चलचित्र विकास बोर्डमा अर्जुनकुमारको मनलाग्दी, तीनवटा फिल्मलाई दिन मिल्ने राहत एक्लैले लिए

चलचित्र विकास बोर्डमा अर्जुनकुमारको मनलाग्दी, तीनवटा फिल्मलाई दिन मिल्ने राहत एक्लैले लिए

काठमाडौं : चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका फिल्म निर्माता अर्जुन कुमारले पदीय दुरुपयोग गरेको खुलेको छ।

कोरोना संक्रमणताका हल बन्द हुँदा मारमा परेका चलचित्रलाई दिइएको राहत रकम र ‘चपली हाइट ३’ प्रर्दशनका क्रममा उनले पदीय दुरुपयोग गरेको खुलेको हो।

बन्द भएका हललाई चलायमान बनाउने तथा प्रचारप्रसार र पोष्टर खर्चबापत केहि रकम चलचित्रलाई दिने विकास बोर्डको निर्णयमा सबैभन्दा बढि रकम लिएर उनले पदीय दुरूपयोग गरेका हुन्।

कोरोना राहत प्याकेजमा आठवटा कम्पनीबाट बनेका फिल्मलाई २ देखि ६ लाख रूपैयाँसम्म भुक्तानी गरिएको थियो।

युट्युबमा रिलिज भएका फिल्मलाई राहत
हल चलायमान गराउने उद्देश्यले छुट्याइएको रकम बोर्डले युट्युबमा प्रर्दशन भएका फिल्मलाईसमेत दिएको खुलासा भएको छ।

बि.जी.बर्मा फिल्म प्रोडक्सनको ‘साजन’ र ‘गुड फ्रेन्ड’लाई बोर्डले क्रमशः २ लाख १२ हजार १५० र २ लाख रूपैयाँ दिएको हो। यी दुवै चलचित्र युट्युबमा रिलिज भइसकेका थिए।

त्यस्तै, रिच इन्टरटेटमेन्टको फिल्म ‘ओभर डोज’ले पनि हलमा लागेको थाहै नपाइ २ लाख लिएको छ। यतिमात्र होइन, फिल्म ‘धन्दागिरी’ले पनि दुई लाख १२ हजार १५० रूपैयाँ त्यसैगरी लियो।

यी बाहेक, हलमा लागेका फिल्महरू ‘चुरीफुरी’, ‘गोर्खे’, ‘डाँडाको बरपिपल’ले पनि समान २–२ लाख रूपैयाँ पाए।

‘चपली हाइट ३’लाई नै तीन गुणा बढि राहत किन?
८ चलचित्र निर्माण कम्पनीमध्ये सबैभन्दा धेरै ६ लाख रूपैयाँ भने राजधानी मिडिया प्रालिको ब्यानरमा बनेको फिल्म ‘चपली हाइट ३’ पाएको हो। जसलाई बोर्ड सदस्य अर्जुन कुमारले निर्माण गरेका हुन्।

हरेक फिल्मलाई बढिमा २ लाख १२ हजार १५० रूपैयाँ दिँदा पनि अर्जुनकुमारको फिल्मलाई दिइएको रकमले थप तीनवटा फिल्मलाई राहत दिन पुग्ने देखिन्छ। ‘चपली हाइट ३’लाई नै तीन गुणा बढि राहत किन त?

चलचित्रको बजेटअनुसार प्रचारप्रसार खर्च लिएको निर्माता अर्जुनकुमारको तर्क छ। लागेको खर्चअनुसार रकम लिँदा अन्य फिल्मभन्दा धेरै भएको उनी बताउँछन्।

राहत प्याकेज पाइसकेपछि पनि उनले फिल्म पुनः प्रदर्शन गरे। पटक–पटक मिति सर्दै २०७८ पुस ३० गते प्रदर्शन मिति तोकिएको ‘चपली हाइट ३’ प्रर्दशन भएको केहीदिनमै कोरोनाका कारण हल बन्द भएको थियो।

त्यसपछि जनजीवन सामान्य बनेपछि अर्जुन कुमारले फिल्म २०७९ साउन २० गते पुनः प्रदर्शन गरे। तर, फिल्मले  दर्शकलाई हलसम्म तान्न सकेन।

नियतिले लखेटेका अर्जुनकुमार
‘चपली हाइट ३’को प्रचारप्रसारका क्रममा नायिका स्वस्तिमा खड्कासँग परेको उनको लफडा अझै ताजै छ।

कोभिड–१९ का कारण हार्ड ड्राइभमा थन्किएको फिल्म प्रदर्शन गर्न उनले कम्ता पापड बेल्नुपरेन।

२०७८ पुष २ मा प्रदर्शनको तयारी गरेको फिल्म त्यहि मितिमा ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ फिल्म ‘पुष्पा’ आउने भएपछि उनले पुष १५ गते सारे। तर, त्यतिन्जेलसम्म पनि पुष्पाले हल छाडेन।

त्यसैमाथि चपली हाइट जस्तै हरर विधामा बनेको ‘कठपुतली’ले हल ओगटिसकेको थियो। अर्जुनकुमार फेरि फिल्म पुष ३० गतेलाई सारे। बल्लतल्ल फिल्म हलमा लाग्दै गर्दा ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलियो र रिलिजको पहिलो दिन नै हल खाली भयो।

दर्शक नआएकाले फिल्म उतार्न खोजे तर यसपटक बितरकले दिएनन्। करिब २ करोड लगानी भएको फिल्मले लगानी उठाउन सकेन। न त दोहोर्याएर प्रर्दशन गर्दा नै दर्शक आए। यसरी हेर्दा उनी चुर्लुम्म डुबेका निर्माता हुन्।

राजेश हमालको टाउको पोस्टरमा बिक्री हुने जमानामा अर्जुनकुमारले राजेश हमाललाई लिएर ‘द युगदेखि युगसम्म’ फिल्म बनाए। कोरियन लुक्स दिएर बनाएको फिल्म प्रर्दशनकै दिन देशभर तीन दिने हड्ताल चल्यो।

फिल्म हेरेका दर्शकले राम्रो भनिदिएनन्, त्यसैमाथी हड्तालको चपेटाले फिल्म नराम्रोसँग थिचियो। अर्जुनकुमारको पहिलो गाँसमै ढुंगा लाग्यो।

फिल्म निर्माणबाट निरास बनेपछि उनी गीतसंगीततिर पनि लागे। ‘द युगदेखि युगसम्म’का निर्देशक रहेको दीपेन्द्र के खनालले चार वर्षपछि ‘अनौठो कथा’ बोकेर ल्याए। उनैको चस्काले फेरि फिल्म बन्यो ‘चपली हाइट’।

फिल्मको विषयवस्तु र नायिका बिनिता बरालको पोष्टर फोटोसुटले फिल्म चल्यो। त्यसपछि ‘चपली हाइट २’ र ‘फाटेको जुत्ता’ले लगानी उठाए।

९ पुस, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।