उकेरा मन्थन

पृथ्वी जयन्ती विशेष

कुनै अभिलेख फेला नपरेकोले कीर्तिलक्ष्मी भन्ने पात्र काल्पनिक हो


इतिहासकार महेशराज पन्तले संशोधन-मण्डलको पाठशालामा अध्ययन गरेका हुन्। संशोधन-मण्डलमा संस्कृत भाषा, वाङ्मय तथा नेपालको इतिहासका उपकरणको अनुसन्धानका लागि आवश्यक शिक्षा लिएपछि उनले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट पिएचडी गरे। 

इतिहास-प्रधान त्रैमासिक पत्रिका 'पूर्णिमा'का संस्थापक-सम्पादक पन्तले विगतमा जर्मनीका विभिन्न विश्वविद्यालयमा अध्यापन र शोध तथा फ्रान्सको सिएनआरएसमा शोध गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका मानार्थ सदस्य पन्तको विशेष रुचि संस्कृतका कोषविद्या, खस मल्लका अभिलेख, नेवार राज्यका कानुनी लिखतमा छ। नेपालको बौद्धिक इतिहासमा नेपाल-जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाका लागि जर्मनीमा बसेर काम गरेका पन्तका जातरू’पज कमेन्ट्री अन द अमर कोष, अन संस्कृत एजुकेसन, नेपाल संवतको राष्ट्रिय मान्यताको अनौचित्य, नयराज पन्तलाई चिनाउनको लागि, नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा, को हुन् त नयराज पन्त?, नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह, जनैपूर्णिमादेखि रानीपोखरीसम्म, इनेप्ट स्पेसिमेन?, ह्वाट इज अंशुवर्मन राइट?, रिटोरिक अर ग्रामरजस्ता मौलिक ग्रन्थ र हालसालै उनको नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक मसीजीवी गरी १५ वटा पुस्तक प्रकाशित छन्। 

पुस २७ गते पृथ्वीजयन्ती। पृथ्वीनारायण शाहले आक्रमण गर्दा काठमाडौं उपत्यकामा तीन जिल्ला थिए। कीर्तिपुर तत्कालीन पाटन अहिलेको ललितपुर अन्तर्गत पर्थ्यो। तर कीर्तिपुरको आक्रमणलाई लिएर अहिले पनि उस्तै बहस भइरहन्छ। कीर्तिलक्ष्मी नामकी राजकुमारीले पृथ्वीनारायण शाहलाई युद्धमा रोकेकी थिइन् पनि भनिन्छ।

को हुन् त कीर्तिलक्ष्मी? किन विवाद भइरहन्छ, कीर्तिपुरको आक्रमणबारे? यसै विषयको वरिपरि रहेर उकेराकर्मी प्रजु पन्तले इतिहासकार पन्तसँग गरेको कुराकानीः 

कीर्तिपुरमा पृथ्वीनारायण शाहले आक्रमण गर्दा अन्तिम समयसम्म लड्ने कीर्तिलक्ष्मी थिइन् भनिन्छ। को हुन् त कीर्तिलक्ष्मी? 
कीर्तिपुर अलग राज्य थिएन त्यतिबेला। तत्कालीन पाटन अहिलेको ललितपुर अन्तर्गत पर्थ्यो। लेखक बासुपासा त्यहाँका ज्यापु समाजका हुन्। उनी अभियन्ता समेत हुन्। उनको ‘कीर्तिपुर’ भन्ने किताब प्रकाशित छ। केही लेखकले कीर्तिपुर अलग राज्य थियो भनेर सिद्ध गर्न मरिमेटेर लागेको देखिन्छ। त्यतिबेला ज्ञान प्रजा भन्ने राजा थिए भनेर समेत उल्लेख भएको पाइन्छ। जिजेपीले जयप्रकाशको नाउँ ठिकसँग उच्चारण गर्न नसकेर Gainprejas भनेर लेख जिजेपी इटालियन नागरिक उपत्यकामा आएका थिए। उनी पादरी हुन्। उनले आफ्नो अनुभव र बयान छापे। 

उनी आउँदा काठमाडौंका राजा जयप्रकाश मल्ल थिए। त्यसैलाई समातेर बासुपासाले कीर्तिपुर राज्य हो भनी चार वटा राज्य थियो भनेर समेत लेखे।  

हाम्रोमा इतिहासको स्रोतसम्म पुगेर लेख्ने, हेर्ने, पढ्ने बानी छैन। योग्यता पनि छैन। त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि इतिहास, संस्कृति पढाइ नभएको होइन। अभिलेखहरू पढ्ने र प्रतिमाहरूको व्याख्या गर्ने जनशक्ति हाम्रोमा छैन। 

२००७ सालको इतिहासका पुस्तक र त्यसपछिका पुस्तक सँगै राखेर हेर्ने हो भने इतिहासका तथ्यहरुबारे फरक पाइन्छ। संशोधन मण्डल भन्ने हाम्रो पिताजी नयराज पन्तले स्थापना गर्नुभएको थियो। त्यही संशोधन मण्डलले सत्य-तथ्य बाहिर ल्याएको हो। अहिलेको जनशक्तिले त राणाकालको अभिलेख दिँदा पनि व्याख्या गर्न सक्दैनन्। कीर्तिलक्ष्मीबारे कहाँ लेखिएको थियो, के थियो कुनै अभिलेख फेला परेको छैन। प्रमाण नभएपछि त्यो पात्र काल्पनिक नै हो। यसबारे सिनेमा पनि बनेको सुनेको छु। इतिहासमाथि सिनेमा बनाउँदा प्रमाणिकतामा टेकेर बनाउनुपर्छ न कि हल्लामा। 

नेपालका इतिहासकारहरुलाई महिला पात्रका बारेमा लेख्दा कन्जुस्याईं गरेको भन्ने आरोप लाग्छ। कीर्तिलक्ष्मीबारे खोजी नभएको हो कि पात्रै नभएकी हुन् त?
ऐतिहासिक अभिलेखमा भेटिएसम्म महिलाको नलेख्ने, पुरुषको लेख्ने भन्ने हुँदैन। जे हो त्यही लेख्नुपर्ने हुन्छ। मलाई लाग्छ, इतिहासकारहरुले महिला र पुरुष भनेर छुट्याएर लेखेका छैनन्। अहिलेसम्म कुनै प्रमाण नपाएर इतिहासकारहरुले नलेखेका हुन्। 

भनेपछि कीर्तिलक्ष्मी भन्ने पात्र थिइनन्? 
अहिलेसम्म प्राप्त अभिलेखमा उनीबारे केही भेटिएको छैन। 

पृथ्वीनारायण शाहको प्रेमिकाबारे त चर्चा हुन्छ है? 
पृथ्वीनारायण शाह भक्तपुर बसेको बेला नेवार्नी पत्नी थिइन्। तिनीतर्फबाट पृथ्वीनारायण शाहका रणसिंह शाह भन्ने छोरा थिए। ती महिलालाई पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दाअघि क्षयरोगले समातेछ। अन्तिम अवस्थामा देवघाटमा जाने इच्छा व्यक्त गरिछिन्। तनहुँको राज्य पर्‍यो देवघाट। उनलाई देवघाट लगियो। तनहुँका राजा थिए त्रिविक्रम सेन। 

२००७ सालको इतिहासका पुस्तक र त्यसपछिका पुस्तक सँगै राखेर हेर्ने हो भने इतिहासका तथ्यहरुबारे फरक पाइन्छ।

पृथ्वीनारायण शाहकी एक जना सौतेनी आमा तनहुँकी राजकुमारी भएकीले पृथ्वीनारायण शाहको मावली राज्य पनि भयो तनहुँ । उनलाई डोलीमा छोपेर लगिरहेको अवस्थामा तनहुँका पहरेदारहरुले रानी हुन् कि होइनन् भनेर हेर्न खोजे। डोली खोलेर हेरे पनि। यसो भएपछि पृथ्वीनारायण शाहलाई रिस उठ्यो र तनहुँका पहरेदारलाई काट्न अह्राए आफ्ना सेनालाई। भेटिएका तथ्य त लेखिएका छन् महिलाका पनि। तर कीर्तिलक्ष्मीको अहिलेसम्म भेटिएको छैन। 

पृथ्वीनारायण शाहले वि.सं. १८१४,  वि.सं. १८२१ र विं सं. १८२२ गरी तीन पटकको आक्रमणमा मात्रै कीर्तिपुर विजयी गरे। कीर्तिपुर आक्रमण त गाह्रो परेछ है? 
डाँडाको ठाउँ पर्‍यो। तल आहाल (पानी ताल बनाएर राख्ने) हुन्थ्यो। कीर्तिपुर चारैतिर ढोका हुन्थ्यो। पृथ्वीनारायण शाहले उकालो चढ्न लागे भने माथिबाट ढुंगा हान्ने र सहरभित्र पस्न लाग्दा ढोकाहरु बन्द हुन्थ्यो। पहिलो पटक त गोरखाली सेनाको ठूलै क्षति भयो। पृथ्वीनारायण शाह पनि मुस्किलले बाँचेका हुन्। 

वि.सं. १८०५ मा शोभा भगवती कब्जा गरेका हुन्। तर कीर्तिपुर गाह्रै थियो। उपत्यकामा त वि.सं. १९२५ मा ढोका खुला भएको अवसरमा उनले जितेका हुन्। यसको अर्थ उपत्यकाका राज्य बलियो थियो। सुरक्षा व्यवस्था राम्रो भएका कारण  उनलाई जित्न अप्ठ्यारो भएको हुनसक्छ। 

लेखक सौरभले कीर्तिपुरवासीको नाक काटिएको विषयलाई विदेशी लेखकले हौवा फैलाएको हो भनेर लेखेका छन् भने लेखक राजेन्द्र महर्जनले पृथ्वीनारायण शाहका दरबारिया कवि ललितावल्लभ अर्ज्यालले कीर्तिपुरवासीको नाक काटिएको तथ्य स्वीकार गरेका हुन् भनेर लेखेका छन्। किन यो विषयमा विवाद भइरहन्छ खास तथ्य के हो त? 
संशोधन मण्डलको खोजी अनुसार पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेका हुन्। यति धार्नी भयो भन्ने चाहिं गलत हो। जति धार्नी उल्लेख गरिएको छ, त्यो त सबैको नाक काटे पनि पुग्दैन। युद्धका नियमहरु हुन् ती। पृथ्वीनारायण शाहको पालामा मात्रै होइन, १ सय ४५ वर्षअघिसम्म युरोपको लडाईंमा युद्ध गर्नेहरुको समेत नाक काटिन्थ्यो। मैले यसबारे ‘पृथ्वीनारायणको कीर्तिमा धब्बा’ भन्ने शीर्षकमा लेखेको पनि छु। 

पृथ्वीनारायण शाहले एक पटक र कीर्तिपुरमा मात्रै होइन नाक काटेको। रणबहादुर शाहभन्दा अघि जन्मेका नागेन्द्र शाह भन्ने पृथ्वीनारायण शाहका नाति थिए। ती नाति बालककालमै बितेछन्।  राजाको घरमा यस्तो भएपछि जनताले पनि आशौच बार्नुपर्ने नियम पहिलेदेखि नै थियो। हनुमान ढोकाको द्वारेले कपाल खौरेको रहेनछ। रिसले द्वारेको नाक काटिदिएका थिए। युद्धमा हार्नेहरुको नाक, कान काटेको पाइन्छ। कीर्तिपुरमा भएको पनि त्यही हो। 

सौरभ र राजेन्द्र महर्जन स्रोतको पहुँचमा छैनन्। इतिहासको आफ्नो ढंगले व्याख्या गरेका छन्। सौरभलाई पृथ्वीनारायण शाहलाई एकदमै ठूलो देखाउनु छ भने महर्जनलाई गिराउनु छ। हामीलाई उठाउनु पनि छैन, गिराउनु पनि छैन। इतिहास लेख्नेले जे हो त्यो लेख्ने हो, गिराउने र उठाउने होइन। 

इतिहासमा जति प्रश्न गर्‍यो उति नयाँ-नयाँ तथ्य पत्ता लाग्ने हो। हाम्रोमा पनि पहिले लेखिएका इतिहासमा प्रश्न उठेका छन्। यस्ता प्रश्नहरुले इतिहास कस्तो बनाउँछ? 
इतिहासमाथि प्रश्न उठाएर स्रोतमा पुगेर त्यसको उत्तर खोज्नु ठिक हो। तर यसो भइरहेको छैन। यस्ता तथ्यहीन प्रश्नले त इतिहास बङ्ग्याउँछ। केही दिनअघि अंशुवर्माको पालाको शिलालेख भेटियो भनियो। अझ त्यो नेवारकालको थियो भनिन्छ। यस्ता तथ्यहीन कुरा आइरहेका छन्। काठमाडौं जे-जति छ, त्यो नेवारको थियो भनिन्छ। तर काठमाडौंमा नेवार मात्रै होइन, तामाङ पनि थिए। तामाङहरु आर्थिक र सामाजिक हैसियतमा कमजोर थिए। 

अहिलेको शिक्षाले यो सबै कुरा उधिनेर बहस गर्न सक्दैन। पुरानोलाई आ-आफ्नो ढंगले व्याख्या गर्दै बंग्याउँदै गइरहेका छन्। इतिहासका पक्षहरुमा बाङ्गोपन हुने देखियो।

संशोधन मण्डलको खोजी अनुसार पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेका हुन्। यति धार्नी भयो भन्ने चाहिं गलत हो। जति धार्नी उल्लेख गरिएको छ, त्यो त सबैको नाक काटे पनि पुग्दैन।

गएको चैतमा राष्ट्रपति विद्यादेवी भण्डारी संशोधन मण्डल आउँदा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटा पनि आउनुभएको थियो। उहाँलाई मैले इतिहास पढाउने हाम्रो शिक्षा पद्धति नै गलत छ, परिर्वतन गर्नूस् भनें। म अहिले ७६ वर्ष पुगेँ। कम्तीमा ४/५ जनालाई पुराना अभिलेख पढ्न सक्ने बनाउँछु पठाउनूस् पनि भनेको थिएँ। उहाँले फोन गर्छु भन्नुभयो तर फोन गर्नु भएन। उहाँले विश्वविद्यालयमार्फत यो कुरा अगाडि बढाउँछु भन्नुभएको थियो। तर अहिलेसम्म कुरा अगाडि बढेको छैन।

पृथ्वीनारायण शाह ससुरालीबाट फर्कदा चन्द्रागिरिको बाटो भएर फर्किए, उपत्यकाको सम्पन्नता देखेर यहाँको राजा हुन पाए भन्दै शाहले जुँगामा ताउ लगाए भन्ने पनि उल्लेख छ। यो भनाइ पढ्दा त उनले राज्य एकीकरण होइन, विस्तार गरेका हुन् भन्ने बुझिन्छ। तपाईंको बुझाइ के हो? 
सुरुमा उनले गोरखा राज्यको विस्तार गर्ने उद्देश्यले नै गरेका हुन्। राज्य जोडिँदै जाँदा उनमा राजनीतिक सुझबुझ र परिपक्वता आएको देखिन्छ। उत्तरमा चीनको प्रभाव र भारतमा अंग्रेजको प्रभाव देखे उनले। यो देखेपछि नेपाल राज्य एकीकरणको भावना आएको देखिन्छ। उनको योजना ठूलो थियो। गोरखा राज्य विस्तार हुँदै गर्दा स्वतन्त्र ठूलै देशको परिकल्पना आएको देखिन्छ।

‘लिम्बुवानको ऐतिहासिक सङ्ग्रह’ पुस्तकका लेखक भागिराज इङ्नामले मसँगको कुराकानीमा ‘परराष्ट्र मन्त्रालयबाट हस्तान्तरण भई राष्ट्रिय अभिलेखालयमा रहेको पत्रमा पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहको स्वभाविक निधन होइन, हत्या भएको हुनसक्ने देखिन्छ। यत्रो सरकारी दस्तावेजलाई इतिहासकारहरूले किन बेवास्ता गरे?’ भन्नुभएको थियो। बेवास्ता भएकै हो?
पृथ्वीनारायण शाहलाई कसले मार्‍यो त उसो भए? उनका छोराले? उनका छोराले मार्नुपर्ने कुनै कारण देखिँदैन। मारेका पनि होइनन्। उनीहरु दुवैलाई मारिएको हो भन्ने कुनै तथ्य आजसम्म फेला परेको छैन। भन्न त महेन्द्रको पनि हत्या भएको हो भन्छन् नि। भन्नेको कुरा पत्याएर भएन। उहाँहरुको हत्याको कुनै प्रमाण फेला परेको छैन। अहिलेसम्मको दस्तावेजले पृथ्वीनारायण शाहको रोगव्याधीले निधन भएको देखाउँछ। 

तपाईं पृथ्वीनारायण शाहलाई कसरी लिनुहुन्छ त? 
उनको गुण-दोष छाड्ने हो भने नेपाल राज्य दक्षिण एसियाको प्राचीन राज्य हो। उनी नभएको भए यो रुपमा रहँदैनथ्यो। उनले राज्यको एकीकरण मात्रै नभएर खेती हुने ठाउँमा घर नबनाउनु, विदेशी व्यापारीलाई पर्साभन्दा यता छिर्न नदिनु, अंग्रेजसँग निहुँ नखोज्नु जस्ता कुराहरु पनि भने।

पृथ्वी जयन्ती विशेष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'राजनीतिक दललाई चन्दा दिएको सूचना चुहियो भने हामीले क्षति व्यहोर्नुपर्छ'

माओवादीबाट अलग भएकाहरुले प्रताडना दिन छाडेका छैनन्। हिजो विप्लवले जे गर्थे, मूलधारमा आए पनि उनले पैसा माग गरिरहेका हुन्छन्। उनीहरुबाट अलग भएकाहरुले पनि आफ्नो उपस्थिति....

काम राम्रो गर्ने हो भने प्रोमोशनका लागि क्यामेराअघि रुन पर्दैन, भाडामा फ्यान किन्नुपर्दैन: पुष्प खड्का

फरक लुक्सको पात्रमा कृष्णलीलामा देखिँदै हुनुहुन्छ, पात्रको बारेमा बताइदिनुस् न। सुरुमा लबरब्वाइ, चकलेटी हिरोको छवि बनाउने सोच थियो। मंगलम फिल्ममा अपाङ्गता भएको पात्रको भूमिका....

माफियाको घेरामा मेयर बालेन

स्थानीयले फोहोरको गाडीले सडकमा गरेको प्रदूषण रोक्न माग गर्दै गाडी रोकेका थिए। काठमाडौँमा मेयर बालेन्द्र शाह ‘बालेन’को मेयरमा उदय र सम्झौतापछिको दोस्रो अवरोध थियो त्यो। ....

'गुथिको जग्गा रैकर बनाउने नियम बसाएर राजा वीरेन्द्रले उपत्यकाको संस्कृतिमा आक्रमण गरे'

‘हिति प्रणाली’ पुस्तक लेखेपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ? यो किताब लेखेपछि साथीहरू नयाँ नयाँ तथ्य भनिरहनु भएको छ। कहाँ हिति पुरियो कसरी पुरियो भनेर....

स्वास्थ्य बीमा सरकारी र सामुदायिक अस्पतालमा मात्र सञ्चालन गर्ने योजना सरकारकै हो वा निजी अस्पतालको ?

यो आलेख तयार हुँदासम्म नेपाल सरकारले औपचारिक निर्णय गरिसकेको भने छैन। तर नेपाल जस्तो देशको लागि सम्पूर्ण स्वास्थ्य सेवा राज्य नियन्त्रित र निःशुल्क हुनुपर्दछ र....