अब भन्सार महसुल अनलाइनमार्फत तिर्न सकिने 

अब भन्सार महसुल अनलाइनमार्फत तिर्न सकिने 

काठमाडौँ : भन्सार विभागले विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणाली सुरु गरेको छ। ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्मा बुधबार ई-पेमेन्ट प्रणालीको शुभारम्भ गरे। 

अब व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत नै तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले बताए। 

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगायतका लागि यसले महत्त्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, अनलाइन सेवाको शुभारम्भ गर्दै उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ।’ 

उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए। भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए। 

मन्त्री शर्माले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्त्वपूर्ण हुने उल्लेख गरे। 

पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परे पनि अर्थतन्त्र धराशायी नभएको उनले बताए। कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेको भन्दै मन्त्री शर्माले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने उल्लेख गरे। 

समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्ने बताए। 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे। परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले उल्लेख गरे। 

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ।

१२ माघ, २०७८, १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।