महामारीको मौका छोपेर सिटामोलको मूल्य बढाउने कसरत, भारतमा तस्करी भएकाले अभाव भएको उत्पादकको दाबी

महामारीको मौका छोपेर सिटामोलको मूल्य बढाउने कसरत, भारतमा तस्करी भएकाले अभाव भएको उत्पादकको दाबी

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण उच्च बिन्दुमा पुगेसँगै सिटामोलको माग तथा खपत बढेको छ। बजारमा सिटामोलको अभाव भएका बेला नेपाली औषधि उत्पादक कम्पनीहरू भने कृत्रिम अभाव सिर्जना गरी सिटामोलको मूल्य बढाउने कसरतमा लागेका छन्।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी सिटामोल अत्यावश्यक औषधिको सूचीमा पर्ने भएकाले उत्पादन अनुमति लिएका उत्पादकले सिटामोल उत्पादन रोक्न नपाउने बताउँछन्।

'सिटामोल नबनाउने कम्पनीलाई कारबाही हुनसक्छ । सिटामोल बनाउनु उहाँहरूको दायित्व हो,’ केसीले भने, ‘नबनाए आवश्यक कदम चालिन्छ। सहज भएन भने हस्तक्षेप नै गरेर भए पनि बनाउन सकिन्छ।’

नेपालमा सिटामोल उपलब्ध नभए विशेष आयात अनुमति दिएर भए पनि सिटामोल ल्याउन सकिने सूचना अधिकारी केसी बताउँछन्। उनी भन्छन्, ‘विशेष अनुमति दिएर भए पनि आयात गर्नुपर्ने हुनसक्छ।’

तर, नेपाल औषधि उत्पादक सङ्घ (एप्पोन) का महासचिव विप्लव अधिकारीले भने मूल्य बढाउने रणनीतिमा सिटामोल उत्पादन नरोकिएको दाबी गरे। बजारबाट माग भएपछि उत्पादन रोक्नै नमिल्ने उनको तर्क छ। महासचिव अधिकारीले भने, ‘उत्पादन रोकिएको हैन। मूल्य कार्टेलिङ गर्न पनि हैन।’

औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बराल पनि मूल्य बढाउने दाउमा महामारीको समयमा सिटामोल उत्पादन नरोकिएको दाबी गर्छन्। उनी भन्छन्, ‘रोकिएकै छैन उत्पादन।’

सिटामोलको मूल्य बढाउन उत्पादकले सिटामोल उत्पादन नै रोकेको आरोप छ नि त? भन्ने जिज्ञासामा उपाध्यक्ष बरालले भने, ‘त्यो गलत कुरा हो। औषधि उद्योगीले त्यो गल्ती गर्दै गर्दैनन्।’

नेपालमा भन्दा भारतमा सिटामोल महँगो भएकाले नेपालबाट भारतमा लगेर सिटामाले बेच्दा त्यहाँका व्यापारीलाई नाफा हुने भएकाले नेपालमा सिटामोलको अभाव भएको उपाध्यक्ष बराल बताउँछन्। उनी भन्छन्, ‘नेपालमा किनेर भारतमा लगेर बेच्दा त्यहाँका व्यापारीलाई ७० प्रतिशत नाफा हुन्छ।’

सीमा-नाकाबाट सिटामोल भारततर्फ गएकाले नेपालमा अभाव देखिएको बराल बताउँछन्। कोरोना भाइरसको दोस्रो लहरको समयमा (वैशाखतिर) पनि भारतमा सिटामोल गएकाले अभाव भएको उनले सुनाए। त्यसैले मूल्य समायोजन नहुने भए यस्तै समस्या दोहोरिरहने उपाध्यक्ष बरालको तर्क छ।

बजारमा सिटामोल पाइँदैन, स्वास्थ्य मन्त्रालय भन्छ- अभाव छैन

औषधि लिमिटेडले सिटामोल उत्पादन थाल्यो, दस दिनभित्र ३० लाख ट्याब्लेट बजार पुर्याउने तयारी

अघिल्लो एक वर्षमा ५८ टन पारासिटामोलको कच्चा पदार्थ आएको र पछिल्लो (साउन यता) ६ महिनामा एक सय पाँच टन पारासिटामोलको कच्चा पदार्थ आएको पनि उनले जानकारी दिए।

‘अघिल्लो १२ महिनामा नेपालमा ५८ टन पारासिटामोल आएको थियो। अहिले यो ६ महिनामा एक सय पाँच टन पारासिटामोल आएको छ,’ उनले भने, ‘कसरी अभाव हुन्छ? अभाव भएको प्रमुख कारण नै बाहिर गएर हो। अरू केही पनि हैन।’

सङ्घका महासचिव अधिकारी पनि उत्पादन रोक्ने–नरोक्ने विषय बजारले निर्धारण गर्ने बताउँछन्। उनले भने, ‘अरूले निर्धारण गरेर हुँदैन। रोकेको कसले प्रमाणित गर्ने हो? बनाएको कसले प्रमाणित गर्ने हो? त्यस्तो हुँदैन।’

उनले अहिले उत्पादकसँग सिटामोल उत्पादनका लागि कच्चा पदार्थको अभाव नभएको समेत बताए। सिटामोल उत्पादनका लागि सङ्घको तर्फबाट पनि सबै उत्पादकलाई सर्कुलर गरिसकिएको महासचिव अधिकारी बताउँछन्। उनले भने, ‘हामी चुप लागेर बसेका छैनौँ। उत्पादन गरिरहेका छौँ।’

सिटामोल नपाएर मान्छे मर्ने अवस्था निम्तिए उत्पादकका लागि पनि लज्जास्पद स्थिति हुने भन्दै गम्भीर भएर सिटामोल उत्पादन गरिरहेको महासचिव अधिकारीको तर्क छ।

केही दिनअघि सिटामोल उत्पादक, औषधि व्यवस्था विभाग, आयातकर्ता, उपभोक्ता, वितरकलगायत सरोकारवालासँगको छलफलमा उत्पादन गरेर सिटामोलको वितरण सहज बनाउने उत्पादकले प्रतिबद्धता जनाएका थिए।

छलफलका क्रममा मूल्य समायोजनका लागि पनि औषधि व्यवस्था विभागले पहल गर्ने कुरा भएको विभागका सूचना अधिकारी केसीले जानकारी दिए।

छलफलका क्रममा उत्पादकले उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै कच्चा पदार्थ बढेकाले मूल्य समायोजन गरिदिन अनुरोध गरेको उनी बताउँछन्।

सिटामोलको कच्चा पदार्थ चीन तथा भारतबाट आयात हुने र कच्चा पदार्थ ल्याउन कुनै समस्या नभएको उत्पादकको भनाइ छ।

त्यसो त सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै सिटामोलको अभाव नहुने र हुन नदिने प्रतिबद्धता जनाएको छ। ‘नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौँ,’ सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौँ।’

तर, सङ्घले अत्यधिक बजारको माग भएकाले अभाव हुनुलाई स्वभावीकै भनेको छ। अफवाहका कारण नपाइने डरले १० गुणाभन्दा बढी पारासिटामोल लगायतका औषधि घरघरमा सञ्चय सुरु भएको सङ्घको तर्क छ।

५० प्रतिशत घाटामा उत्पादन

औषधि उत्पादकका अनुसार एक चक्की सिटामोलको लागत मूल्य एक रुपैयाँ ५९ पैसा पर्छ। सिटामोलको बजार मूल्य एक रुपैयाँ छ। उत्पादकले भने प्रतिचक्की ८० पैसा पाउने औषधि उत्पादक सङ्घका महासचिव अधिकारी बताउँछन्। उनले भने, ‘उत्पादकले पाउने ८० पैसा हो।’

महासचिव अधिकारीको भनाइअनुसार एक चक्की सिटामोल उत्पादन गरेर बजारसम्म पुर्याउँदा उत्पादकले करिब ५० प्रतिशतभन्दा बढी घाटा हुन्छ। उनले भने, ‘उत्पादकलाई एक चक्की सिटामोलमा ४० देखि ५० प्रतिशत घाटा छ।’

दुई रुपैयाँ बनाउन माग

भारतको भन्दा बढी मूल्य नमागेको पनि सङ्घका महासचिव अधिकारीको भनाइ छ। उनले एक चक्की सिटामोलको मूल्य दुई रुपैयाँ हुनुपर्ने उत्पादकको माग रहेको बताए।

'भारतमा अहिले पनि दुई रुपैयाँ हो। हामीले मूल्य पनि धेरै मागेका छैनौँ। दुई रुपैयाँ होस्,’ उनले भने, ‘एक रुपैयाँको अत्यावश्यक औषधिलाई दुई रुपैयाँ नै बनाउँदा पनि केही फरक पर्ने वाला छैन।’

कच्चा पदार्थको मूल्य बढ्दा सिटामोलको मूल्य पनि बढ्ने र कच्चा पदार्थको मूल्य घट्दा सिटामोलको मूल्य पनि घट्ने गरी स्वचालित रूपमा मूल्य समायोजन गर्दा पनि उचित नै हुने महासचिव अधिकारी बताउँछन्।

प्रतिकिलो दुई सय ५० (भारतीय रुपैयाँ) मा आउने कच्चा पदार्थको मूल्य करिब ११ सय (भारतीय रुपैयाँ) पुगेको सङ्घका उपाध्यक्ष बराल बताउँछन्।

कच्चापदार्थ लगायतको मूल्य बढे पनि सिटामोलको मूल्य नबढ्दा घाटा सहेर बिक्री गर्नुपरेको उपाध्यक्ष बरालको तर्क छ। मूल्य समायोजन नगरी सरकारले अनिर्णयको बन्दी बनाएर जनताले सिटामोल नपाउने अवस्था बनाउन नहुने उत्पादकको तर्क छ।

उपाध्यक्ष बराल १६ वर्षदेखि सिटामोलको मूल्य समायोजन हुन नसकेको बताउँछन्। अघिल्लो दुई वर्षदेखि बढी घाटा लाग्न थालेको उपाध्यक्ष बरालको भनाइ छ। उनले भने, ‘पहिले पहिले हामीलाई डेढदेखि दुई प्रतिशत मात्रै मार्जिन रहन्थ्यो यो प्रोडक्टमा। अहिले शतप्रतिशत घाटामा बनाइरहेका छौँ।’

महासचिव अधिकारी पनि पाँच वर्ष अघिसम्म घाटा नभएको बताउँछन्। सिटामोल उत्पादनमा घाटा हुन थालेपछि (२०६३) देखि औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायहरूलाई मूल्य समायोजनका लागि गुहारे पनि समायोजन नभएको अधिकारी बताउँछन्। उनी भन्छन्, ‘स्वास्थ्य समिति, अर्थ समितिका मान्छेसँग पनि पारासिटामोलको मूल्यको बारेमा कुरा गरेका छौँ। सबैतिर कुरा गरेका छौँ।’

राजनीतिक नेतृत्वले उद्योगी र किसानप्रति हेर्ने दृष्टिकोण नै फरक भएकाले मूल्य समायोजन हुन नसकेको महासचिव अधिकारीको तर्क छ।

मन्त्रीलाई आफू मन्त्री भएको समयमा औषधिको मूल्य बढाउँदा मूल्य बढायो भन्ने आरोप लाग्ने र चुनाव हार्ने डरले राजनीतिक नेतृत्वले मूल्य बढाउन नचाहेको अधिकारीको तर्क छ। तर, मूल्य समायोजन अनिवार्य नै भइसकेको उनको तर्क छ।

९९ प्रतिशत सिटामोल स्वदेशी उत्पादन

करिब ९९ प्रतिशत सिटामोल नेपाली उत्पादनले नै धानेको सूचना अधिकारी केसीले जानकारी दिए। उनले भने, ‘९९ प्रतिशत नै भने पनि हुन्छ। एउटाको मात्रै आउने हो इन्डियाबाट। अल्मोस्ट नेपाली उत्पादकले नै धानेको छ।’

औषधि उत्पादक सङ्घले पनि ९९ प्रतिशत पारासिटामोल स्वदेशी औषधि उद्योगले नै पूर्ति गरिरहेको जनाएको छ।

सिटामोल उत्पादनका लागि २२ वटा स्वदेशी कम्पनीले अनुमति लिए पनि करिब १० वटा कम्पनीले मात्रै उत्पादन गरिरहेको सूचना अधिकारी केसीले जानकारी दिए। आवश्यकता परेको यो अवस्थामा २२ वटै उत्पादक कम्पनीले सिटामोल उत्पादन गर्नुपर्ने केसी बताउँछन्।

त्यसैगरी सिटामोल आयातका अनुमतिका लागि ११ वटा फर्म औषधि व्यवस्था विभागमा दर्ता भए पनि एउटा मात्रै फर्मले आयात गर्ने गरेको देखिएको सूचना अधिकारी केसीले जानकारी दिए।

तीन करोड चक्की बनाउने कच्चा पदार्थ मौज्दात

औषधि व्यवस्था विभागले माघ सात गते विज्ञप्ति जारी गर्दै स्वदेशी औषधि उत्पादकसँग करिब तीन करोडभन्दा बढी चक्की सिटामोल उत्पादन हुन सक्ने कच्चा पदार्थ रहेको जनाएको थियो।

विभागले विज्ञप्ति जारी गर्दै निरन्तर अनुगमन गरिने र कसैले कृत्रिम अभाव सिर्जना गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने जनाएको थियो।

औषधि उत्पादकहरूले पनि सिटामोल उत्पादन गरिरहेकाले अभाव नहुने सूचना अधिकारी केसीको भनाइ छ।

उत्पादकले एक दिनमा कति सिटामोल उत्पादन हुने प्रतिबद्धता जनाएका थिए र दैनिक कति उत्पादन भइरहेको छ? भन्ने जिज्ञासामा केसीको जवाफ छ, ‘आजै १२ लाख जति लोमोसको जाँदै छ। अरू-अरुको पनि हुँदै छ।’

औषधि उत्पादक सङ्घले पनि मंगलबार जारी गरेको विज्ञप्तिमा पाँच सय मिलिग्रामका करिब तीन करोड ८४ लाख पारासिटामोलका चक्की बनाउन पुग्ने कच्चा पदार्थ रहेको जनाएको छ।

केही दिनअघि मात्रै एक हप्ता भित्रमा करिब ६० लाख चक्की (ट्याब्लेट) उत्पादन गरेर बजार पठाइसक्ने महासचिव अधिकारीले बताएका थिए।

उनले अब सिटामोल अभावको समस्या नहुने तर्क गरे। महासचिव अधिकारीले भने, ‘अब त्यति ठुलो समस्या हुँदैन। अहिलेको समस्या एक्कासि माग बढेर भएको हो।’

दैनिक चार लाख चक्की खपत

सामान्य अवस्थामा दैनिक तीनदेखि चार लाख चक्की सिटामोल खपत हुने गरेको सूचना अधिकारी केसीले जानकारी दिए। उनले  भने, ‘एक दिनमा चार लाख जस्तोको स्टेटमेन्ट देखिन्छ।’ जसमध्ये अहिले दैनिक करिब तीन लाख चक्की नेपाल औषधि लिमिटेडले नै उत्पादन गरिरहेकाले सिटामोल अभावको समस्या सहज हुँदै जाने उनको दाबी छ।

तर, कोरोना भाइरस सङ्क्रमणको महामारीको अवस्थामा सामान्य अवस्थाको तुलनामा तीन गुणाभन्दा बढी खपत हुने देखिएको केसी बताउँछन्। उनको भनाइलाई आधार मान्दा अहिले दैनिक करिब १२ लाख चक्की सिटामोल खपत हुन्छ।

वार्षिक सात करोड चक्की खपत

विभागका सूचना अधिकारी केसी सामान्य अवस्थामा वार्षिक करिब सात करोड चक्की सिटामोल खपत भएको देखिएको बताउँछन्। उनी भन्छन्, ‘नर्मल अवस्थामा सात करोड चक्की जति खपत हुन्छ।’ तर कोभिड–१९ को समयमा भने वार्षिक २० करोड उत्पादन गरेको उत्पादकको दाबी रहेको केसी बताउँछन्।

१२ माघ, २०७८, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।