उकेरा कोलम

आयुर्वेदिक चिकित्सक डा. प्रकाशको सुखदुःख

सय रुपैयाँ पाउन कत्रो सकस, नाडी नछामेसम्म नपत्याउने बिरामी


आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवाली बिरामी जाँचेको एक सय रुपैयाँ 'फी' लिन्थे। यो २०६० सालको कुरा हो। यतिबेला प्रकाशले भखर भखर आयुर्वेदिक चिकित्सा पेशा अपनाएका थिए। 

तर, बिरामी भने त्यही एक सय रुपैयाँ पनि दिन नपरे हुन्थ्यो जस्तो गर्थे। यता उनीहरू प्रकाशले जाँचेर लेखिदिएको औषधि जति पैसा परे पनि किन्न हिच्किचाउँदैन थिए। 

सय रुपैयाँको किन यत्रो लोभ? 
बिरामीहरू आयुर्वेदिक चिकित्सकलाई डाक्टर नै मान्दैन थिए। वैद्य भन्थे। प्रकाश भन्छन्, 'वैद्यले जाँचेको पनि पैसा लाग्छ र? भन्दै बिरामीले प्रश्न गर्थे।' 

यहीबेला एलोपेथी चिकित्सकले एक जना बिरामी जाँचेबापत भने चार सय रुपैयाँ हाराहारीमा फी लिन्थे। आयुर्वेदिक चिकित्सकले पनि तीन सय हाराहारी फी तोकेका थिए। तर, एक सय पाउन पनि हम्मेहम्मे हुन्थ्यो।

यो एक पटकको कुरा होइन न त कुनै एक बिरामीको। न यो प्रकाशको मात्र समस्या थियो। आयुर्वेदिक चिकित्सकलाई अधिकांश बिरामीले जाँचेबापत पैसा तिर्न मान्दैनथे। 

२०७० सालतिरबाट भने डा. प्रकाशले यो समस्या अलि कम भोग्न थाले। त्यस यता बिस्तारै आयुर्वेदिक चिकित्सकलाई पनि डाक्टरको नजरले हेर्नेक्रम बढेको उनको अनुभूति छ। 

अहिले त उनी र अरू आयुर्वेदिक चिकित्सकले बिरामी जाँचेबापत पाउने पैसा पनि बढेको छ। यद्यपि, अहिले पनि एलोपेथी चिकित्सकको तुलनामा आयुर्वेदिक चिकित्सकले लिने शुल्क कम नै भएको उनको भनाइ छ। 

एलोपेथीक चिकित्सकले गन्दैनथे, चर्को मिडिया वार 
प्रकाशका अनुसार केही वर्ष पहिलेसम्म कतिपय एलोपेथीक चिकित्सकले समेत आयुर्वेदिक चिकित्सकलाई चिकित्सकै मान्दैन थिए।  

अझै पनि कतिपय एलोपेथीक चिकित्सकले आयुर्वेदिक औषधिका कारण मृगौला फेल हुने, स्वास्थ्य बिग्रने जस्ता अफवाह फैलाउने गरेको उनले सुनाए।

केही वर्ष अघिसम्म वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले त कयौँ बिरामीको पुर्जामा 'आयुर्वेदिक औषधिका कारण भएको जण्डिस' लेखिदिन्थे रे।  

त्यसपछि आयुर्वेदिक चिकित्सक र डा. सुधांशुबीच लामो समय ‘मिडिया वार’ नै चलेछ। पत्रपत्रिका तथा अनलाइन मिडियामा मात्रै होइन। फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा समेत लामो समय भनाभन चलेको डा. प्रकाशले सुनाए।

प्रकाशका अनुसार डा. सुधांशुले आयुर्वेदिक चिकित्सा विधिको आलोचना गर्नुपूर्व जण्डिसको समस्या भएमा धेरै बिरामीहरू आयुर्वेदिक चिकित्सककहाँ पुग्थे रे। जण्डिस लगायत कलेजोको उपचार आयुर्वेदिक पद्धतिमा राम्रो पनि भएको उनले बताए। 

अहिले भने यो विवाद धेरैजसो साम्य भएको प्रकाशले सुनाए। अहिले भने एलोपेथी विधाका चिकित्सकले आयुर्वेदिक चिकित्सकमाथि विभेदको नजरले हेर्ने पनि कम हुँदै गएको उनले महसुस गरेका छन्। 

माया मारेको ज्यान फर्किएपछि...
विभिन्न एलोपेथीक उपचार विधि अपनाएर पनि ठीक नभएका तर, सामान्य आयुर्वेदिक औषधिले नै रोग सञ्चो भएका धेरै बिरामीका साक्षी हुन् डा. प्रकाश। 

चार वर्षअघिको कुरा हो। करिब ४० वर्षका पुरुषलाई युरिक एसिड रहेछ। थुप्रै अस्पताल चहारिसकेका उनको रोग सञ्चो भएन। झन् शरीरका जोर्नी सुन्निदै गए। 

उनको हालत दिनदिनै खराब भइरहेको थियो। पेशाले ट्याक्सी चलाउने भए पनि उनले युरिक एसिड भएकै कारण पेशा नै छोडेर बसेका थिए। आफन्तले बल्लबल्ल तिनलाई डा. प्रकाशकहाँ पुर्‍याएका थिए। थुप्रै एलोपेथीक अस्पताल धाइसकेका उनले प्रकाशलाई सुरुमा त विश्वासै गरेनन्। 

निकै बेरको परामर्शपछि डा. प्रकाशले उनलाई 'रास्ना सप्तक काँढा', 'कैश्वर गुगुल'लगायतका औषधि लेखिदिए। अनि भने,‘विश्वास नलागे पनि नियम पुर्‍याएर एक महिना खानु। त्यसपछि आउनु।’

ती पुरुषले एक महिनासम्म औषधि सेवन गरेछन्। एक महिनापछि त उनी आफैं फलोअपका लागि पुगे। प्रकाशले थप दुई महिनाको औषधि लेखिदिए। 

‘डाक्टर सा'ब, उज्यालो पनि हुँदोरहेछ। दिउँसो पनि हुँदोरहेछ। घाम पनि लाग्दोरहेछ। यो कुरा मैले चार वर्षपछि बल्ल थाहा पाएँ।’ 

जति उनले औषधि सेवन गरे त्यति उनको स्वास्थ्य अवस्था सुधार हुँदै गयो। तीन महिनापछि त उनी पुनः ट्याक्सी चलाउने भए। आफ्नो पेशा नै त्याग्ने अवस्थामा पुगेका उनी निको भएपछि डा. प्रकाशप्रति निकै कृतज्ञ भए। उनले पुनर्जीवन पाएको महसुस गरे। 

अहिले पनि ती पुरुष कतै राम्रो केही पाइयो कि कोशेली बोकेर डा. प्रकाश भएठाउँ आइपुगिहाल्छन् रे। 

चार वर्षपछि युवाले घाम लागेको देखे
डेढ वर्षअघि पिनासको समस्या भएर करिब ३० वर्षका युवा डा. प्रकाशकहाँ उपचारका लागि पुगेका थिए। 

पिनासले गर्दा ती युवाले संसार नै अन्धकार देखेको चार वर्ष भइसकेको थियो। उनलाई बिहानैदेखि टाउको दुख्थ्यो। बिहान उठेदेखि नै गुम्म हुन्थ्यो। आत्तिने समस्या थियो। विभिन्न अस्पतालमा पुगेर उपचार गरे पनि समस्या निको भएको रहेनछ। 

डा. प्रकाशले ती युवाको पिनासको उपचारका लागि ‘षडविन्दु तेल’ दिएछन्। त्यसैगरी ‘कान्चनार गुगुल’, ‘बाताराज’ लगायत औषधि पनि दिएछन्। 

उपचार थालेको करिब डेढ महिनापछि ती युवाको पिनास कम हुँदै गयो। दुई महिनापछि त निकै कम भयो। त्यसपछिको फलोअपमा प्रकाशलाई उनले भनेछन्, ‘डाक्टर सा'ब, उज्यालो पनि हुँदोरहेछ। दिउँसो पनि हुँदोरहेछ। घाम पनि लाग्दोरहेछ। यो कुरा मैले चार वर्षपछि बल्ल थाहा पाएँ।’ 

आफूले सिकेको उपचार विधिबाट कसैको अन्धकार जीवनमा उज्यालो आउनु पक्कै पनि एउटा चिकित्सकको लागि गर्वकै कुरा हो। 

नाडी विद्याको मनोविज्ञान 
प्रकाश कहिलेकाहिँ नाडी छामेर पनि स्वास्थ्य जाँच गर्छन्। यसको पनि एउटा प्रसंग सुनाए उनले।

कुरा चार वर्षअघिको हो। ७० वर्षीया एक वृद्धा उपचारका लागि आइन्। प्रकाशले जाँच्न थाले। खोकी लाग्ने, छाती दुख्ने, घाँटी खसखस गर्ने लक्षण थिए। त्यसपछि प्रकाशले औषधि लेख्न थाले। 

ती वृद्धाले सोधिन्,‘डाक्टर सा'ब जाँच्दै नजाँची किन औषधि लेख्न लाग्नुभएको?’

उनले ती वृद्धालाई जवाफ दिए, ‘जाँचिसकेँ त आमा।’

तर, उनले आफ्नो स्वास्थ्य जाँच भएको विश्वास नै गरिनन्। उनले प्रकाशलाई भनिन्, ‘नाडी नै छाम्नु भएन। नाडी नै नछामी के भएको छ भनेर कसरी थाहा पाउनुहुन्छ?’ 

प्रकाशले उनको मनोविज्ञान बुझिहाले। चित्त बुझाउनकै लागि उनले ती वृद्धाको नाडी छामे। त्यसपछि उनलाई चित्त बुझेछ। बल्ल उनले औषधि लेख्न पाए। 

ती वृद्धा जस्तै धेरै जना पाका उमेरका बिरामीहरू नाडी छामेर स्वास्थ्य जाँच होस् भन्ने चाहना राख्ने गरेको उनको अनुभव छ। त्यसो त आयुर्वेदिक उपचार पद्धतिमा ‘नाडी विद्या’ नभएको होइन। पुराना वैद्यहरूले नाडी छामेर रोगको बारेमा भनिदिने अभ्यास थियो। 

नाडी विज्ञान राम्रो विज्ञान भए पनि आधुनिक युगमा पूर्णरूपमा भर पर्न नसकिने डा. प्रकाशको भनाइ छ।

उपचारको  ग्यारेन्टी, भ्रमको भूमरी
सामान्यतया कुनै रोगको सुरुआती चरणमै आयुर्वेदिक चिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या न्यून हुन्छ। 

आयुर्वेदिक चिकित्सा विधिमा कतिपय रोगको उपचार अरू विधिभन्दा राम्रो हुन्छ। पेट सम्बन्धी रोग, पिनास, घुँडा तथा जोर्नी सम्बन्धी समस्या, बाथ सम्बन्धी समस्याहरूमा आयुर्वेदिक उपचार विधि निकै फाइदाजनक भएको डा. प्रकाशको अनुभव छ।

एलोपेथी उपचार विधिले ठिक नभए मात्रै आयुर्वेदिक उपचार विधिको खोजी हुने गरेको डा. प्रकाशको अनुभव छ। 

उनी भन्छन्, ‘कतिपय स्वास्थ्य समस्या एलोपेथीक उपचार विधिले मात्रै निको हुँदैन। आयुर्वेदिक औषधि उपचारको सहयोग चाहिन्छ।’ तर आयुर्वेदिक उपचार विधिमा पनि केही भ्रमहरू रहेको उनी स्वीकार्छन्।  

‘एकातर्फ आयुर्वेदमा जुनसुकै रोग पनि निको हुन्छ भन्ने भ्रम छ’, डा. प्रकाशले सुनाए, 'अर्कोतर्फ आयुर्वेदिकमा के हुन्छ र? जडीबुटीको धुलो पिठो त हो नि भन्ने भ्रम पनि छ।' 

यस्ता भ्रमले गर्दा नै उनीकहाँ उपचारका लागि पुग्ने कतिपय बिरामी उपचारको ग्यारेन्टी खोज्छन्। बिरामीहरू सोध्छन्, ‘मेरो रोग ग्यारेन्टी निको पार्न सक्नुहुन्छ त?’ 

आयुर्वेदिक चिकित्साको नाममा गैरचिकित्सकहरूले ग्यारेन्टिका साथ उपचार गरिन्छ भनेर प्रचार गर्दा बिरामीले ग्यारेन्टी माग्ने गरेको उनको बुझाइ छ। 

ग्यारेन्टी खोज्ने बिरामीलाई उनी पनि जवाफ दिन्छन्, ‘जसले ग्यारेन्टी भन्छ त्यो फटाहा हो। ग्यारेन्टी हुँदैन। तर, ज्ञानले भ्याएको राम्रो उपचार गर्ने चाहिँ ग्यारेन्टी हुन्छ।’ 

आयुर्वेदिक उपचार पद्धतिमा ठगी मौलाएको भन्दै उनी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सरकारी आयुर्वेदिक अस्पताल वा नेपाल आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता भएका आयुर्वेदिक चिकित्सककहाँ मात्र जान सुझाव दिन्छन्। 

प्रकाशकहाँ उपचारका लागि पुग्ने बिरामी कि अत्यन्तै गरिब कि अत्यन्तै धनीहरू छन्। 

कयौँ रोगको राम्रो उपचार 
आयुर्वेदिक चिकित्सा विधिमा कतिपय रोगको उपचार अरू विधिभन्दा राम्रो हुन्छ। पेट सम्बन्धी रोग, पिनास, घुँडा तथा जोर्नी सम्बन्धी समस्या, बाथ सम्बन्धी समस्याहरूमा आयुर्वेदिक उपचार विधि निकै फाइदाजनक भएको डा. प्रकाशको अनुभव छ।  

पायल्स, फिस्टुला जस्ता समस्यामा क्षार सुत्र आयुर्वेदिक विधि निकै राम्रो हुने उनी दावी गर्छन्। तर, तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्याको लागि भने आयुर्वेदिक विधिको भर परेर नबस्न उनी सुझाव दिन्छन्। 

जटिल रोगको उपचारका लागि एलोपेथीक उपचार विधिमा नै जानुपर्ने र रोग जित्न सहयोगीका रूपमा भने आयुर्वेदिक औषधि लाभदायक हुने उनले बताए। 

उनी आफ्नो ज्ञान तथा सीप र विधाले उपचार नहुने अवस्थामा बिरामीलाई तुरुन्तै एलोपेथीक चिकित्सककहाँ रिफर गर्छन्। डा. प्रकाश भन्छन्, ‘२/४ सयको लोभमा कसैको जीवनमा नै खेडबाड गर्नु पाप हो।’

आयुर्वेदिक औषधिले क्यान्सर निको पार्ने भ्रम
प्रकाश कसैले आयुर्वेदिक उपचार विधिमार्फत क्यान्सर निको पार्छु भनेमा त्यस्तो भ्रममा नपर्न सुझाव दिन्छन्। 

उनका अनुसार क्यान्सर लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। आयुर्वेदिक औषधिको सेवनले रोगविरुद्ध लड्न भने सहयोग मिल्छ। 

क्यान्सर पीडितका लागि खाना रुचाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा जीवनशैली सहज बनाउने सहयोगी आयुर्वेदिक औषधि भने हुन्छन्। 

अध्ययन, जागिर र जिम्मेवारी
प्रकाश सुर्खेतको वीरेन्द्रनगरमा २०३२ सालमा जन्मिए। वीरेन्द्रनगरकै जन उच्च माविबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरे। एसएलसीमा उनी जिल्ला टप भएका थिए।

एसएलसीपछि प्रकाश काठमाडौं हानिए। त्रिचन्द्र कलेजमा आइएस्सी पढ्न थाले। त्रिचन्द्रमै बीएस्सी पनि भर्ना गरे। 

तर, उनको मनभित्र आयुर्वेदको चिकित्सक बन्ने ईच्छा थियो। त्यसैले बीएस्सी अन्तिम वर्ष पढ्दै गर्दा आयुर्वेदिक चिकित्सा विषयको अध्ययनका लागि छनोट परीक्षा दिए। 

दुवै हातमा लड्डु। उनले एकातर्फ बीएस्सी अध्ययन पूरा गरे। अर्कोतर्फ आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी’(बीएएमएस) अध्ययनका लागि पनि छनोट भए।

प्रकाश अब बीएएमएस पढ्न काठमाडौंको नरदेवीमा रहेको ‘आयुर्वेद क्याम्पस’मा भर्ना भए। २०६० मा अध्ययन पूरा भयो। 

त्यसो त आयुर्वेदिक चिकित्सा शास्त्र विषयमा आधुनिक चिकित्सा शास्त्रको समेत अध्ययन गर्नुपर्ने हुन्छ।

बीएएमएसपछि प्रकाशले ‘प्यारासाइटोलोजी’ विषय लिएर एमएस्सी अध्ययन थाले। उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट दुई वर्षे एमएस्सी पनि सके। 

प्रकाश विभागमा बस्दा नै नागरिक आरोग्य सेवा केन्द्र तीन सय ठाउँमा विस्तार भयो। अहिले पाँच सयभन्दा बढी स्थानीय तहमा आरोग्य सेवा केन्द्र पुगिसकेको उनले सुनाए। 

प्रकाशको पढाई यतिमै रोकिएन। त्रिभुव विश्वविद्यालयबाटै उनले 'क्लिनिकल साइकोलोजी' विषयको अध्ययन थाले। स्नातकोत्तर तहको दुई वर्षे अध्ययन सकिनै लाग्दा प्रकाशको जागिरे यात्रा सुरु भयो। 

२०६३ मा उनी लोकसेवामार्फत सरकारी स्थायी आयुर्वेद चिकित्सक भए। सरकारी जागिरे भएपछि प्रकाशको पहिलो पोष्टिङ नेपालगञ्जस्थित ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा भयो। त्यहाँ उनले करिब अढाइ वर्ष काम गरे।

नेपालगञ्जपछि डा. प्रकाश २०६५ मा काठमाडौंको 'नरदेवी आयुर्वेद चिकित्सालय' सरुवा भए। 

प्रकाशलाई जनस्वास्थ्य विषयको पनि अध्ययन गर्ने रहर थियो। त्यसैले उनले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा जनस्वास्थ्य विषयको अध्ययनका लागि छनोट परीक्षा दिए। २०६६ सालमा उनी छनोट परीक्षामा सफल भए। 

त्यसपछि प्रकाश ‘मास्टर्स इन पब्लिक हेल्थ’ (एमपिएच) विषय अध्ययनका लागि भर्ना भए। उनले डेढ वर्षे एमपिएचको पनि अध्ययन पूरा गरे। 

२०६८ मा प्रकाश भक्तपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सरुवा भए। त्यहाँ उनले पाँच वर्ष काम गरे। भक्तपुरपछि डा. प्रकाश औषधि व्यवस्था विभाग सरुवा भए। त्यहाँ २०७२ देखि २०७५ सम्म काम गरे। 

त्यसपछि उनी ललितपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सरुवा भए। त्यहाँ करिब नौ महिना काम गरे। 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा गरे सुधार
२०७५ को अन्त्यतिर प्रकाश टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा सरुवा भए। २०७८ भदौसम्म त्यहीँ काम गरे। 

प्रकाश आफू काम गरेको ठाउँमध्ये टेकुलाई अलि विशेष मान्छन्। किनकी यहीँ रहेर उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी नीति नियम बनाउने काममा सक्रिय हुन पाए। 

उनी विभागमा नीति योजना शाखाको प्रमुखकै भूमिकामा पनि पुगे।

प्रकाश विभागमा बस्दा नै नागरिक आरोग्य सेवा केन्द्र तीन सय ठाउँमा विस्तार भयो। अहिले पाँच सयभन्दा बढी स्थानीय तहमा आरोग्य सेवा केन्द्र पुगिसकेको उनले सुनाए। 

यो केन्द्रमार्फत रोग लग्न नदिन योग गर्ने, स्वेदन (सेक्ने) गर्ने, सिरोधारा गर्ने लगायत काम हुन्छ। भान्सासम्म पुग्ने जडिबुटीको प्रयोग, स्वस्थ रहनका लागि अपनाइने दिनचर्या तथा रात्रिचर्या जस्ता जीवनशैली सम्बन्धी ज्ञान सेवा केन्द्रले दिन्छ।

उनी त्यहाँ रहँदा नै ‘आयुर्वेद सूचना प्रणाली’को पनि सुरुआत भयो। कोरोना महामारीका दौरान आयुर्वेदिक औषधिको प्रयोगबारे जनचेतना जगाउने काममा पनि सक्रिय भूमिका खेले। 

प्राथमिकतामा बिरामीको उपचार 
गत भदौमा उनको सरुवा टेकुबाट औषधि व्यवस्था विभागमा भयो। हाल विभागमा आयुर्वेद चिकित्सकको रूपमा कार्यरत छन् उनी। नीति नियम सम्बन्धी काम पनि गर्छन्।

डा. प्रकाश नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षको जिम्मेवारीमा समेत छन्। उनी जनस्वास्थ्य विज्ञ समेत हुन्। मनोविद्का रूपमा समेत बिरामीको उपचार गर्छन्।

उनी बिहान–बेलुका बिरामीको औषधि उपचारका लागि आयुर्वेद क्लिनिक पुग्छन्। ‘बिरामी जाँच्ने, औषधि–उपचार गर्ने अभ्यास त छोड्न हुँदैन’, उनले भने।  

चिकित्सासँगै बिहान एमएस्सी माइक्रोबायोलोजी स्नातकोत्तर तहमा वातावरण तथा पेशागत स्वास्थ्य विषय पढाउँछन् पनि। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

मलाई बढो खुसी लागेको छ मत परिणामहरू हेर्दा। जसलाई दलीय अन्ध मोह छैन ती मतदाता पनि पक्कै मै जत्तिकै खुसी होलान् यी परिणाम देखेर। यो....

चौथो अंग : नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

२०५९ सालतिर एक म्यागेजिनमा काम गर्थें म। 'आमुने-सामुने' भन्ने कोलम थियो। एमालेको सातौँ महाधिवेशन चलिरहेको थियो त्यो बेला। केपी शर्मा ओली र माधवकुमार नेपालसँग कुरा गरेर....

टेको पाउन नसकेको टेकबहादुरको सपना जसले सडक किनारमा पनि साथ पाएन

यो यत्ति लोकप्रिय भयो कि उनको चुनाव प्रचारकै अफिसियल गीत जस्तै भइदियो। चुनावी प्रचारको मञ्चमा खुबै गाए उनले यही गीत। यसले धेरैलाई छोयो पनि। अहिले....

प्राध्यापक बिन्दुको प्रसव पीडा र खुसी : आमाले तेरो छोरीको खुट्टा बांगो छ भन्दा सात्तो गयो

पाँच पुस्तादेखि हामी काठमाडौंका बासिन्दा हौं। मेरो बुबा देविभक्त प्याकुरेल पहिले कुनै सरकारी कार्यलयमा काम गर्नुहुन्थ्यो रे। तर तराईको जग्गामा खेतिपाती समेत गर्नुपर्ने भएकाले जागिर....

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्। धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा....