कीर्तिपुरवासीले कब्जा गरेको गोरखाली सेनाको हतियार  जुन दरबारले चाहेर पनि फर्काउन सकेन 

कीर्तिपुरवासीले कब्जा गरेको गोरखाली सेनाको हतियार  जुन दरबारले चाहेर पनि फर्काउन सकेन 
तस्बिर : कृष्पा श्रेष्ठ।

कीर्तिपुर : तिन तले मन्दिर। दोस्रो तलाको बाहिर छर्लङ्ग देखिने गरेर छुरी, तरबार, ढाल र युद्धमा लगाइने हेलमेट झुन्ड्याइएका छन्। हतियारहरूमा खिया लागेका छन्। कीर्तिपुरका ८२ वर्षीय ईश्वर महर्जनले यी हतियारहरू सानैदेखि त्यहाँ झुन्डिएको देखिरहेका छन्।

उनले भने' पहिले यहाँ ठुला-ठुला रुखहरू थिए। घरैघर देखिएको ठाउँमा जङ्गल मात्रै थियो। साथीहरूसँग मिलेर म पनि मोजाको डल्लो बनाएर यही मन्दिर वरपर खेल्न आउँथेँ।'

बाघ भैरव मन्दिर परिसर पस्ने बित्तिकै बालापनको याद आउने उनलाई मन्दिर बाहिर हतियार किन झुन्ड्याइए भन्ने चैँ थाहा छैन। थाहा पाउन पनि चाहेनन् उनले। उकेराले यसबारे जिज्ञासा राख्दा उनले भने, 'खै हामी साना छँदा गोर्खालीको लुटेको हतियार भन्थे, किन यहाँ राखियो, के कारणले राखियो केही थाहा छैन।'

कीर्तिपुरको मध्य भागमा, घना बस्तीको बिचमा छ बाघ भैरव मन्दिर। कीर्तिपुरमा रहेका मन्दिरमध्ये अहिलेसम्मकै पुरानो  र ठुलो मन्दिरको नामले समेत चर्चित छ यो मन्दिर। यसको बेला मौकामा जीर्णोद्धार हुँदै आएको छ। एक वर्षअघि मात्रै झिँगटीको छाना परिवर्तन गरेर मन्दिरमा तामाको छाना लगाइएको छ।

मन्दिर बाहिर झुन्ड्याइएका हतियारहरू गोर्खालीका हुन्। बाघ भैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष शुद्धरत्न महर्जनले भने' हाम्रो बहादुरी प्रदर्शन गर्न यी हतियारहरू यहाँ झुन्ड्याइएका हुन्।'

तस्बिर स्रोत : हिमालखवरडटकम

राजा वीरेन्द्र शाहको बंशनास भएर ज्ञानेन्द्र शाह राजा भएपछि उनले मन्दिरमा रहेका यी हतियार लैजाने प्रयास गरेका थिए। त्यो बेलामा संग्रहालयमा राख्ने भनेर निर्णय भएको महर्जन बताउँछन्। तर कीर्तिपुरवासीका लागि अझैँ पनि त्यो हतियार सम्मानको सूचक हो। त्यसैले उनीहरुले मानेनन् हतियार दिन। सरकारले सङ्ग्रहालयमा राख्ने भनेर पटक-पटक प्रयास गरे पनि गुठीले मानेन। हतियार अझैँ मन्दिरमै छ।

गोर्खालीले कीर्तिपुर माथि धेरै पटक आक्रमण गरे। जसमा तीन आक्रमण सबैभन्दा ठुला थिए। पहिलो पटक आक्रमण (नेपाल संवत् ८८०) गर्दा गोर्खाली फौजले हारेका थिए। जसमा सेनापति कालु पाण्डे मारिए। दोस्रो आक्रमण (नेपाल संवत् ८८४)  मा पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाहको आँखा फुट्यो।

मन्दिरमा झुन्ड्याइएका हतियार, ढाल र हेलमेट तिनै गोर्खालीहरूबाट कीर्तिपुरेले लुटेका हुन्। मन्दिरको बिचमा झुन्ड्याइएको हेलमेट कालु पाण्डेको भएको अध्यक्ष महर्जनले बताए।

गोर्खालीले कीर्तिपुरमाथि पहिलो पटक आक्रमण गर्यो। कीर्तिपुर पाटन अन्तर्गतको राज्यमा पर्दथ्यो। कीर्तिपुरमा दरबार थियो तर त्यहाँ काजी बस्थे राजा थिएनन्। कीर्तिपुरे मेहनती भएकाले राजाको भन्दा भव्य दरबार काजीको थियो। जनश्रृती अनुसार कीर्तिलक्ष्मी सिंह काजीकी छोरी थिइन्। पहिलो पटक गोर्खालीको लज्जास्पद हार उनै कीर्तिलक्ष्मीको नेतृत्वमा भएको थियो। उनैको नेतृत्वले लुटेका हतियार बाघ भैरव मन्दिरमा झुन्ड्याइएका अस्त्रहरू भएको दाबी गरिए पनि कीर्तिलक्ष्मी वास्तविक पात्र हुन् या कल्पिन पुष्टि हुन सकेको छैन।

महर्जन भन्छन्,' हामीले पनि हजुरआमाको मुखबाट सुनेका हौँ। उहाँहरूलाई नाम भन्न आएन। केटी राजाले युद्ध लडेको भन्नुहुन्थ्यो।'

उनले सुने अनुसार कीर्तिलक्ष्मी पुरुषको भेषमा युद्ध लड्थिन् रे। एक दिन बाही गाउँका मानिसले मुख धुँदा दुई हात प्रयोग गरेको देखेछन्। पुरुषको भेषमा महिलाले युद्ध लडेको थाहा पाएपछि पृथ्वीनारायण शाहका मानिसलाई ती बाहिरी गाउँका मानिसले सुराकी लगाइदिएछन्। कीर्तिलक्ष्मीले अरूको हातबाट मर्नु भन्दा बरु आफै मर्छु भनेर आफ्नो छातीमा छुरी घोपेर आत्महत्या गरिन् रे। महर्जन पाटनको दरबारभित्र एक शिलालेख रहेको र त्यसमा कीर्तिलक्ष्मी सिंहबारे लेखिएको दाबी गर्छन्।

हृदेश प्रधान सिंहले अङ्ग्रेजी भाषामा कीर्तिलक्ष्मीबारे लेखेको समेत उनले बताए। त्यो किताबमा लेखेको कुरालाई पनि नाटक बनाएर टोल टोलमा देखाइएको थियो। पछि त्यही कुरालाई वासु पासाले उपन्यास बनाए। उपन्यास बनेपछि त्यसलाई फिल्ममा रूपान्तरण गरियो। महिला पात्र, त्यसैमाथि युद्ध हारेकाले इतिहासबाट उनको नाम मेटाइएको हुनसक्ने महर्जनको अड्कल छ।

रिसमा छन् कीर्तिपुरे

दोस्रो आक्रमणमा पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाहको आँखा फुट्यो। जब उनी गोर्खा फर्किए सबैले कानेबाजी भनेर जिस्काए। उनको रिसको पारो तात्यो। त्यसपछि सुरप्रतापले पृथ्वीनारायणसँग आदेश मागे कीर्तिपुरेको नाक काट्ने।

दाबी अनुसार ती मानिसले नाक मात्रै काटेनन्, कान र ओठ पनि काटिदिए। काटिएका कान, नाक र ओठ विदेशीहरूले १७ धार्नी भएको दाबी गर्ने गरेका छन्। तर यो पनि विवादमै छ।

उनीहरू यतिमा मात्रै रोकिएनन्, कीर्तिपुरको उमा महेश्वरी मन्दिरको ढोकामा रहेका दुई भगवानको मूर्तिको नाक समेत काटिदिए। तेस्रो पटक पाटनका राजाहरूसँग मिलेर कीर्तिपुरमाथि आक्रमण भयो। झेल गरेर युद्ध जिते। जितपछि उनीहरूको सर्वस्व हरण भयो।

राजाले तीन थानामा क्षेत्री थापा, बल्खुमा मगर, चोभारमा मगर थापा, भत्केपाटीमा बस्नेतहरू राखे। बलिया मानिसहरू छेउछाउमा राखेर कीर्तिपुरलाई नियन्त्रण गरियो।

पछि एक हजार रोपनी जग्गा कीर्तिपुर बासीका लागि छुट्टाइयो। समथर ठाउँमा युद्ध जित्न सहयोग गर्ने कीर्तिपुरेहरुलाई राखियो। जो युद्धमा सामेल थिए, उनीहरूका लागि भिर पाखा, खेती गर्न नमिल्ने ठाउँ दिइयो। त्यो जग्गा एक व्यक्तिले प्रति रोपनी २ रुपैयाँले किन्नुपर्ने व्यवस्था गर्यो।

कुत(कर) तिर्ने व्यवस्था पनि अन्य नागरिकको तुलनामा फरक गर्यो कीर्तिपुरवासीलाई। गुरुजुको खान्की कर। यो कर तिर्नुपर्ने अनिवार्य कर थियो। अन्न फले पनि नफले पनि, रोपाई भए पनि नभए पनि गुरुजुको कर तिर्नपर्थ्यो।

अरूले भने रोपाइ भएन भने कुत तिर्न पर्दैनथ्यो। यही कुतकै कारण कीर्तिपुरका धेरै बासिन्दा बसाइँ सर्न बाध्य भए। समयमा कुत तिर्न नसकेकै कारण राजाले खटाएका मानिसहरूले घरमा आगो लगाइदिए। जसले गर्दा कीर्तिपुरमा धेरै धनजनको क्षति हुन पुग्यो। कीर्तिपुरको काजी निवासमा उनीहरूकै मानिस राखे। उक्त निवास अहिलेसम्म केही भएको छैन।

पृथ्वीनारायण सम्झिएको मन पराउँदैनन् कीर्तिपुरे

शाहवंशको राजकाज अन्त्य भएर गणतन्त्र आउँदा पनि उनीहरूको भक्तीगान गरेको मन पराउँदैनन् कीर्तिपुरवासी। राजाहरूले कीर्तिपुरेलाई निकै हेलाँ गरेको र १२ औँ पुस्तासम्म राज गर्दा कोही राजा कीर्तिपुर नआएको महर्जनले बताए। त्यसैले गाई जात्राको दिन राजालाई जे पनि भन्न पाइने चलन अहिलेसम्म जारी छ।

उक्त गाईजात्रालाई झ्याङपापा भनिन्छ। त्यो समयका बाहिरी गाउँका राजा धनवन्त उक्त गाईजात्राका पात्र हुन्। जसले कीर्तिपुर हराउन सुराकीको काम गरेका थिए। धनवन्त रातो अनुहार भएको र सुनको दाँत लगाएको मुखौटो, उसको श्रीमती मोटो शरीर र च्याउको अनुहार भएको मुखौटो, उनीहरूको बहिनी माछाको मुख भएको मुखौटो र चार जना छोराहरू थरथरीका मुखौटो लगाएर गाईजात्राका दिन कीर्तिपुर परिक्रमा गर्छन्। मुखौटोमा दुई रङ्ग प्रयोग गरिन्छ। जसको अर्थ हो दुइजिब्रे अर्थात् जता पनि ठिक्क पार्ने।

एक हुल राजावादी संस्थाका युवा, कीर्तिपुर नगरपालिका पुगे। उनीहरू कीर्तिपुरको नाके डाँडा नाम गरिएको ठाउँमा पृथ्वीनारायण शाहको सालिक बनाउन चाहन्थे। पृथ्वी जयन्तीको दिन उक्त डाँडामा पृथ्वीनारायण शाहको सालिक शिलान्यास गर्ने उनीहरूको योजना थियो।

कीर्तिपुरका बासिन्दालाई उनीहरूको योजना चित्त बुझेन। आइतबार कीर्तिपुरको बाघ भैरव पुग्दा गुठीका अध्यक्ष शुद्धरन्त महर्जन सहित त्यहाँका स्थानीय बासिन्दा योजना रोक्का गर्न दौडधुपमा थिए।

उकेरासँगको भेटमा उनले भने, 'हामीले हाल यसलाई रोक्का गर्यौँ। कीर्तिपुरमा पृथ्वीनारायण शाहको सालिक कदापि बन्न सक्दैन। यो हाम्रा लागि अपमान हो। दङा फैलाउने काममा सरकार नलागोस्।'

पुरानो मूर्ति अझै छ, बाघ भैरवको

अहिले मन्दिर र घना बस्ती रहेको ठाउँमा पहिले जङ्गल थियो। भिरालो जमिनमा बस्न नसकिने भएकाले मानव बस्ती भने बल्खु खोला किनार, कलङ्की आसपासका क्षेत्रमा थिए।

बाघ भैरव मन्दिर नेपाल संवत् २१९ देखि २४६ मा लिच्छवी कालिन राजा शिवदेवले निर्माण गरेका हुन्। उनै राजाले नहर, पोखरी, ढुङ्गे धारा लगायतका विकास निर्माणका काम गरेर आफ्नो कीर्ति स्थापना गरेकाले कीर्तिपुर नामकरण गरिएको अभिलेखमा पाइन्छ।

जनश्रृती अनुसार एक दिन साना केटाकेटीहरू भेडा बाख्रा चराउन त्यहीL जङ्गल गएछन्। भेडा बाख्रा चरिरहेको समयमा केटाकेटी भने माटाका विभिन्न मूर्ति बनाउन थालेछन्। त्यही समयमा एउटा मूर्ति बाघको बनेछ।

बाघको जिब्रो भने माटोको असुहाउँदो लागेछ। त्यसैले केटाकेटीहरू जिब्रो बनाउने पात खोज्न निस्केछन्। पात खोजेर फर्कँदा त उनीहरूको भेडा बाख्रा सबै गायब। मूर्ति बनाएको बाघको मुखमा भने रगतै रगत। मुख पनि आँ गरिरहेको। केटाकेटीहरूलाई त्यही बाघको मूर्तिले नै भेडा बाख्रा खायो जस्तो लागेछ। त्यसैको रिसमा उनीहरूले बाघको जिब्रो नै राखिदिएनन्। र गाउँले बोलाउन गए।

सुरुमा केटाकेटीको कुरा नपत्याए पनि मुखमा रगत लागेको देखेर गाउँलेहरू पत्याउन बाध्य भए। त्यही समयमा मूर्तिको भित्रबाट आवाज आएछ, 'मलाई यहाँबाट निकाल।' ध्यान दिएर हेर्दा त बाघभित्र शिवजी रहेछन्। केटाकेटीले अन्जानमा शिवजीलाई बाघको पेटभित्र थुनिदिएछन्। शिवजीले भोकले आकुलब्याकुल भएर सबै भेडा बाख्रा खाइदिएछन्।

गाउँलेहरूले शिवजीसँग सर्त राखेछन्,'हाम्रो सुरक्षा गरिदिन्छौ भने मात्रै हामी यहाँबाट निकाल्छौँ।' शिवजीले गाउँलेको कुरा मानेछन्। फलस्वरूप त्यस स्थानमा ब्याघ्रेश्वर भैरव उत्पन्न भएछन्।

केटाकेटीले बनाएको मूर्ति अझै बाघ भैरवमा रहेको महर्जन बताउँछन्। हामीले त्यसलाई असुरक्षित महसुस गरेर मन्दिरमा राखेका छैनौँ। फोटो खिच्न पनि पाइँदैन।

पृथ्वी जयन्ती विशेष

२७ पुस, २०७८, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।