सांस्कृतिक कार्यक्रममा हत्या गरेर फरार निलबहादुर पक्राउ

सांस्कृतिक कार्यक्रममा हत्या गरेर फरार निलबहादुर पक्राउ

काभ्रे : सांस्कृतिक कार्यक्रममा भएको झडपमा धारिलो हतियारले हानेर हत्या गरेको केसमा २० वर्ष कैद सजाय सुनाइएका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङ पक्राउ परेका छन्।

नौ वर्षअघि साबिक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्या अभियोगमा प्रमाणित भए पनि निलबहादुर पक्राउ परेका थिएनन्।

भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा उनी शुक्रवार पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबिच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए।

अदालतले २०७४ असार १४ गते प्रतिवादी नीलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो। प्रहरीले यसअघि गत मङ्गलवार एन्जलको हत्यामा संलग्न भएका अर्का प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो।

उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएको थियो। 

८ माघ, २०७८, ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।