'चितवन जानुभएका बुबा राजा महेन्द्रको किरिया बसेर पो फर्किनुभो'

'चितवन जानुभएका बुबा राजा महेन्द्रको किरिया बसेर पो फर्किनुभो'
तस्बिर : कृष्पा श्रेष्ठ

वि.सं. २०२८ सालमा चितवन, सौराहस्थित दियालो दरबारमा राजा महेन्द्रले अन्तिम श्वास लिए। त्यतिबेला १० कक्षामा पढ्थिन्, महेन्द्रका प्रिय अंगरक्षक पटकबहादुर कार्कीकी छोरी नर्मदा। 

महेन्द्रको मृत्युको असर फलामे ढोका तोड्न मिहिनेत गर्दै गरेकी नर्मदासम्म पनि पर्यो। बुबा भाव विह्वल भएको देख्दा उनलाई समेत सम्हालिन गाह्रो भयो। 

बुबाले सधैं राजा महेन्द्रको बखान गर्थे। त्यो बखान नर्मदाको कानमा पनि गुन्जिन थाल्यो।

‘यो देशले महेन्द्र जस्तो ज्ञानी राजा अब पाउँदैन,’ नर्मदा भन्छिन्, ‘बुबाको यो उक्तिले मेरो मनमा गहिरो छाप पारेको थियो।’ 
महेन्द्रको मृत्यु हुँदा पटकबहादुर काठमाडौं नैकापस्थित घरमा परिवारसँगै थिए। उनी हतारमा चितवन हानिए। जब फर्केर आए। घरका मान्छे तीनछक परे।

पटकबहादुरको शीरमा कपाल थिएन। शरीरबाट सेनाको पोशाक हटेको थियो। सेता वस्त्र थिए आङमा। उनी त महेन्द्रको किरिया पो बसेछन्।

‘महेन्द्र सरकार स्वर्गे हुनु भएपछि बुबामा सरकारको मृत्युको प्रभाव पछिसम्म पनि देखियो। उहाँ सक्रिय हुनै सक्नुभएन,’ नर्मदा त्यसबेलाको क्षण सम्झिन्छिन्, ‘काकाहरुसँग उहाँले महेन्द्रका बारेमा निकै राम्रा कुरा भन्नुहुन्थ्यो। हामी त सानै थियौं। बोल्ने कुरा हुँदैनथ्यो। तर उहाँहरुको कुरा सुनिन्थ्यो। उहाँ धेरैजसो महेन्द्र सरकारकै कुरामा समय बिताउनुहुन्थ्यो परिवारसँग।’

नर्मदाका अनुसार पटकबहादुर राजा महेन्द्रलाई बुबासमान मान्थे रे। मेरो बुबाले त जन्मदिनु भो। तर कर्म र ज्ञान महेन्द्र सरकारले दिनुभो भन्थे रे।

तर, पटकबहादुरले भन्नै पाएनन् महेन्द्रलाई, सरकार म तापाईंलाई बुबासमान समान मान्छु।

‘मेरो बुबालाई महेन्द्र सरकारले अह्राइ-सिकाइ गरिबक्सिन्थ्यो रे। सिधै राजाले हुकुम गरेको देख्दा मान्छेहरु जल्थे रे। बुबा भन्नुहुन्थ्यो, महेन्द्र सरकारले राजपरिवारको भोजमा आफ्ना सेनालाई पनि भोजको व्यवस्था गरिबक्सिन्थ्यो। नर्मदा भन्छिन्, ‘बुबामा गहिरो असर थियो, महेन्द्रको व्यक्तित्वको। उहाँ मैले मेरो बुबाको काज-किरिया राम्रोसँग गरें कि गरिनँ। तर मलाई नजान्माएका बुबा (महेन्द्र) को रित पुर्या्एर किरिया गर्छु। यति भएपछि मेरो धर्म पूरा हुन्छ भन्नुहुन्थ्यो। त्यसै गर्नु पनि भयो।’

०००
नर्मदाका बुबा विस्तारै शोकबाट बाहिरिए। उनको मुखबाट राजाको गुणगान विस्तारै कम हुँदै गयो। उनी पनि पुरानै लयमा फर्किइन्।

राजाका अंगरक्षक कार्की अब बन विभागमा खटिन पुगे। नर्मदाको एसएलसी पनि नजिकियो। तयारीमा लाग्नै थियो उनलाई।

‘सबै सामान्य हुँदै गएपछि सकेको मिहिनेत गरेर पढें। एसएलसी सकियो। लगत्तै बाबुले विराटनगरका जमिन्दार खड्का परिवारबाट नाता ल्याउनुभयो,’ नर्मदा सुनाउँछिन्, ‘१७ वर्षको थिएँ। मेरो विहे भइहाल्यो।’

०००
२८ जनाको संयुक्त परिवारको सदस्य बनिन् नर्मदा। खड्का परिवारको बसोबास काडमाडौंको नारायणथानमा थियो। 
विवाहपश्चात् बेलाबखत फुर्सद मिलाएर घर नजिकैको नारायणको मन्दिर धाउन थालिन् नर्मदा।

त्यतिबेला बुहारीहरु मन्दिर जानु भनेको घरको कामबाट राहत पाउनु जस्तै थियो। तर घरबाट सधैं मन्दिर जान दिने अवस्था थिएन। मौका जुराएर भए पनि नर्मदा मन्दिर गइरहिन्।

मन्दिर जानु नर्मदालाई कलेज जानुसरह लाग्थ्यो। सेकेण्ड डिभिजनमा २०२९ असारमा एसएलसी पास भए पनि ठूलो परिवार भएका कारण कलेज जान नपाएकी नर्मदाको दिनमा हाजिरी लगाउने ठाउँ बन्यो बुढानीलकण्ठको नारायण मन्दिर। उनी मन्दिर पुगेर घरायसी कामको थकान मेटाउँथिन्।

उसो त माता-बुबाले नर्मदा नदीमा स्नान गरेपछि जन्मिएकाले उनको नाम नै नर्मदा रहन गयो। धार्मिक परिवारमा हुर्केको प्रभावले पनि उनमा मन्दिरप्रतिको आशक्ति झन्-झन् बढ्दै थियो।

सामान्य भक्तका रुपमा मन्दिर जाने नर्मदालाई मन्दिरको अव्यवस्थित पारा मन परेन। मन्दिरलाई घर जस्तै व्यवस्थित बनाउन मन लाग्यो। र, मन्दिरको भक्तमा मात्र आफूलाई सीमित गरिनन्। मन्दिरमा आउने भेटी संकलन गर्न थालिन्। बुढानीलकण्ठ विकास कोषले १४ वर्षमा २ लाख मात्र जम्मा गर्न सकेको ठाउँमा उनले ७ महिनामा नै ३६ लाख जम्मा गरिदिइन्।

मन्दिर सुधार्न लागेकै कारण अदालतमा पाँच वर्ष मुद्दा समेत खेप्नुपर्यो उनले। आफैंले जन्माएको समितिबाट राजनीतिक शक्तिको अघि निरीह रहिन् र पनि  हरदिन उसैगरी मन्दिरमा पुगिरहिन्। मन्दिरको पक्षमा बोलिरहिन्। भक्तजनलाई सुविधा खोजिरहिन्। अनि राज खादानका अंगरक्षककी छोरी नर्मदा बनिन्, तीन लोक चौध भुवनका राजा विष्णुको सच्चा सेविका। र, भइन् सबैको लागि नारायण आमा।

०००
नेपालमा एक किम्बदन्ती खुबै प्रचलित छ, राज खानदानले विष्णुको मन्दिर दर्शन गर्न हुँदैन।

विष्णु परे तीन लोक चौध भुवनका राजा। राजा परे कुनै एक भूगोलका राजा। राजा-राजा भेट हुँदा आ-आफ्नो दम्भका कारण दुर्घटना होला भन्ने डरले राजाले विष्णुको दर्शन नगर्ने किम्बदन्ती अनुसार नै नेपालको शाह खानदानले बुढानीलकण्ठ मन्दिरमा दर्शन गरेनन्।

नर्मदा खड्का उर्फ नारायण आमा भन्छिन्, ‘चलिआएको चलनलाई लात हान्दा पनि दुर्घटना हुन्छ। दीपेन्द्र सरकारले बुढानीलकण्ठ स्कुलमा पढ्दा जिद्दी गरेर दर्शन गरेकाले राजदरबार हत्याकाण्ड भएको भन्ने पनि छन्। आफ्नो आँखाले त देखिएन। तर मनमा कतै हो कि झैं लाग्छ।’

०००
१४ वर्षअघि मन्दिरमा भ्रष्टाचार थियो। नर्मदा निकै अघिदेखि त्यो घटना नियालिरहेकी थिइन्। उनले पूजा व्यवस्थापन समिति भनेर पूजा-आजा सञ्चालन गर्ने र भेटी-चन्दा संकलन गर्ने समिति बनाइन्। स्थानीयले साथ दिए। 

बुढानीलकण्ठ विकास कोषले राजनीति गर्न थालेपछि गुठी संस्थानले नर्मदालाई पूजा समितिमा औपचारिक रुपमा नै नियुक्ति दियो।

‘दान पेटीका पैसा सबै बाजा बजाउने र कोषका कर्मचारीले भाग लगाएर खान्थे,’ उनी भन्छिन्, ‘मैले ती सबै अनियमितता रोकें। मन्दिर हेरिनसक्नुहुन्थ्यो। सफा गरें। रङ लगाएँ। मन्दिरको पैसा मन्दिरमा नै खर्च भयो। खान नपाउनेले मेरो विरोध गरे।’

गुठी संस्थानबाट नयुक्ति लिएको सात महिनापछि विकास कोषका सहसचिव राजेन्द्र श्रेष्ठले नर्मदामाथि भ्रष्टाचारको आरोप लागाएर मुद्दा हाले। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले नर्मदाकै नेतृत्वमा पूजा समिति चलाउनु भन्ने आदेश दियो। तर फैसला हुन पाँच वर्ष लागेको थियो।  त्यो पाँच वर्षको बीचमा नर्मदाले मन्दिरमा व्यापक सुधार गरिन्। मन्दिरमा आवश्यक पर्ने पानीदेखि झिना-मसिना कामसम्म गरिन्।

‘अदालतले मेरो पक्षमा फैसला सुनाउँदा मेरो पाँच वर्ष सकिनै लागेको थियो,’ नर्मदा भन्छिन्, ‘पैसा कमाउन पाइन्छ भनेर पूर्व जलस्रोत मन्त्री समेत भइसकेका दीपक खड्का गुठी संस्थानबाट नियुक्ति लिएर आए। हामीले मानेनौं। मान्छे लगाएर मन्दिर तोडफोड गर्ने प्रयाससम्म गरे उनले।’

नर्मदाले दीपकलाई ठाउँ खाली त गर्दिइन् तर उनीहरुको कार्यशैली हेरिरहिन्। सचेत गराइरहिन्। नर्मदा हाल सल्लाहाकारको रुपमा छिन् बुढानीलकण्ठ मन्दिरको।

‘मैले खनेको बाटोमा नै लाग्दैछ, पूजा व्यवस्थापन समिति। तर पछिल्लो समय व्यवस्था धेरै कडा नहुँदा गुरुकुलका विद्यार्थीहरु बिग्रने सम्भावना बढिरहेको छ,’ उनी भन्छिन्, ‘बुढानीलकण्ठलाई कुमारहरुले मात्र पुज्न पाउँछन्। पुजारी साना गुरुकुलका बाबुहरु छन्। तिनीहरु पढ्न, बुझ्न, सिक्नभन्दा पनि भेटीमा बढी तानिन्छन्। भेटी बगलीमा हाल्छन्। कता जान्छन्। के खान्छन् पत्तो छैन। यसरी अहिलेदेखि वेदको ज्ञान लिन आएका बटुकहरु पैसामुखी भए भने त बरबाद भइहाल्यो नि।’

०००
कुनै पदमा नरहे पनि नर्मदा पदमा रहेसरह छिन्। उनी मन्दिर परिसर पुगेपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सतर्क हुन्छन्। पूजा व्यवास्थापनका कर्मचारीहरु चुस्त देखिन्छन्। आफ्नो जिम्मेवारीमा भएका सबै काममा तल्लिन बन्न थाल्छन्।

‘मैले मुद्दा जित्दा बुढानीलकण्ठ विकास कोष मन्दिर प्रांगणबाट हट्नु भन्ने आदेश थियो। त्यो कार्यान्वयन भएन,’ नर्मदा भन्छिन्, ‘अरु त भगवानको ठाउँमा नयाँ संरचना थपिँदै छ। विस्तारै राम्रो हुँदैछ। तर विकास कोषलाई अदालतको आदेश मनाउन सकिएन।’

नर्मदाले निकै पटक विकास कोषसँग छलफल पनि गरिसकिन्। विकास कोष मन्दिर परिसरबाट हट्न चाहँदैन। कानुनले नछुनेलाई मान्छेले भनेर के छुन्छ होला र?, नर्मदा सोचमग्न छिन्।

०००
राज खानदानको अंगरक्षकमा नर्मदाको परिवार तीन पुस्ता खटियो। बाबु पटकबहादुर महेन्द्रका अंगरक्षक थिए। भाइ राजेन्द्र कार्की वीरेन्द्र र दीपेन्द्रका अंगरक्षक थिए। नर्मदाका छोरा सुवास खड्का पूर्वयुवराज पासरका अंगरक्षक थिए। 

राजाको रक्षा गरिरहेको खानदान राजसंस्था सकिँदा पनि राजाको सेवामा तल्लीन छ। तर त्यो राजा कुनै देशको होइन। नर्मदाका अनुसार उनी जगतकै राजा नारायणको सेवामा छिन्।

‘बाबु, भाइ र छोराले यो देशका राजा-रजौटाको सेवा गरे। मैले जगतकै राजा नारायणको सेवा गर्दै छु,’ नर्मदाले विदाइको हात जोड्दै भनिन्।

१९ पुस, २०७८, १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।