कभर स्टोरी

पृथ्वी जयन्ती विशेष

पृथ्वीनारायण शाहको रिसमा थुक्ने ढुंगा: स्थानीय भुल्न चाहन्छन्, राजनीति गर्ने उक्साउँछन्


सिन्धुलीका गणेश विक कीर्तिपुरको मंगल सेकेण्डरी स्कुलमा ५ कक्षामा पढ्छन्। स्कुलमा गणेशका मिल्ने साथी हुन् स्थानीय निक्सन मर्हजन। उनीहरू कीर्तिपुरमा बस्ने टोल पनि नजिकै छ। साँझ-बिहान खेल्न, रम्न उनीहरू भेटछन्। अरू साथी पनि आउँछन्। 

भेटकै क्रममा निक्सन आफ्ना साथीहरूलाई 'छ्याक ल्वहँ'मा थुक्न सिकाउँछन्। छ्याक ल्वहँलाई स्थानीय थुक्ने ढुंगा मान्छन्। गणेश उकेरासँग भन्छन्, 'साथीले थुक्नुपर्छ भन्छ। हामीले नि थुक्ने गर्‍या छौं।'

निक्सनलाई भने थुक्नुपर्छ भनेर उनकै घर-परिवारले सिकाएको हो रे। निक्सन र गणेशलाई छ्याक ल्वहँमा थुक्नु संस्कृतिकै पाटो हो भन्ने लाग्छ।

'नथुकी हिँड्यो भने भूत आउँछ रे। त्यही भएर पनि हामीले थुक्छौँ', स्कुलकै आडमा रहेको छ्याक ल्वहँछेउ उभिएर गणेशले भने।

गणेशका अनुसार अरू धेरै विद्यार्थी पनि ‘छ्याक ल्वहँ’लाई भूत मानेर थुक्छन् रे।

०००
छ्याक ल्वहँलाई थुक्छन् चाहिँ किन?
छ्याक ल्वहँको साइनो भूत-प्रेतसँग भएको किम्वदन्ती छ। 

रातको समयमा छ्याक ल्वहँबाट दुई वटा राँगो ओरालो लाग्छन्। ती राँगोहरू भूत हुन्। तीनले मान्छेलाई हान्छन्, मार्छन्। त्यसैले तिनलाई तह लगाउन थुक्नुपर्छ। 

यो त किम्वदन्ती भयो। अर्को ऐतिहासिक पाटो पनि जोडिन्छ यसमा। त्यो हो- पृथ्वीनारायण शाहमाथि पोखेको रिस।

पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि वसन्तपुर दरबारमा बस्न थाले। ‘छ्याक ल्वहँ’बाट ठ्याक्कै शाहको दरबार देखिन्थ्यो। 

शाहले त्यतिबेला कीर्तिपुर पनि जितिसकेका थिए। तर कीर्तिपुरबासीको मन जित्न भने उनी असमर्थ रहे। 

त्यसैले पृथ्वीनारायणमाथि कीर्तिपुरबासीको रिस कायमै थियो। तर कीर्तिपुरसहित काठमाडौं उपत्यकामा राज गरिरहेका शाहलाई कीर्तिपुरेले प्रत्यक्ष हानि गर्न सक्ने उपाय केही थिएन। 

तुलाधरको छ्याक ल्वहँबारे धारणा छ, 'युद्धमा मरेको मानिसहरू फालिएको होला। तिनै मानिस सडेर गन्हायो होला। गन्धका कारण नाक थुन्ने, थुक्ने काम भयो होला।'

त्यसैले त्यो ढुंगामाथि बसेर बसन्तपुरमा रहेका शाहलाई थुक्दा थुक्दा ढुंगालाई नै थुक्ने चलन बसेको हो।

विवादित किस्सा
छ्याक ल्वहँभन्दा थोरै माथि एउटा चौतारो छ। त्यो चौतारोमा शाहले कीर्तिपुरमाथि जित हासिल गरेपछि विद्रोह गर्नेको नाक/कान झुण्ड्याएका थिए रे। यद्यपि यो विवादितै छ।  

आज छ्याक ल्वहँमा थुक्न नदिन तैनाथ सुरक्षाकर्मीहरू। तस्बिर: कृष्पा श्रेष्ठ

स्थानीयलाई जालझेल गरी जितेपछि पनि नाक, कान र ओठ काटी झन् बेइज्जत गरी पिपलको रुखमा झुण्ड्याएपछि त्यसैको बदलास्वरूप धार्मिक दृष्टिकोणबाट पिपललाई थुक्न नहुने भएकाले चौताराबाट करिब १० मिटर तल रहेको ढुगांमा थुक्न थालिएको हो।

कालु पाँडे मानेर थुक्ने गरेको अनुमान
गोर्खाली सेनाका काजी कालु पाँडेलाई छ्याक ल्वहँमाथि राखेर काटेको कारण त्यसलाई कालु पाँडे नै मानेर थुक्ने गरेको भन्ने अनुमान पनि कतिपयले गर्ने गरेका छन्।

(नेवारी परम्पराअनुसार कालगतिमा परी मरेका व्यक्तिहरूले तर्साउँछन्। तिनले नतर्साउन् भनेर थुक्ने गरिन्छ।) 

यस्तो विश्वास
पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको नाक, कान र ओठ छ्याक ल्वहँले पुरेका थिए। र पुर्खाहरूलाई पुरेको कारण छ्याक ल्वहँलाई खुट्टाले छुन नहुने भएकाले त्यो ढुंगालाई थुक्न थालिएको भन्ने विश्वास पनि रहेको छ।

तर, धेरैजसो स्थानीय छ्याक ल्वहँ भूत, प्रेत, पिचास वा पृथ्वीनारायण कसैसँग पनि नजोडिने बताउँछन्। उनीहरूका अनुसार यो केवल कालु पाँडेसँग जोडिन्छ। 

स्थानीयहरूका अनुसार मान्छेलाई दुःख दिने भूत-प्रेतले हो। कीर्तिपुरबासीलाई कालु पाँडेले दुःख दिएका थिए। त्यसैले कालु पाँडे काटिएको ठाँउ छ्याक ल्वहँमा भूत-प्रेत छ भन्छन् उनीहरू।

यस्ता धेरै अनुमानहरू छन् छ्याक ल्वहँबारे। तर तथ्यको खोजी भने भएको देखिँदैन।

अर्को अनुमान यस्तो छ
५५ वर्षीय पूर्णलाल तुलाधार २५ वर्षयता कीर्तिपुर बाघ भैरवमा भाँडाकुँडाको व्यापार गर्दै आएका छन्।

तुलाधरको छ्याक ल्वहँबारे धारणा छ, 'युद्धमा मरेको मानिसहरू फालिएको होला। तिनै मानिस सडेर गन्हायो होला। गन्धका कारण नाक थुन्ने, थुक्ने काम भयो होला।'

कालान्तरमा त्यसैमा मानिसले भूत प्रेतको कथा मिसाएको उनको अनुमान छ।

आक्रोशको परिर्वतित स्वरुप मात्र थियो ‘छ्याक ल्वहँ’
स्थानीय सञ्जय महर्जन छ्याक ल्वहँ आक्रोशको परिर्वतित रूप भएको बताउँछन्। 

'सानो उमेरमा हामीले पनि थुक्यौँ। यो विरोधको स्वरूप रहेछ तत्कालीन सत्तासँग। जुन पछिल्लो समय संस्कृति जस्तै बन्न पुग्यो’, मर्हजन भन्छन्, 'तर, पछिल्लो पुस्ताले मतलब नै गर्दैन।'

इतिहासविद् त्रिरत्न मानन्धर र दिनेशराज पन्त छ्याक ल्वहँ कीर्तिपुरबासीको हारपछिको आक्रोश व्यक्त गर्ने माध्यम मात्र भएको बताउँछन्।

इतिहासविद् पन्त भन्छन्, 'छ्याक ल्वहँमा पृथ्वीनारायण शाहको पालोभन्दा पहिलेबाटै पो थुक्ने परम्परा थियो कि! वि.सं. १८२२ पछि शाहले जिते। हारको आक्रोश पोख्न चलेको चलन हुनसक्छ। तर यसको प्रमाणित तथ्य भने छैन।'

स्थानीय छ्याक ल्वहँ भगवान हुन सक्ने बताउँछन्
स्थानीय सनिल तण्डुकार छ्याक ल्वहँप्रतिको धारणा पुस्तान्तरण हुँदै गर्दा भविष्यमा थुक्ने ढुंगो देवतामा परिणत नहोला भन्न नसकिने बताउँछन्।

तण्डुकार भन्छन्, 'बाटोमा भए पनि संरक्षणमा छ। कुल्चने परम्परा छैन। भूत-प्रेत भन्ने जमाना छैन। अब विस्तारै छ्याक ल्वहँ थुक्ने होइन पुज्ने भगवान चाहिँ हुनसक्छ।'

उनी आफ्ना बालबच्चालाई त्यहाँ थुक्नुपर्छ भनेर नसिकाएको बताउँछन्। 'इतिहासलाई इतिहासकै रूपमा व्याख्या गर्दा राम्रो हो। अब कीर्तिपुर छुट्टै राज्य त होइन। बन्न सक्ने पनि होइन। इतिहासलाई बुझाउने काम चाहिँ हाम्रो पुस्ताले पछिल्लो पुस्तालाई गराउनुपर्छ', उनले भने। 

अर्का स्थानीय जुजुकाजी महर्जन सानैबाट थुक्ने बानी लागेका कारण बेला-बखत आफैँ थुकिने बताउँछन्। थुक्नकै लागि नथुकिने उनी बताउँछन्। 

६९ वर्षीय मोतीलाल महर्जन आफ्नो पुस्ताले पनि थुक्न छाडिसकेको बताउँछन्।

'हाम्रो पुस्ताले थुक्दैन। छोराको पुस्ताले उति चासो राख्दैन। नाति पुस्तालाई त खासै मतलबै नहुने भयो। कसैले त्रिशुल गाड्यो भने मान्छेले बिस्तारै देवता भन्न थाल्छन्', उनले भने। 

छ्याक ल्वहँमा राजनीति
केही वर्ष यता पृथ्वीनारायण शाहलाई विपक्षी मान्नेहरूले पुस २७ गते पृथ्वी जयन्तीमा छ्याक ल्वहँमा सामूहिक रूपमा नै थुक्दै आएका छन्। त्यसमा केही राजनीतिक व्यक्ति र विभिन्न जातीय संगठनको वर्चश्व देखिन्छ।

आफ्नो भाइलाई दुनियाँले 'कानो' भन्न थालेपछि उनै सुरप्रतापको सल्लाहमा पृथ्वीनारायणको आदेशमा नाक काट्नु भन्ने आदेश भएको भन्ने पनि कतै कतै उल्लेख छ। 

उसो त २०३९ सालमा तत्कालीन सरकारले सो ढुंगालाई थुक्न बन्देज लगाएको थियो। तर स्थानीयले थुक्न छोडेनन्।

'हामी स्थानीयले थुक्न छाडी सक्यौँ। राजनीति गर्नेहरू वर्षमा एकदिन आएर रोइलो गर्छन्', ८७ वर्षीय सीतादेवी तण्डुकार बताउँछिन्।

छ्याक ल्वहँकै अघिल्तिर उनको घर छ। उनी न त्यहाँ भूत आउने न स्थानीयले नै चासो दिने बताउँछिन्। 

सीता भन्छिन्, 'जाबो ढुंगाको पछि लागेर हुन्छ! पुलिस आएर एकदिन घेरेर बस्छ। थुक्नु पर्ने भए थुक्नेले अरू दिन आएर थुक्नु। बेकारको रोइलो मात्र हो।'

८७ वर्षीया सीतादेवीको भनाइ नै आम कीर्तिपुरबासीको आवाज रहेको बताउँछन् सञ्जय मर्हजन।

'हामीलाई नै मतलब छैन त्यो ढुंगाको। बहिरका मान्छे आएर राजनीति गर्न खोजेर हुन्छ', मर्हजन भन्छन्, 'कीर्तिपुरले इतिहासलाई इतिहासकै रूपमा लिइसक्यो। अब अन्याय भए पनि न्याय पाइन्छ त?'

कसरी मिथकको रूपमा रह्यो छ्याक ल्वहँ?
पृथ्वीनारायण शाहले ३ चैत १८२२ मा तेस्रो प्रयासमा कीर्तिपुरमाथि विजय प्राप्त गरे। 

पहिलो र दोस्रो युद्ध कीर्तिपुरको गढ पर्खाल बाहिर पाटन र कान्तिपुरको संयुक्त सेनासँग भएको थियो भने तेस्रोमा मात्रै कीर्तिपुरका सर्वसाधारणले पनि वीरतापूर्वक लडेको बुझिन्छ। लडाइँका क्रममा गोरखाले काजी कालु पाँडे गुमायो भने पृथ्वीनारायणका भाइ सुरप्रतापको आँखा फुट्यो।

कीर्तिपुर हात पार्न अन्य राज्य जित्न भन्दा बढी प्रयास गर्नुपरेको र ठूलो क्षति व्यहोर्नुपरेको प्रतिशोधको भावनाले गोरखालीहरू क्रुद्ध हुन पुगे। 

यसै क्रममा पराजित कीर्तिपुरका जनताको नाक र ओठ काटेको कुरा इतिहाससिद्ध कुरा हो।

नाक काटेको हो कि होइन भन्नेबारे बेलाबेला तर्क–वितर्क चल्ने गरे पनि यस विषयमा तत्कालीन सत्ता पक्षकै साहित्यमा गरिएको चर्चाले पुष्टि गरेको छ। 
पृथ्वीनारायणका दरबारिया पण्डित ललितावल्लभले वि.सं. १८२७ मा लेखेको ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा राजाको तारिफ गर्दै कीर्तिपुरमा केही विरोधीहरूको नाक काटिदिएको उल्लेख पाइन्छ। 

यस बाहेक पनि भाषा वंशावली, राजभोग वंशावली लगायतमा कीर्तिपुरमा १२ वर्षमाथिका सर्वसाधारणको नाक काटिदिएको वर्णन भेटिन्छ।

साथै आफ्नो भाइलाई दुनियाँले 'कानो' भन्न थालेपछि उनै सुरप्रतापको सल्लाहमा पृथ्वीनारायणको आदेशमा नाक काट्नु भन्ने आदेश भएको भन्ने पनि कतै कतै उल्लेख छ। 

तर तल्लो तहको सिपाहीसम्म आइपुग्दा 'नाक, कान र ओठ काटनु' भन्ने आदेश आइपुग्यो। र पराजय स्वीकार गरिसकेका कीर्तिपुरबासीको मुहारंग काटियो।

यता कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजन छ्याक ल्वहँ इतिहासमा कतै लेखिएको कुरा नभएको कारण उति महत्त्वको विषय नभएको बताउँछन्।

मेयर मर्हजनका अनुसार त्यहाँ थुक्नु/नथुक्नुको अर्थ छैन। 'हामी त्यो ढुगांलाई संरक्षण गरेर चाहिँ राख्छौं। मैखिक रूपमा मान्छेले थपथाप गर्दै पुस्तान्तरण गरेको मिथहरू छन्। पुष्टि हुने आधार छैन। त्यसैले हामी त्यसलाई मतलब नै गर्दैनौँ', महर्जनले भने। 

कीर्तिपुर नगरपालिका ढुंगाको पक्ष वा विपक्षमा नभएको कारण जनताले जे गरे पनि आफ्नो कुनै सरोकार नरहने मेयर महर्जनले उकेरासँग भने।

'ठ्याक्कै कतै उल्लेख भएको ढुंगो होइन त्यो, त्यसैले कीर्तिपुरबासीको आक्रोश पोख्ने माध्यम बन्यो, बिस्तारै गलत व्याख्या भए। ती व्याख्याले चलन नै हो गर्नुपर्छ भन्ने धारण ल्यायो’, इतिहासविद् दिनेशराज पन्त भन्छन्, 'सायद त्यो ढुंगामा थुक्ने प्रचलन शाहको राज्यविस्तार अघिबाटै चाहिँ हुन सक्छ। तर शाहको राज्यविस्तार र ढुंगोको सम्बन्ध इतिहास हेर्दा उति देखिँदैन। यो मिथैमिथमा बाँचिरहेको छ।'

पृथ्वी जयन्ती विशेष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा, अस्तित्व जोगाउनै हम्मे

‘म २०५५ मा काम गर्न आएको थिएँ सेडामा। त्यति बेला सेडाको सानमान अनि काम गराइको रफ्तार देखेर कुनै दिन म पनि यहाँ आउनुपर्छ भन्ने भएको....

रद्द विज्ञापनमा डा. भूपेन्द्रको बढुवा सिफारिसमा लोकसेवालाई स्वास्थ्य सचिवको उल्टै प्रश्न : रद्द भएको विज्ञापनको फर्म किन लियो त?

डा. बस्नेत अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए। रद्द भइसकेको विज्ञापन....

शिक्षा मन्त्रालयको नेतृत्व बदलिएसँगै केशर महल ठेक्कामा दिएर रेस्टुरेन्ट र डान्सबार खोल्ने रणनीति ब्युँतियो (प्रतिवेदन सहित )

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई भित्रैभित्रै पुन तीव्र बनाएका छन्।....

विपन्नको कोरोना राहतमा राजनीति : सत्ताधारी दललाई सहयोग पुग्ने भन्दै एमालेका स्थानीय तहले लिएनन् पैसा

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्याएको बजेट प्रतिस्थापन गर्दै नेपाली कांग्रेसको नेतृत्वको सरकारले पाँच लाख परिवारलाई सरकारको तर्फबाट सहयोग दिने कार्यक्रम ल्याएको थियो। प्रधानमन्त्री शेरबहादुर....

'ठेक्का सेटिङ क्विन' बायोमेडिकल इन्जिनियर भावनाको म्याद बढाउन वीरकै उच्च अधिकारी सक्रिय

आफू निकटकालाई कम्पनी दर्ता गर्न लगाएर शिक्षण अस्पताल महाराजगन्जमा टेन्डरमा सेटिङ गरेपछि करार खारेजीमा परेकी उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आइपुगेकी थिइन्....