गरेको पौडेल बताउँछन्। उनी भन्छन्, ‘अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका देशमा गएर पैसा त कमाइन्छ। तर आत्मसम्मान पाइँदैन। विदेशमा ५० हजार कमाउनभन्दा स्वदेशमा २० हजार कमाउनु नै ठूलो कुरा हो। आफ्ना बालबच्चा, परिवारसँग बसेर सानै कमाइ भए पनि आत्मसन्तुष्टि मिल्छ।’

उनले होटल व्यवसायसँगै क्रमश: पर्यटन व्यवसाय र कृषि क्षेत्रमा समेत थप लगानी गर्ने योजना रहेको बताए। होटलको स्तरोन्नति गर्दै रिसोर्ट बनाउने र डहरे देउराली कृषि उद्यम केन्द्र नामक निजी कम्पनी दर्ता गरेकाले त्यसमार्फत कृषि क्षेत्रमा काम गर्ने योजना बनाएको बताए।

पौडेलले भने, ‘होटल व्यवसायसँगै कृषि क्षेत्रमा काम गर्ने योजना बनाएर निजी कम्पनी दर्ता गरेको छु। अब कम्पनीमार्फत कृषिजन्य उत्पादनका क्षेत्रमा पनि काम गर्ने सोच छ।’ 

पछिल्लो समय युवाहरु मेटो रकम खर्चेर सानो कमाइका रोजगारीको खोजीमा विदेशिने गरेको गुनासो गर्छन् पौडेल। उनी भन्छन्, ‘मोटो रकम दलाललाई बुझाइर २५/३० हजार कमाउनका लागि विदश जानुभन्दा आफ्नै गाउँघरमै राम्रो योजना बनाएर काम गर्ने हो भने आम्दानी गर्न सकिने प्रशस्त सम्भावना छ।'

२४ फागुन, २०७८, ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।